पहिल्यै महंगो आइफोनको मूल्यमा अझै भारी वृद्धि !

काठमाडौं । संसारकै सबैभन्दा सस्तो आईफोन कहाँ पाइन्छ ? वर्षौंदेखि यसको जवाफ थियो ‘अमेरिका’ । तर अब यो अवस्था परिवर्तन हुन सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लगाएको करले आइफोनको मूल्यमा भारी वृद्धि हुन सक्छ । अब अमेरिकामा पनि सस्तो मूल्यमा आइफोन पाइने छैन ।
डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ करहरूले चीन, भियतनाम र भारतमा ठूलो प्रभाव पार्नेछ । चीन आईफोनको सबैभन्दा ठूलो उत्पादन केन्द्र हो। ट्रम्पले चीनमाथि कर लगाएपछि चीनमा उत्पादन भएका आइफोन अमेरिका लैजाँदा पनि भारी कर लाग्नेछ जसले यसको मूल्य धेरै बढाउनेछ ।
रोजेनब्लाट सेक्युरिटीजका अनुसार अमेरिकी बजारमा आइफोनको शीर्ष भेरियन्टको मूल्य २३०० डलर (लगभग ३ लाख १३ हजार रुपैयाँ) सम्म हुन सक्छ। अहिले अमेरिकामा आईफोन १६ प्रो म्याक्सको १ टिबी भेरियन्टको मूल्य १५९९ डलर (२ लाख १८ हजार रूपैयाँ) छ।
अहिलेसम्म अमेरिकी बजारमा स्मार्टफोनको यति उच्च मूल्य कहिल्यै भएको थिएन । चीन बाहेक एप्पलले भारतमा पनि आफ्ना स्मार्टफोनहरू उत्पादन गर्छ । अमेरिकाले भारतमाथि पनि २७ प्रतिशत कर लगाएको छ। यसको अर्थ एप्पलले अमेरिकी बजारमा आफ्ना उत्पादनहरूको मूल्य बढाउनुपर्नेछ।
चीनमाथि पहिले नै २० प्रतिशत कर लगाइएको थियो । अहिलेको नयाँ नयाँ घोषणामा चीनमाथि ३४ प्रतिशत थप कर लगाउने बताइएको छ। यसको प्रभाव एप्पलको शेयरमा पनि देखिएको छ। कर घोषणा भएदेखि एप्पलको शयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।
Facebook Comment