प्रहरी चौकी बनाउन ३३ लाखको जग्गा दान

पर्वत। पर्वतको फलेवास नगरपालिकाका बासिन्दाले वडा कार्यालय र प्रहरी चौकी निर्माणका लागि रु ३३ लाख ५० हजारको ९ रोपनी जग्गा दान गरेका छन् ।
फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँका स्थानीयले चन्दा संकलन गरेर जग्गा गरिद गरी नगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्वतलाई लालपुर्जा हस्तान्तरण गरेका हुन् ।
स्थानीयवासीका साथै स्वदेश तथा विदेशमा रहेकाहरुवाट रु। ३३ लाख ५० हजार रुपैया चन्दा संकलन गरेर जग्गा खरिद गरिउको हो । वडा नं. ५ खानीगाउँको वडा कार्यालय र इलाका प्रहरी कार्यालय निर्माणका लागि आठ रोपनी छ आना दुई पैसाको जग्गा खरिद गरिएको स्थानीय समाजसेवी भोलानाथ शर्मा लम्सालले जानकारी दिए।
इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि पाँच रोपनी तीन आना दुई पैसाको जग्गा खरिद गरेका छन् भने वडा कार्यालय निर्माणका लागि तीन रोपनी तीन आना जग्गा खरिद गरिएको लम्सालले बताए ।
समाजसेवी लम्सालका अनुसार स्थानीयवासीले रु। दुई हजारदेखी रु। तीन लाखसम्म चन्दा सहयोग गरेका छन् । भवन निर्माणका लागि निःशुल्क र उपयुक्त जग्गा नपाएपछि स्थानीयले चन्दा संकलन गरेर जग्गा खरिद गरेको लम्सालले जानकारी दिए । अहिलेसम्म प्रहरी चौकी भाडाको घरमा संचालन हुँदै आएको छ भने वडा कार्यालय फलेवास सिंचाई आयोजनाको कार्यालयमा संचालन भएको छ ।
जिल्ला सदरमुकाम कुश्मा बजारसँगै जोडिएको फलेवास नगरपालिका जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । नगरपालिका बनेसँगै त्यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय निर्माणको आवश्यकता देखिएर जग्गा व्यवस्थापन गरिएको पुर्व मन्त्री विकास लम्सालले बताए ।
चन्दा संकलन गरेर इलाका प्रहरी कार्यालयका लागि खरिद गरिएको जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रबिन विष्ट र वडा कार्यालयका लागि खरिद गरिएको जग्ग्गाको लालपुर्जा खानीगाउँका वडाध्यक्ष नारायणप्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको छ ।
जग्गा प्राप्तिपछि प्रहरी नायब उपरीक्षक विष्टले इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि तत्काल काम शुरुवात हुने जानकारी दिए । उनले भाडाको घरमा कार्यालय संचालन हुँदा दैनिक सेवाग्राहीलाई समेत असहज हुनुका साथै प्रहरीका अन्य गतिविधि संचालनमा समस्या भएको बताउँदै अब आफ्नै भवन निर्माण भएपछि सहज हुने बताए ।
फलेवास वडा नं। ५ खानीगाउँका वडाध्यक्ष लामिछानेले सार्वजनिक हितका लागि वडावासीले देखाएको सक्रियताले वडा कार्यालयको नयाँ संरचना बनाउन बल पुगेको बताए। वडाका सवैलाई पायक पर्ने स्थानमा सुविधासम्पन्न भवन बनाउन नगरवाट बजेट माग गरिने उनको भनाई रहेको छ ।
फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले भौतिक संरचनाको अभाव हुँदा प्रहरी र वडा कार्यालयका गतिविधि संचालनमा समस्या झेल्नुपरेको भन्दै अब दुवै निकायका लागि पर्याप्त जग्गा प्राप्ति भएकाले बजेट व्यवस्थापन गरेर समयमै भवन निर्माण गर्ने प्रतिवद्धता जनाए।
Facebook Comment