नेकपा एसको कार्यालयमा पहिलो पटक पुगे ओली, साथमै देखिए भीम रावल

डिसी नेपाल
१८ चैत २०८१ १३:५३

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ पत्रकार, राजनीतिक व्यक्तित्व एवं कूटनीतिज्ञ कमल कोइरालाको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

आइतबार राती उपचारका क्रममा निधन भएका कोइरालाको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा राखिएको छ। त्यहाँ पुगेर ओलीले श्रद्धाञ्जली अर्पण गरेका हुन्।

यससँगै उनी पहिलो पटक नेकपा एसको पार्टी कार्यालय पुगेका छन्। उनीसँगै नेकपा एमालेबाट निष्कासित नेता भीम रावल पनि नेकपा एसको पार्टी कार्यालय पुगेका छन्।

श्रद्धाञ्जलीका लागि नेकपा एसको कार्यालय पुगेका ओली र रावल एउटै लहरको बेन्चमा बसेको देख्न सकिन्छ। यसक्रममा ओलीले नेकपा एसको पार्टी कार्यालय अवलोकनसमेत गरेका थिए।

यस्तै, नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले कोइरालाको पार्थिक शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। अन्य नेता, कार्यकता तथा शुभेच्छुकले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

सो क्रममा नेकपा एसका अध्यक्ष नेपालले नेपालको राजनीतिक परिवर्तनमा कोइरालाको योगदानको चर्चा गरेका थिए।

कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन्। किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए।

वरिष्ठ पत्रकार तथा अगुवा राजनीतिक व्यक्तित्वसमेत रहेका कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *