दर्शन

धार्मिक बिरालो

शंकरप्रसाद रिजाल
३० चैत २०८१ ७:०५

धर्म एक मानिसको अन्तष्करणको ईश्वरीय भावना र चिन्तन हो। यो आ-आफ्नो स्वधर्म धारणा गर्ने एक बलियो साधन हो, जसले मानिसलाई सधैं शान्ति प्रदान गर्दछ। यो योग, साधना, प्राथना र आराधनाबाट जागृत हुन्छ।

यो दुःखमय संसारमा आफ्नो जीवन निर्बाह गर्न गर्ने कर्मको साथै यसको पनि अभ्यास निरन्तर गर्नु पर्दछ। यही धर्म अपनाउने क्रममा सबै जसो मानिस आआफ्नो धर्म अनुसार पूजा पाठ गर्ने गर्दछन्।

कोही ईश्वर ब्रम्हा, बिष्णु, महेश्वर र देवी देवतालाई पुजन गर्दछन्। कोही मस्जिद, गुरुद्वारा गइ भक्ति गर्दछन् भने कोही चर्च गइ आफ्नो धर्मलाई पालन गरिरहेका हुन्छन्।
धर्मको नाममा कोही पशु हत्त्या गरी त्यसलाई प्रसादको रुपमा खाने गर्दछन् भने कोही यो खाने र ऊ नखाने भनेर आआफ्नो इच्छा र स्वाद अनुसार बिभिन्न थरीका माछा, मासु, अण्डाहरु खाने गर्दछन्।

कोही यस्ता कुनै पनि बस्तुदेखि टाढा रही शाकाहारी भोजनमात्र ग्रहण गर्दछन् र आफू तृप्त र सन्तोषमा रहने गर्दछन्। यस्ता बिभिन्न प्रकारका धर्म अँगाले पनि मानिस हत्या, हिंसा, काटमारमा लागिरहने, अर्काको देश हडप्ने, अर्कालाई दबाइ आफू ठुलो र बलियो बन्ने काम भने गरेर दुनियामा झाल, झेल, झगडा मच्चाइ रहने प्रबृत्ति कायमै छ।

यी सबै विषयलाई नियाल्दा यसलाई के धार्मिक आस्था भन्ने र कसरी यसको ठोस परिभाषा दिने? यो साह्रै गहिरो विषय बनेको छ। जस्तो सुकै धार्मिक कहलाएका पण्डित, सन्त्, महन्त र नागा साधुनै किन नहुन, बाहिर आवरण र प्रबचन धार्मिक भएपनि भित्र भित्र अर्कै काम गर्ने आफ्नो बानीलाई परिवर्तन नगर्ने र अरुलाई दुःख दिइ दास बनाइ आफू साधु जस्तो बनेर सधैं सुखसयलमा बस्ने र अकुत सम्पत्ति कमाइ जीवन यापन गर्ने जस्ता विषय यो संसारमा कायमै छ। धर्म कसरी पालना गरिन्छ भन्ने कुरा एक ‘धार्मिक बिरालो’ को रोचक कथाबाट स्पस्ट परिभाषित हुन्छ।

एउटा धार्मिक बिरालो जो सधैं दिउसो माला जपी बस्थ्यो। जब राति हुन्छ उसले कतै न कतैतिरबाट मुसामारी खाने गर्दथ्यो र भोलिपल्ट फेरि माला जपी शाकाहारी बन्थ्यो। अनि रात परेपछि फेरि मुसामारी खाने गर्दथ्यो।

यसरी निरन्तर मुसा मारेर खाँदा वाक्क भइ एकदिन मुसाकै सामुन्ने पर्दा हँसिलो धार्मिक मुखलिइ मुसालाई खेलाउनमात्र थाल्यो र खेलाउँदा खेलाउंदै रगताम्मे बनाएर मुसालाई छोडिदियो। एक छिनपछि मुसा मरेपछि उसलाई फेरि मुक्ति प्रदान गर्ने निउले त्यो मुसा आखिर खाएरै छोड्यो भने माला जप्ने पण्डित, शाकाहारी र धार्मिक मानिसहरु यस्तै प्रकारका पाइन्छन्। तसर्थ यो संसारमा धर्म भन्ने र धार्मिक भन्ने कुरा यही धार्मिक बिरालो जस्तै जस्तै नै देखिन्छन्।

खोइ धर्म? खोइ धार्मिक व्यक्ति र समूह? खोइ धार्मिक समाज, खोइ धार्मिक देश, खोइ जगत वा अन्तर्राष्ट्र। कोही धार्मिक देखिँदैनन्। पण्डित पूजापाती गरी धन सोर्नमै तल्लीन छन्। मन्दिरका पुजारीहरू पैसा थुपार्न मै तल्लीन छन्। धर्म गुरुहरु पैसा सोहोरी सुखमय जीवन बिताउनमै तल्लीन छन् भने देश देशका नेता भनाउँदाहरु आफैं धनी बन्न र सुखमय जीवन बिताइ रहेका छन्। खासमा भन्ने हो भने संसार धर्ममा अडेकै छैन।

