कुलमान हटाएको विषयमा प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

डिसी नेपाल
१८ चैत २०८१ ७:३०

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको कारणबारे आज संसद्‌मा जवाफ दिँदै छन्।

एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले आइतबार सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा कुलमानबारे प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभा बैठकमा जवाफ दिने जानकारी गराएका हुन्।

त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बस्दै छ। गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि आइतबारको दोस्रो बैठक बस्दै नबसी स्थगित भएको हो।

सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि विपक्षी रुष्ट छ। राम्रो काम गरिरहेका उनलाई पूरा कार्यकाल रहन दिनुपर्ने माग विपक्षीको छ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले विपक्षीहरुले कुलमानलाई हटाएको विषयमा उठाएको प्रश्नको जवाफ दिन लागेका हुन्।  यस्तै राष्ट्रियसभाको बैठक पनि आजका लागि बोलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *