अनुराग साहित्य समाज नेपालको अध्यक्षमा सरस्वती बस्याल

रूपन्देही। रुपन्देहीको देवदहमा शुक्रबार सम्पन्न कवि नवराज पराजुली कविता कन्सर्ट, स्रष्टा सम्मान तथा अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अनुराग साहित्य समाज नेपालका अध्यक्ष यमलाल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि नवराज पराजुलीले आफ्ना चर्चित कविताहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।
पराजुलीले करिब डेढ घण्टासम्म ‘रुख’, ‘हेप्पी बर्थडे’, ‘कथामा भेटौंला’ र ‘तिमी उसको हुनु’ जस्ता चर्चित कविता प्रस्तुत गरेका थिए। भावुक शैलीमा प्रस्तुत कविताले सहभागीहरूका आँखा रसाएका थिए।
कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख गुरुङले भौतिक विकासलाई मात्र नभई कला र साहित्यलाई पनि विकासको पाटोका रूपमा हेर्नुपर्ने बताइन्। उनले देवदह नगरले प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय भए पनि हालसम्म कार्यान्वयन नभएको र अब छिट्टै प्रतिष्ठान गठनका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरिन्।
सोही अवसरमा संस्थाले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ। नरेन्द्र अनुराग साहित्य पुरस्कार २०७९ बाट साहित्यकार सरस्वती तिमिल्सिना र २०८० बाट साहित्यकार वनमाली निराकारलाई नगदसहित सम्मान गरिएको छ। यस्तै, कविता रत्न सम्मान २०८१ बाट यज्ञप्रसाद न्यौपाने र अनुराग गौरव सम्मान २०८१ बाट मुकेश ज्ञवाली सम्मानित भएका छन्।
सञ्चार क्षेत्रमा संस्थाको प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै रेडियो देवदहका निमित्त स्टेशन म्यानेजर गोविन्द घर्ती र पत्रकार कमला अर्याललाई सम्मान गरिएको छ। संरक्षण श्री सम्मान २०८१ बाट देवदह नगरपालिका र श्रेष्ठ योगदान सम्मान २०८१ बाट शिवप्रसाद काफ्ले र रीता पराजुलीलाई सम्मान गरिएको छ।
समर्पण रत्न सम्मान २०८१ बाट राजकिरण अर्याल र गोमा बस्याललाई सम्मान गरिएको छ। संस्थामा एक लाख ११ हजार १११ रुपैयाँ बराबरको लक्ष्मीदेवी अनुराग स्मृति अक्षयकोष स्थापनाका लागि सहयोग गरेको भन्दै नवनिर्वाचित अध्यक्ष सरस्वती वस्याललाई अक्षयकोष सम्मान २०८१ प्रदान गरिएको छ।
कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, जनप्रतिनिधि, शिक्षक, समाजसेवी र साहित्यकारहरूको उपस्थिति रहेको थियो।
समाजको बरिष्ठ उपाध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा शिवप्रसाद काफ्ले, सचिवमा अनन्तराम भण्डारी, सहसचिवमा दलबहादुर विक र कोषाध्यक्षमा रीता पराजुली चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा जानुका लम्साल, भगवती शर्मा तिवारी, मधु भण्डारी, पूजा ढुंगाना र मिनप्रसाद भट्टराई चयन भएका छन्।
Facebook Comment