तीनकुने घटना : राजावादी आन्दोलन त बदनाम भयो, सरकारमाथि छ्यापिएको हिलो कसले पुछ्ने ?

काठमाडौं। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र समर्थकहरुले आयोजना गरेको कार्यक्रम दुखद तरिकाले अन्त्य भयो। आफ्नो कर्ममा खटिएका एक पत्रकारसहित २ जनाको ज्यान गयो, दर्जनौं अन्य घाइते भए। धेरै भौतिक सम्पत्तिको क्षति भयो।
लुटपाट, आगजनीजस्ता आपराधिक घटना भए। र, अहिले यो घटनाको समीक्षा गर्ने र भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने पूर्वतयारीको बारे छलफल हुनुपर्ने हो। यद्यपि घटनाको समीक्षा र पूर्वतयारीमा केन्द्रित हुनुपर्ने समयमा आरोप प्रत्यारोपका सिलसिला बढेका छन्।
तीनकुनेमा राजावादीको प्रदर्शन भइरहेका बेला त्यहाँ भएका गतिविधिहरुका केही भिडियो फुटेजहरु सार्वजनिक भएका छन्, प्रत्यक्षदर्शीहरुमा बयान पनि सार्वजनिक भइरहेका छन्। सार्वजनिक भएका सामग्रीहरुबाट आन्दोलनकारीलाई भड्काउने काममा यो कार्यक्रमका नेतृत्वकर्ता दुर्गा प्रसाई पनि सक्रिय भएको देखिएको छ।
सारमा भन्दा प्रसाईको अराजक शैलीले राजावादी आन्दोलनलाई नै बदनाम बनाएको छ। प्रदर्शनकारीहरुका कैयौं गतिविधिहरु पनि आपराधिक देखिएका छन्। तर, सबै दोष प्रदर्शनकारीहरुमाथि मात्रै थोपर्न मिल्ने अवस्था भने देखिँदैन।
सरकार र राजनैतिक दल भने सबै दोष प्रदर्शनकारी, प्रदर्शनका नेतृत्वकर्ताहरु र अन्तिम जिम्मेवारी तथा दोष पूर्वराजा ज्ञानेन्द्रमाथि थोपर्न उद्यत देखिन्छन्। तर, यो घटनामा राज्य र राजनैतिक दलको भूमिका नै शंकास्पद देखिएको छ।
आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले गणतन्त्र पक्षधर दलहरुको बैठक बोलाए। बैठकमा सहभागी नेताहरुले तीनकुने घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र नै भएको निष्कर्ष निकाले। तर, यो निष्कर्ष नै शंकास्पद छ किनभने यो निष्कर्ष निकाल्ने नेताहरुले कुनै अनुसन्धान गरेका छैनन्, प्रमाण जुटाएका छैनन्।
सतही रुपमा उनीहरुलाई पूर्वराजाले नै यो सबै गराएको भन्ने लाग्यो त्यही सोचअनुसार उनीहरुले दोषजति पूर्वराजाको टाउकोमा थोपरिदिए। यतिमात्र होइन बैठकले पूर्वराजामाथि फौजदारी अनुसन्धान र कारवाही गर्नुपर्ने समेत भनेको छ।
के तीनकुनेका प्रदर्शनकारीलाई हिंसा गर्ने निर्देशन पूर्वराजाले नै दिएका थिए? वा हिंसाका लागि उक्साएका थिए? वा दुर्गा प्रसाईलाई भीडलाई उक्साउन निर्देशन पूर्वराजाले नै दिएका थिए? यसको कुनै प्रमाण अहिलेसम्म भेटिएको छैन। शंका लागेको तर प्रमाण नभेटिएको अवस्थामा तथ्य र प्रमाणको खोजी गर्ने हो।
यो अनुसन्धानको आधारभूत नियम हो। तर, गणतन्त्र पक्षधर नेताहरुसँग घटनाको अघिल्लो दिन दुर्गा प्रसाई पूर्वराजालाई भेट्न निर्मल निवास गएको भन्ने बाहेक अन्य प्रमाण छैन। उनीहरुले प्रमाण नखोजी निष्कर्ष निकालेका छन् जसलाई विश्वासिलो मान्न सकिँदैन।
अर्कोतर्फ तीनकुनेको प्रदर्शन हिंसात्मक हुनुमा दुर्गा प्रसाईले प्रदर्शनकारीलाई उक्साउँदै प्रहरीको सुरक्षा घेरा तोडेको घटना मात्रै कारक देखिँदैन। प्रदर्शनकारीलाई भड्काउने अन्य कारकहरु पनि देखिएका छन् जसले राज्यमाथि नै हिलो छ्याप्छन्।
प्रदर्शनकारीलाई उक्साउने गतिविधि सरकार पक्षबाटै वा सुरक्षाकर्मीबाटै भएको हुनसक्ने प्रशस्तै आधारहरु छन् तर यसलाई गणतन्त्रवादी नेताहरुले ढाकछोप गर्न खोजिरहेका छन्। यति यस्तो हुँदैनथ्यो भने घटनाको अनुसन्धान गर्न आयोग वा समिति गठन हुन्थ्यो होला तर त्यसो भएको छैन। अनुसन्धान गरेर आउनुपर्ने निष्कर्ष सीमित नेताहरुको बैठकबाट निकालिएको छ।
अनुसन्धान नै नगरी पूर्वराजामाथि कारवाही गर्ने गणतन्त्रवादी नेताहरुको भनाइ सुन्दै हास्यास्पद लाग्छ। हास्यास्पद मात्रै होइन उनीहरुका भनाइ सुन्दा उनीहरु कानुन उल्लंघन गर्न कति अग्रपंक्तिमा छन् भन्ने पनि स्पष्ट पार्छ। पूर्वराजा कुनै अनुसन्धानले दोषी देखिएका होइनन् तर उनीमाथि भिडलाई हिंसा गर्न उक्साएको आरोप लगाइएको छ।
जबकि २ जना सर्वसाधारण युवाको ज्यान जानेगरी भिडलाई भड्काएको आरोपमा न्यायाधीश नेतृत्वको टोलीले गरेको अनुसन्धानमा दोषी देखिएका पूर्वमन्त्री प्रकाश ज्वालालाई कुनै कारवाही नगरी उन्मुक्ति दिने यिनै गणतन्त्रवादी नेताहरु हुन्।
प्रदर्शनकारीलाई उक्साउने गतिविधि सरकार पक्षबाटै वा सुरक्षाकर्मीबाटै भएको हुनसक्ने प्रशस्तै आधारहरु छन् तर यसलाई गणतन्त्रवादी नेताहरुले ढाकछोप गर्न खोजिरहेका छन्। यति यस्तो हुँदैनथ्यो भने घटनाको अनुसन्धान गर्न आयोग वा समिति गठन हुन्थ्यो होला तर त्यसो भएको छैन। अनुसन्धान गरेर आउनुपर्ने निष्कर्ष सीमित नेताहरुको बैठकबाट निकालिएको छ।
२०८० को पुर १३ गते इपीएसमार्फत कोरिया जान चाहने युवाहरु बालकुमारीस्थित इपीएस कार्यालयमा जम्मा भएका थिए। आफूहरुले आवेदन दिन नपाएपछि आवेदन दिन पाउनुपर्ने काम राख्दै युवाहरु आन्दोलित थिए। आन्दोलित युवाहरुलाई उक्साउने गरी प्रदर्शनकारीकै अगाडिबाट मन्त्री ज्वाला गाडी लिएर जान खोजेका थिए।
उनले गाडीबाट झरेर प्रदर्शनकारीसँग विवाद समेत गरेको अनुसन्धानमा खुलेको थियो। यो घटनामा २ युवाहरुको ज्यान गयो तर भिडलाई उक्साउने मन्त्रीलाई कुनै कारवाही भएन। घटनास्थलमै पुगेर भिड उक्साउने मन्त्रीलाई उन्मुक्ति दिने गणतन्त्रवादी नेताहरुले घटनास्थलमा नगएका पूर्वराजालाई अनुसन्धानबिना दोषीको ट्याग लगाइदिनु कति उचित होला? अनुसन्धानले दोषी देखिए अर्कै कुरा, होइन भने पूर्वराजाले स्वतन्त्र अनुसन्धान र कानुनी उपचारको मौलिक हक पनि नपाउने?
तीनकुनेमा राजावादीको कार्यक्रम सुरु हुँदै गर्दाको एउटा भिडियोमा कार्यक्रमस्थलमा राष्ट्रिय गान बजिरहेको र सहभागीहरु शान्त अवस्थामा उभिइरहेको बेलामा स्टेजमै अश्रु ग्यास प्रहार भएको देखिएको छ।
स्टेजमै अश्रुग्यास प्रशार हुनु प्रदर्शनकारीलाई आक्रोशित बनाउने बलियो कारण थियो। औपचारिक कार्यक्रममा राष्ट्रिय गान बजिरहेको र कुनै अराजक गतिविधि नभएको अवस्थामा प्रहरीलाई अश्रुग्यास प्रहार गर्ने निर्देशन कसले दियो?
निर्देशन दिने व्यक्ति वा आफ्नै स्वेच्छाले अश्रुग्यास प्रहार गरेको भए ती प्रहरी हिंसा भड्काउन जिम्मेवार देखिन्छन्। निर्देशनमा भएको हो भने यो लहरो गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्मै पुग्न सक्छ। त्यो व्यक्तिमाथि अनुसन्धान र कारवाही किन भएन?
प्रदर्शनकारीले प्रदर्शनस्थल नजिकै रहेको एक घरलाई निशाना बनाएर ढुंगा प्रहार गरे, घर क्षतविक्षत बनाए र यो घरमा आगजनी गरेर एक पत्रकारको समेत ज्यान लिए भन्ने भाष्यलाई अहिले जबर्जस्त रुपमा स्थापित गर्न खोजिएको छ।
तर, सामाजिक संजालमै साझा गरिएको एक भिडियोमा एक जना व्यक्तिले मात्र आगो लगाएको र ती व्यक्तिको आसपास प्रदर्शनकारीको भीड नभएको देखिन्छ। भिडियोलाई प्रमाणीकरण गर्न बाँकी छ तर यदि यो भिडियोमा देखिएको घटना सत्य हो भने यसले आगजनीको पछाडि अर्कै षड्यन्त्रपूर्ण कारण हुन सक्ने आशंका उब्जाउँछ।
केही भिडियोमा घरको छतबाट प्रदर्शनकारीहरुमाथि अश्रु ग्यास प्रहार भइरहेको देखिन्छ। केही प्रत्यक्षदर्शीहरुको दाबीअनुसार यसरी अश्रु ग्यास प्रहार गर्ने सुरक्षाकर्मीहरु त्यही घरको छतमा पनि थिए जुन घरमा आगजनी भएको थियो।
यदि आगजनी भएको घरकै छतमा बसेर प्रहरीले अश्रुग्यास प्रहार गरेको दाबी सत्य हो भने घरमा भएको आक्रमणमा प्रदर्शनकारीको जत्तिकै दोष सुरक्षा निकायको पनि छ। सुरक्षा निकायले निजी घरलाई शेल्टर बनाएर प्रदर्शनकारीमाथि दमन गर्न खोज्छ भने त्यो शेल्टर प्रदर्शनकारीको निशानामा पर्छ। प्रदर्शनकारीले यस्ता भौतिक आक्रमण २०६२-६३ को गणतन्त्रवादीको आन्दोलनमा पनि गरेका थिए।
प्रदर्शनकारीमाथि प्रहरीले दमन गर्न थालेपछि प्रदर्शनकारीहरु आक्रोशित हुनु र प्रहरीमाथि जवाफी आक्रमण गर्नु लगभग सबैजसो आन्दोलनमा हुने कुरा हो। सुरक्षाकर्मीमाथि जवाफी आक्रमण कांग्रेसका प्रदर्शनकारीले पनि गरेका थिए, एमाले माओवादी वा अन्य जुनसुकै दलका प्रदर्शनकारीले पनि गरेका थिए।
राजावादीको प्रदर्शनपछि अहिले सामाजिक संजालमा साझा गरिएका केही पुराना तस्वीरहरुमा कांग्रेसका नेता गगन थापा र तत्कालीन एमाले र अहिलेकी एकीकृत समाजवादी नेतृ रामकुमारी झँक्रीका तस्वीरहरु सबैभन्दा चर्चित छन्। रह्यो निजी घरमाथि आक्रमणको कुरा। प्रहरीले निजी घरलाई शेल्टर बनाएपछि आक्रमण त्यहीँ हुने हो यसमा धेरै बहस गरिराख्नु जरुरी देखिँदैन।
गणतन्त्रवादी नेताहरुले राजतन्त्र पक्षधर आन्दोलनलाई ‘गलत’ भन्ने भाष्य बनाउन जबर्जस्त प्रयास गरिरहेका छन्। तर, उनीहरुले गणतन्त्र चाहिँ वास्तवमा सही हो भन्ने अनुभूत गराउन सकिरहेका छैनन्। गणतन्त्र स्थापनापछि डेढ दशकभन्दा लामो समयसम्म जनतालाई गणतान्त्रिक व्यवस्था सही हो भन्ने अनुभूत गराउन नसक्नु गणतन्त्र पक्षधरहरुको कमजोरी हो।
वास्तवमा जनता अहिलेका राजनैतिक दल र तिनीहरुका शीर्ष नेताका कार्यशैलीसँग असन्तुष्ट छन्। जनताले राजतन्त्रलाई सही भनेका होइनन्, उनीहरुलाई भ्रष्टाचारमा लिप्त गणतन्त्रात्मक व्यवस्थाभन्दा बरु राजतन्त्र सही विकल्प हुनसक्छ भन्ने लागेको हो।
Facebook Comment