लघुकथा : पछ्यौरीको आइसक्रिम

बैसाखे सक्रान्तिका दिन लाग्ने सलहेस गोरराजा धाममा प्यार्प्यारे मुरली, झिलिमिली खेलौनाहरू, सिँदुरटीका, डमरुका तालमा बेचिने आइसक्रिम लगायत धेरै चटके सामग्री आकर्षणका केन्द्र थिए।
मधेसका मेला धाममा पकाउँदै बेच्दै गरिएका जुलफीहरूले मेला भर्ने मानिसहरूको जिब्रो नरसाउने सवालै थिएन। बजिरहेको लाउडस्पिकर र कल्याङकुलुङ, तातो घाम र उडिरहेको धुलोले वातावरण नै उकुसमुकुस बनाइरहेको थियो।
मेला भर्न जाने हुलमा सुन्तली पनि एक थिई। उसले घर भान्सामा चाहिने अगडम बगडम सामान किनेर झोलामा हाली। खटाएर दिएको सीमित पैसा सकिइसकेको थियो। घरमा रहेको तिन बर्से छोराको यादले सतायो।
सुन्तली अन्य मानिसहरूले आआफ्ना छोराछोरी तथा परिवारका सदस्यका लागि जुलफी तथा अन्य सामग्रीहरू किनेको एक टक लगाएर हेरिरहेकी थिई। छोरालाई केही कुरा किनी दिने प्रबल इच्छा उसमा जागृत भयो। उसको मातृत्व त्यसै त्यसै सल्बलायो। उसले आफ्नो थैलीको सुर्काने खोली। थैलीले लाचारी प्रदर्शन गरिरहेको थियो। यत्तिकैमा तल्लाघरे साहिँलीले उसलाई बोलाएको स्वरबाट झसङ्ग भई ः
‘ए सुन्तली के हेरेकी लाटाले पापा हेरे जस्तो, छिटो आइज, घर जान हतार भइसक्यो, बज्यैले मार्लिन् नि।’
मेलाको छेउमा एउटा ठुलो बाकसबाट आइसक्रिम झिक्दै बेच्दै थियो दोकाने। चिनी पानी जमाएर बनाइएका आइसक्रिम भर्खर भर्खर देखिन थालेका थिए यस्तै मेलाधाममा। उसले अहिलेसम्म आइसक्रिम खाएकी थिइन। दोकानेको डमरुको आवाजले सुन्तलीका पाइला दोकान अगाडि टक्क अडिए।
आइसक्रिम दोकानको छेउबाट कसैले भन्दै थियो ‘ए साहिँली बुहारी, सुन्तली बैनी ! आओ है आइसक्रिम खाएर जाओ, जीवन बाँचुन्जेल त हो नि’ त्यो भर्खर भारतबाट छ महिनाको छुट्टीमा गाउँ आएको माथ्लाघरे ठुलो कान्छो थियो।
‘भो भो दाजु अलि हतारो पो छ त ’ साहिँलीले प्रतिउत्तर हानी। सँगैजसो जोडिएर हिँडेकी सुन्तलीले साहिँलीलाई चिमोटी। त्यसको अर्थ ‘खाऊँ न खाऊँ’ भन्ने थियो।
‘खाऊँ न हौ किन गाह्रो मानेको ?’ ठुलो कान्छाले पनि जिद्दी गर्यो।
दोकानेले दिएको बाँसको कप्टेरामा अडिएको आइसक्रिमलाई सुन्तलीले घुमाइघुमाई हेरी र जिब्रो निकालेर चाटी :
‘ओ हो कत्ति चिसो ?’ सर्र गर्दै चिसो पेटभित्र पस्यो।
यसैबेला उसलाई छोराको सम्झना आयो। उसले त्यो आइसक्रिमलाई अर्कोपल्ट चाटिन बरु पछ्यौरीको छेउमा पोको पारी। घर पुगेर पछ्यौरी खोली हेर्दा बाँसको कप्टेरो मात्रै थियो। आमाले के ल्याइदिइन् भनी छोरो हेरिरहेको थियो।
ऊसँग मातृत्व बाहेक दिनलाई केही थिएन।
Facebook Comment