तीनकुने घटनामा सरकारको कमजोरी रहेको समाजवादी मोर्चाको निष्कर्ष

काठमाडाैं। समाजवादी मोर्चाले शुक्रबार भएको तीनकुने घटनामा सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको छ।
सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा बसेको मोर्चाको बैठकले तीनकुने घटनामा सरकारको कमजोरीका कारण ठूलो जनधनको क्षति भएको भन्दै आगामी निदमा यस्ता घटना दोहरिन नदिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए।
बैठकले हिंसात्मक आन्दोलनले पुर्याएको क्षतिको पूर्तिका लागि सरकारसँग आग्रह गरिएको र राजावादीहरुबाटै क्षतिपूर्ति भराउनुपर्ने गरी माग गर्ने उनले बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र विदेशी प्रतिक्रियावादी र देशका प्रतिगामी तत्वहरुलाई मन नपरेको भन्दै उनले सशक्त प्रतिवाद गर्ने निर्णय भएको उल्लेख गरे। त्यस्तै मोर्चाले गणतन्त्र पक्षधर राजनीतिक पार्टीबीच छिटै अन्तक्र्रिया गरिने प्रकाण्डले बताए।
बैठकमा १५ चैतको घटनाको समीक्षा गरेको विश्वकर्माले जानकारी दिए। ‘१५ चैतको घटना राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै ठूलो घटनाको रूपमा आइरहेको छ। दरबारिया र प्रतिगामी तत्वहरूले कोटेश्वरमा असाध्यै गैरजिम्मेवार, हिंसक, देशमा अशान्ति र आतंक मच्चाउने गतिविधि गरे भनेर समीक्षा गरियो,’ उनले भने।
गणतन्त्रवादीहरूको सभामा रहेको जनउपस्थिति र व्यवस्थापनका हिसाबले सानदार र भव्य रहेको र यसले गणतन्त्रवादीहरूलाई उत्साह र प्रेरणा भरेको निष्कर्ष बैठकले निकालेको नेता विश्वकर्माले जानकारी दिए।
Facebook Comment