यसलाई ‘धार्मिक बिरालो’ जस्तै धार्मिक मुखौटो बनाइ आफ्नै बानी र कुकृत्यमा जीवन चलाई बसेका देखिन्छन्। किरिया बस्ने मानिस र पुरेत्याइँ गर्नेहरु पनि एकापट्टी दान लिएर सबै सामान फेरि उही पसलमा बेची पैसा मुठो पार्ने काममानै व्यस्त छन्। सामानको पहाड बनी सकेको हुन्छ र त्यही उपाय नअपनाए के गर्ने त?। अर्को धर्म मानी हिँडेका घरमा परिवारमा अशान्ति कलह झै झगडा मच्चिइ रहेकै हुन्छ।

के अर्ती के सन्देस, के वेद पुराण, के क्रिस्चियन, बाइबल र के कुरान सरिफका ग्रन्थहरु। सबैले धर्मलाई छोडी सकेका छन्। खाली आवरण मात्र छन्। मूल कुरा आफू र आफ्नो इच्छा, पेशा र बानी कस्तो छ त्यही बारम्बार गर्ने हुन्छन्। बुद्ध साकाहारी र धार्मिक थिए।

तर उनले आफ्ना एक नव शिष्यलाई दिक्षा प्रदानगरी एक भिक्षापात्र दिइ भने कि अब यो पात्रमा जे मिल्छ त्यसैले आफ्नो गुजारा गर्नु भनेर अर्ती दिँदा अकस्मात त्यही भिक्षा पात्र लिइ बाटोमा हिँडिरहेका बेला संजोगबस माथिबाट एक चिलले एक टुक्रा मासु खसाली त्यो पात्रमा परेपछि शिष्य भन्ते चकित परेर नतमस्तक बनी उनी फेरि बुद्धकहाँ निर्णयको लागि गए।

बुद्धले यो संयोग हो फेरि कहिल्यै हुने छैन, अतः यसलाई स्वीकार गर भन्दा शिष्यले भक्षण गर्ने काम गरे उप्रान्त बुद्धिस्टहरुलेपनि मासु सेवन गर्न सुरु गरे भनेर कथा र घटनामा ओशोको प्रबचनमा आधारित छ भने उक्ति र सन्देसले पनि त्यत्ति काम नगरेको देखिन्छ।

अत धर्मात्मा को रहेछन् त भन्दा कोही पनि देखिँदैनन्। त्यस्तै धर्मशास्त्र अनुसार शुद्ध भइ किरियापुत्र पनि १३ दिन किरिया बस्नु पर्ने भनिएकोमा स्वयं किरियापुत्र नै दिउसो शुद्ध भई राति नसालु पदार्थ सेबन गरी बस्ने पनि धरै छन्। तसर्थ धर्म धर्मानुसार नभइ अधर्म र दुव्र्यसनीको नाममा रहेको देखिन्छ।

यसरी नै फेरि ठुलाबडा सन्तहरुको अर्ति उपदेश सुन्दा र सोही अनुसार पालना गर्दा जीवन जोखिममा परेको किम्बदन्ती कथा सामाग्री पनि सुनिन्छन्। एक बिसालु सर्प बाटोको छेउमा बसी त्यो बाटो हिँड्नेलाई दिनहुँ डस्ने र झम्टिने गर्दथ्यो।

धेरै भएपछि त्यो खबर समाजमा फैलियो र एक त्यो समाजका सन्त पुरुषलाई सोध्दा गर्दा ती सन्तले त्यो सर्पलाई अगाडि राखेर यसरी नडस र झम्टिने काम नगर यसले पछिल्लो जन्ममा सारै पाप लाग्छ र दुःख भोग्नुपर्छ भनेर सम्झाए। सर्पले त्यो अर्तीको पालना पनि गर्न थाल्यो।

कसैलाई पनि डस्ने काम बन्द गरे पश्चात त्यो सर्पलाई भोलिपल्टदेखि सबैले ढुंगा हान्न थाले र शरीर भरी घाउ चोट बनाए। त्यही बाटो हुँदै आउँदै गरेका ती सन्तले सर्पको यस्तो दूरावस्ता देखेर बिचलित भए। उनले सर्पलाई सोधे के भयो? सर्पले जवाफ दियो-तपाईंको अर्तीले आज मेरो यो अवस्था भयो।’

सन्तले जीवन बचाउन तिमीले के गर्नु पर्छ त्यो गर भनी पुनःअर्ती फेरेको कथा सुन्न पाइन्छ। धर्म, धार्मिक, अर्ती र उपदेशले आखिर ब्यबहार चल्ने रहेछ त? अतः धर्मको अबलम्बन गरी पूरा र पूर्ण धार्मिक बन्न त ईश्वरीय गुण पूर्ण रुपमा हुनै पर्दछ।

अन्यथा सब ढोंग र नाटकमात्र बन्न जाने निश्चित छ। यसरी माला जपी हिँड्ने मानिस र मालाजपी हिँड्ने ‘धार्मिक बिरालो’ जस्तै यो आजको समाजको धर्म, पाडित्य र धर्म पन्थीहरु एकै पंक्तीका र स्वभाबका हुन् भन्ने कुरामा कसैको दुईमत नरहला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *