बाबु छोरीको अन्तिम अँगालो

गोधुली साँझ ढल्दै थियो। काठमाडौंका सडक बत्तीहरु बल्न थालेका थिए। धुलोले ढाकिएको आकाश विस्तारै अध्यारोमा हराउन थाल्यो। गाडीको चर्को हर्न सँगै कतै टाढा जिन्दावाद मुर्दावादका अस्पष्ट नाराहरु गुन्जिरहेको जस्तो सुनिन्थ्यो।
बुबा-छोरी एयरपोर्टतर्फ लम्किरहेका थिए। समीक्षाले भारी सुटकेस तान्दै थिई, बुबा छेउमा टाउको झुकाएर हिँडिरहेका थिए। अचानक, एक ठूलो हुलले बाटो छेक्यो। लाल झण्डा हल्लाउँदै युवाहरू चिच्याइरहेका थिए,
“गणतन्त्र जिन्दावाद! लोकतन्त्र जिन्दावाद! भ्रष्टहरू मुर्दावाद!”
समीक्षा र बुबा छेउ लागे। प्रहरीले बाटो छेकेर भन्यो, “यो बाटो जाम छ, अर्को बाटो जानुहोस्!”
बुबाले समीक्षालाई हेरे। समीक्षाले ठूलो सास फेरिन्।
उनीहरू अर्को गल्ली हुँदै अगाडि बढे।
तर केही पर जाँदै गर्दा अर्को हुल आइपुग्यो। “राजतन्त्र जिन्दावाद! राजा आउ देश बचाउ!” भन्दै झण्डा फहराउँदै युवाहरू नारा लगाउँदै थिए। त्यहीँ भिडमा समीक्षाले आफ्नो स्कुले साथी कमललाई देखिन्। कमल बिरामी भएकाले, घरबाट पठाएको पैसामा अस्ति भर्खर साउदीबाट फर्किएको थियो।
“के राजतन्त्र? के गणतन्त्र?” समीक्षाले मनमनै सोची।
कतै गणतन्त्र र राजतन्त्रको भिडका कारण, जहाज त छुट्ने हैन! छुट्यो भने बुबालाई फेरि ऋण कसले पत्याउला र जानु।
बुबाले उनलाई सम्हाल्दै भिडबाट पार गराए । जेनतेन बाटो काटेर अगाडि बढेपछि समीक्षाले बुबालाई सोधिन्,
“बुबा, हाम्रो देश कहिलेसम्म यस्तै रहन्छ?” बुबा टोलाए मात्र।
केही पर प्रहरीहरू रबरको गोली बोकेर उभिएका थिए, अर्को कुनामा पानीको फोहरा चलाउने तयारी थियो।
“हिजो राजतन्त्रमा सुख थिएन, आज गणतन्त्रमा पनि छैन। फेरि यिनीहरू एकले अर्कालाई दोष दिइरहेका छन्। कोही गणतन्त्र खोज्दैछ, कोही राजतन्त्र।”
समीक्षाको स्वर हतास थियो।
“तर हाम्रो तन्त्र चाहिँ कहिले आउँछ बुबा?”
बुबाले लामो सास फेरे।
“छोरी, हाम्रो पुस्ता राजतन्त्र हटाउने लडाइँमा थियो, तिमीहरूको पुस्ता गणतन्त्रमा बाँच्ने संघर्षमा छ। तर यहाँ के राजतन्त्र हो, के गणतन्त्र माथि पुगेपछि सबै एउटै बन्छन्।” फरक केवल नामको हुन्छ। देशले असल नेता पाएन छोरी। जनता सधैं टुहुरो भइरहे। उनको स्वरमा गहिरो पीडा थियो “मैले दुवै तन्त्रमा देश देखिन जनता भेटिन छोरी। जसको शक्ति उसको भक्ति छ यहाँ।
बुबा नचाहँदा नचाहँदै एयरपोर्टसम्म आएका थिए। अघि दुई तन्त्रको आन्दोलनले उडाएको धुलोले उनको अनुहार ढाकेर फुस्रो थियो। आकाशको रातोपन विस्तारै कालोमा परिणत भइरहेको थियो। यएरपोर्टका सबै बत्तीहरु बलिरहेका थिए, तर समीक्षाको मनमा कुनै उज्यालो थिएन।
आज बाबुछोरी स्तब्ध छन्। हुनत विगतका वर्षहरुमा बोलेर सकेका थिए होलान्-देशको बेरोजगारी, गरिबी, नेताहरूका खोक्रा सपना र गाउँलाई स्विजरल्याण्ड जस्तो बनाउनेदेखि गाउँको झन् अँध्यारो हुँदै गएको भविष्य सम्म।
पहिलो पटक शहर देखिकी समीक्षा आज जहाजमा उड्दै थिइन् त्यो पनि एक्लै, अज्ञात भविष्यतर्फ। न कोही दिदिबहिनी थिए न त कोही साथी। आमा तीन वर्ष अगाडि तुइनबाट खसेर बितिसकेकि थिइन्। भाइबहिनी गाउँकै स्कुलमा पढ्दै छन्।
छोरी, हाम्रो पुस्ता राजतन्त्र हटाउने लडाइँमा थियो, तिमीहरूको पुस्ता गणतन्त्रमा बाँच्ने संघर्षमा छ। तर यहाँ के राजतन्त्र हो, के गणतन्त्र माथि पुगेपछि सबै एउटै बन्छन्।” फरक केवल नामको हुन्छ। देशले असल नेता पाएन छोरी। जनता सधैं टुहुरो भइरहे। उनको स्वरमा गहिरो पीडा थियो “मैले दुवै तन्त्रमा देश देखिन जनता भेटिन छोरी। जसको शक्ति उसको भक्ति छ यहाँ।
बुबाले उनलाई स्कुल भर्ना गर्दा सोचेका थिए “समीक्षा पढेर डाक्टर बन्छे र हामीलाई सुख दिन्छे।” तर, समयले योजना बदलेछ।
उनको छोरी डाक्टर बनिनन् , अब छोरीले त हजारौं माइल टाढा, विदेशीको घर सफा गर्नेछे, भाँडा माझ्नेछे, र पैसासँगै आफ्ना अधुरा सपना पठाउनेछ बाबालाई।
बुबा एयपाेर्ट बाहिर चुपचाप रोकिए। समीक्षाले बुबाको काँध समातिन तेही काँध जसले उनलाई सानैमा थामेर हिँड्न सिकाएका थिए। बुबाले उनको निधारमा आफ्नो हात राखे हात कामिरहेको थियो। उनले छोरीको आँखामा हेरे। ती आँखामा उनलाई उनकी स्वर्गीय श्रीमतीको झलक्क याद आयो।
समीक्षाले आत्तिएर भनिन्, “बुबा, हाम्रो देश किन सधैं यस्तो हुन्छ?” उनको आवाज काँपियो।
बुबाले छोरीतिर हेरे। ती आँखामा धेरै प्रश्नहरू थिए, केही उकुसमुकुस थियो सायद केही आक्रोशहरु पनि थिए।
बुबाले आँखा चिम्लिए। समीक्षा सानो छदा अँध्यारोमा डराउँथी उनी भन्ने गर्थे, “छोरी, म छेउमै छु, केही हुँदैन।” नडराउ!
तर आज? आज समीक्षाको अगाडि केवल अनिश्चित भविष्य छ, अँध्यारो यात्रा छ। अगाडि उभिएको बुबा निरीह छन्। भन्न सक्दैनन् कि “छोरी म छु नडराउ केही हुँदैन।”
निशब्दतालाइ तोड्दै समीक्षाले भनिन बुबा तपाईंलाई के लाग्छ, म कहिले फर्किन्छु?”
बुबाले गह्रुँगो स्वरमा भने “जब यो देश तिमीलाई फर्किन योग्य हुन्छ, छोरी।”
आज छोरी समीक्षा आफ्नै खुट्टामा उभिएकी थिई, तर आफ्नो माटोमा होइन-परदेशको बाटोमा।
समीक्षाको आँखाबाट आँसु तप्कियो। उनी बोर्डिङ गेटतिर अघि बढिन्।
केही पर पुगेर फर्केर हेर्दा बुबा उस्तै उभिएका थिए। टोलाएका, झुकेका, निःशब्द।
उनको मनमा एउटै प्रश्न घुमिरह्यो-“के कहिल्यै यस्तो दिन आउला, जहाँ हाम्रा छोराछोरी आफ्नो माटोमै सपना देख्न सकून्?” देशको माटोले हातहरु रंगाउन सकून्।
के कहिल्यै एस्तो तन्त्र आउला जहाँ जनता हाँस्न सकून्।
सोझा सिधापनि सहजै बाँच्न सकून्।
बुबाले लामो सास फेरे। अन्योलताको रातमा हराउँदै गएको छोरीलाई सिसाभित्र नदेखुन्जेल सम्म हेरिरहे। एकैछिनमा निस्पट अँध्यारो सँगै छोरी पनि हराइन्।
उनले टोपी झिकेर आँखाको आँसु पुछे तर फाटेको ज्वारिकोट निथ्रुक भिजेको थियो।
Facebook Comment