राजाबादी आन्दोलनको नेकपा एसले देशभर भण्डाफोर गर्ने

डिसी नेपाल
१७ चैत २०८१ १७:१०

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजाबादीको हिंसात्मक क्रियाकलापको भत्र्सना गर्दै देशव्यापी रुपमा भण्डाफोर गर्ने निर्णय गरेको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा समाजवादीले शुक्रबार राजावादीले हत्या, हिंसा, नीजि तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफेड र लुटपाटका उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकपाल गरेको भन्दै उक्त क्रियाकपालको घोर निन्दा र भत्र्सना गर्दै देशव्यापी भण्डाफोर गर्ने जनाएको हो।

पार्टी कार्यालय तथा अन्य स्थानमा भएको हिंसात्मक क्रियाकलापबिरुद्ध चैत्र २५ गतेभित्र सवै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनले सम्बन्धीत तहमा विरोध प्रदर्शन गर्ने समाजवादीका केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

उनले तथाकथित राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरिएको बताए।

त्यस्तै उचित समयमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएकाले सरकारको कमजोरी र गैरजिम्मेवार व्यवहारको विरोध गर्ने निर्णय भएको ज्वालाले उल्लेख गरे।

ज्वालाले आफ्ना पार्टी प्रतिगामी षडयन्त्र, दरवारिया अराजकता र पश्चगमनका बिरुद्ध आन्दोलनमा होमिएकै कारण प्रतिक्रियावादीहरुले निशाना बनाएको धारणा राखे।

नेकपा समाजवादीले राजावादी प्रदर्शनमा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलव्ध गराउन समेत सरकारसंग माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *