‘मधेसी मोर्चा’ को नामनै नराखी मधेसी दलमा विवाद

काठमाडौं। मुलुकमा राजावादीको आन्दोलन चलिरहँदा मधेसी केन्द्रित दलभित्र विवाद देखिएको छ। मधेसी केन्द्रित दलहरुलाई एउटा मोर्चामा आबद्ध गर्न भन्दै सुरु गरिएको प्रयासले मुर्तरुप लिन नपाउँदै विवादमा परेको हो।
केही दिन अगाडि मधेस केन्द्रित दलहरुको बैठक बसेर मधेसी मोर्चा गठन गर्ने तयारी थियो। त्यसका लागि राजधानीको कुनै एक पार्टी प्यालेसमा बैठक बस्ने तय भएको थियो। तर अन्तिम अवस्थामा जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाए।
यादवले आफ्नो संसदीय दलको कार्यालयमा बैठक बोलाएपछि त्यहाँ लोकतन्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र जसपाका अशोक राईलगायतका नेता सहभागी भएनन्। उनीहरुले आप्नो दलबाट एक जना प्रतिनिधि पठाएका थिए।
पार्टी प्यालेसमा बस्ने तय भएको बैठक उपेन्द्र यादवले आफ्नो संसदीय दलको कार्यालयमा बोलाएपछि उनको नियतमाथि शंका उत्पन्न भएको सो बैठकमा सहभागी एक नेताले जनाए। मधेस केन्द्रित दलको एउटा मोर्चा बनाएर आफूहरुका मुद्दाका विषयमा सरकारलाई दबाव दिने उद्देश्य भएपनि यादवकै कारण मोर्चा गठन हुन नसकेको हो।
मधेसी मोर्चा बनाएर सरकारसँग बार्गेनिङ गर्ने दाउमा उपेन्द्र यादव रहेको भन्दै अन्य दलले उनको नियतमाथि अन्य दलको शंका गरेको ती नेताको भनाइ थियो।
आफ्नो अडानका कारण भूमि अध्यादेश रोकिएको, शक्तिशाली सरकारलाई समेत झुकाएको र आफूसँग मधेसी मोर्चा नै साथमा रहेको भन्दै यादवले सरकारसँग बार्गेनिङ गर्ने डरले तत्काल मधेसी मोर्चा गठन गर्नबाट अन्य दल पछि हटेको एक नेताले जनाए।
सरकारलाई समर्थन गरेपछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारमा भने सहभागी छैन। जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने लोसपा, जसपा, नाउपा भने सरकारमा सहभागी छ।
Facebook Comment