यी हुन् अप्रिल २ मा अमेरिकी आयात शुल्कबाट प्रभावित हुने देश र सामानहरू

डिसी नेपाल
१८ चैत २०८१ ९:५२

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एप्रिल २ तारिखदेखि कार र कारका पार्टपुर्जाहरूमा लागू गर्न लागेको नयाँ आयात शुल्क नयाँ करशृङ्खलाको हिस्सा हुने छ।

ट्रम्पले उक्त मितिलाई “लिबरेशन डे” अर्थात्‌ स्वतन्त्रता दिवस भनिरहेका छन्। त्यस दिन उनले विभिन्न व्यापार साझेदारहरूले हुँदै आएका “असङ्गत” अभ्यासहरूविरुद्ध जबाफी शुल्क घोषणा गर्ने छन्।

संयुक्त राज्य अमेरिकाले यसअघि स्टील, आलुमिनिअममा तथा क्यानडा, चीन र मेक्सिकोबाट आयात गरिने वस्तुहरूमा कडा शुल्क लगाइसकेको छ।

अब उसले एशिया, युरोप र दक्षिण अमेरिकी देशका सामानमा नयाँ शुल्कहरू घोषणा गर्ने देखिएको छ।

जुन देशबाट अमेरिकाले आफ्नो निर्यातभन्दा बढी आयात गरिरहेको छ ती देशहरूका लागि त्यस्तो शुल्क घोषणा गरिनेछ।

राष्ट्रपति डोनल्ड ट्रम्पले हालै मोटरहरूमाथि २५ प्रतिशत शुल्क घोषणा गरेका छन् जुन एप्रिल २ तारिखबाट कार्यान्वयनमा आउने छ।

कारका पार्टपुर्जामा लगाइएका शुल्कहरू मे अथवा त्यसपछि कार्यान्वयनमा आउने उनले बताएका छन्।

अमेरिकाले २४० अर्ब डलर बराबरका करिब ८० लाख कार बर्सेनि आयात गर्ने गरेको छ।

ट्रम्पले संयुक्त राज्य अमेरिकामा क्यानडा र मेक्सिकोका सामानमा २५ प्रतिशत शुल्क लाग्ने घोषणा गरेका छन्।

उनले क्यानडाको ऊर्जा आयातमा १० प्रतिशत शुल्क लगाएका छन्।

यद्यपि अमेरिका-मेक्सिको-क्यानडा (यूएसएमसीए) स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत उत्पादन गरिने मोटर र त्यसका पार्टपुर्जाको हकमा भने अमेरिकी भन्सार अधिकारीहरूले मूल्याङ्कन नगरुन्जेल त्यो शुल्क लागु हुने छैन।

त्यहाँका सरकारहरूले अमेरिकामा हुने गरेको गैरकानुनी आप्रवासीहरूको प्रवेश रोक्न सहयोग नगरेको र अवैध फेन्टानिलको निर्यात रोक्नका लागि कदम नचालेकाका कारण क्यानडा र मेक्सिकोमाथि थप शुल्क लगाइएको ह्वाइट हाउसले जनाएको छ।

यसअघि फेब्रुअरी ४ मा अमेरिकाले चीनबाट आयात गरिने सामानमा १० प्रतिशत शुल्क लगायो र त्यसलाई बढाएर मार्च ४ मा २० प्रतिशत पुर्‍याएको छ।

त्यसको जबाफी कदमस्वरूप चीनले कृषिजन्य अमेरिकी वस्तुमा १० देखि १५ प्रतिशत कर लगाएको छ।

क्यानडाले ४० अर्ब डलरभन्दा बढीको अमेरिकी आयातमा शुल्क लगाएको छ। मेक्सिकोले जबाफी शुल्कहरू लगाइसकेको छैन।

मार्च १२ मा अमेरिकाले संसारका जुनसुकै देशबाट गरिने स्टील र आलुमिनियम आयातमा २५ प्रतिशत शुल्क घोषणा गर्‍यो।

त्यसले विशेष गरी क्यानडा, ब्राजिल, मेक्सिको, दक्षिण कोरिया, भियतनम र जापानलाई प्रभावित पार्छ जो अमेरिकाका लागि ती सामानको ठूला निर्यातकर्ता हुन्।

युरोपेली संघ ईयूले २८ अर्ब डलर बराबरका अमेरिकी सामानमा एप्रिल १ तारिखबाट शुल्क लगाउँदै छ। ती सामानमा डुङ्गा, ह्विस्की र मोटरबाइक रहेका छन्।

मार्च २५ तारखिमा अमेरिकाले भेनेजुएलाबाट तेल खरिद गर्ने देशहरूका सबै सामानमाथि २५ प्रतिशत शुल्क घोषणा गर्‍यो।

मूडीज एनालिटिक्स नामक अनुसन्धान संस्थाका अनुसार अहिलेको शुल्कले १.४ ट्रिलिअन डलर बराबरका सामानलाई समेटेको छ।

त्यसले आयातित सामानमा औसतमा तीनदेखि १० प्रतिशत शुल्क बढेको छ जुन द्वितीय विश्वयुद्धयताकै उच्च हो।

डोनल्ड ट्रम्पले अप्रिल २ तारिखलाई निरन्तर “लिबरेशन डे” अर्थात्‌ स्वतन्त्रता दिवस भन्दै आएका छन्।

“अप्रिल २ अमेरिकाका लागि स्वतन्त्रता दिवस हो!!!,” ट्रूथ सोसलमा हालै उनले लेखेका थिए।

“दशकौँदेखि हामीलाई विश्वमा रहेका हाम्रा मित्र र शत्रु सबै राष्ट्रले धुजाधुजा पारेका छन् र गलत व्यवहार गरेका छन्। अहिले हामीले त्यसबाट केही रकम र सम्मान फिर्ता लिने बेला भएको छ। ईश्वरले अमेरिकाको रक्षा गरून्!!!”

सन् २०२४ मा चुनावी अभियानका क्रममा ट्रम्पले जुनसुकै देशबाट अमेरिका आयात हुने सामानमा १० देखि २० प्रतिशत शुल्क लगाउने कुरा गरेका थिए।

पछिल्लो समय उनले अरू देशहरूले अमेरिकी निर्यातमा लगाउने करका आधारमा तिनीहरूका सामानमा जबाफी कर लगाउने बताउने गरेका छन्। “उनीहरूले हामीलाई तिराउँछन्, हामी उनीहरूलाई तिराउँछौँ।”

यद्यपि मार्च २४ मा ट्रम्पले टेलिभिजन च्यानल न्यूजम्याक्सलाई लिएको एउटा अन्तर्वार्ताका क्रममा आफ्ना कदमलाई नरम पार्न सक्ने भन्दै “थुप्रै देशहरूलाई विश्राम दिन सक्ने” बताए।

“हामीले उनीहरूको भन्दा कम शुल्क लगाउन सक्छौँ उनीहरूले धेरै शुल्क लगाएका छन्। मलाई लाग्दैन कि उनीहरूले त्यो लिन सक्छन्,” उनले भने।

अमेरिकाबाट आयात गर्ने वस्तुभन्दा धेरै निर्यात गर्ने देशहरूमाथि नयाँ कर केन्द्रित हुने स्रोतहरूलाई उद्धृत गर्दै एबीसी न्यूजले जनाएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले हालै भनेका छन्, “त्यस्ता १५ प्रतिशत मुलुक छन्, तर हाम्रो व्यापारका लागि त्यो ठूलो हिस्सा हो।”

अमेरिकासँग व्यापार नाफामा चीन, विभिन्न युरोपेली देश, मेक्सिको, भियतनाम, ताइवान, जापान, दक्षिण कोरिया, क्यानडा, भारत, थाईल्यान्ड, मलेशिया र इन्डोनेशिया रहेका छन्।

सञ्चारमाध्यममा आएका रिपोर्टहरूका अनुसार आयातित कारहरूमा शुल्क लगाउने कुराका साथै ट्रम्पले हालै विदेशी औषधिजन्य उत्पादन र कम्प्युटर चिप्समा समेत कर लगाउने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो आर्थिक रणनीतिको केन्द्रमा शुल्कलाई राखेका छन्।

उनी अमेरिकी व्यापार सन्तुनलाई पुनः स्थापित गर्न चाहन्छन्। अरू देशबाट अमेरिकाले गर्ने खरिद र विक्रीबीच रहेको खाडललाई घटाउन चाहन्छन्।

सन् २०२४ मा अमेरिकालाई ९०० अर्ब डलरभन्दा बढीको व्यापार घाटा भएको विवरण छ।

मार्च ४ मा ट्रम्पले अमेरिकी कङ्ग्रेसलाई भने, “हामी पृथ्वीमा रहेका लगभग सबै देशबाट धुजाधुजा पारिएका छौँ, अब हामीले त्यो हुन दिने छैनौँ।”

दीर्घकालमा शुल्कहरूले अमेरिकी उत्पादनलाई टेवा पुर्‍याउने, जागिर जोगाउने, करबापत हुने आम्दानी बढाउने र आर्थिक वृद्धिलाई उक्साने ट्रम्पले बताउने गरेका छन्।

करहरूले सरकारलाई कर बापत हुने आम्दानीमा “व्यापक वृद्धि” गर्ने उनले बताएका छन्।

त्यसले विदेशी कलकरखानाहरूलाई अमेरिकाभित्र उत्पादनका लागि प्रोत्साहित गर्ने पनि ट्रम्पको तर्क रहिआएको छ।

दक्षिण कोरियाली कार उत्पादक ह्यून्डाईले अमेरिकामा २१ अर्ब डलर बराबरको लगानी गर्न लागेको ट्रम्पले मार्च २४ मा घोषणा गरे। शुल्ककै कारण त्यो हुन लागेको उनले दाबी पनि गरे।

शुल्कहरूले अमेरिकी उपभोक्ताका लागि मूल्य बढाउने र लागत बढ्न गई अमेरिकी उत्पादनहरू महँगिने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन्।

अरू देशहरूले लगाउने जबाफी शुल्कका कारण अमेरिकी निर्यातकर्ताहरूलाई पनि असर पार्ने अर्थशास्त्रीहरू बताउँछन्।

मूडीज एनालिटिक्सका अनुसार शुल्कहरूका कारण आउने वर्षमा अमेरिकी आर्थिक वृद्धिमा ०.६ प्रतिशत कमी आउन सक्छ र त्यसबाट साढे दुई लाख जागिर गुम्न सक्छ।

निर्यातका लागि व्यापक रूपमा अमेरिकामा निर्भर क्यानडा र मेक्सिको “उल्लेख्य रूपमा प्रभावित हुन सक्ने र आर्थिक मन्दीलाई पन्छाउन मुस्किल हुने” उक्त अनुसन्धान संस्थाको निष्कर्ष छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *