लघुकथा : नीति

“हेल्लो प्रेम जी अभिवादन।” खादँबारी पोखरी बजारको बरुण पुस्तक पसलमा देखेर अभयले उसलाई बोलाएको हो। प्रेमले पुलुक्क फर्केर हेर्यो। निकै बेर ठमयाएर प्रेम चिच्यायो” अभिवादन अभयजी। कहाँबाट आज? सञ्चो विसञ्चो के छ? कति कामले खाँदवारी आइपुग्नु भयो? कहाँ हुनुहुन्छ अहिले?”
प्रेम र अभय विराटनगर कलेज पढ्दाका साथी हुन। प्रेम कानुन विषयको विद्यार्थी थियो भने अभय वाणिज्य विषयको विद्यार्थी थियो। कलेज फरक भए पनि बसाई मिनी होस्टलमा सँगै थियो। दुई जना एउटै भान्सा खान्थे। विचार मिल्थ्यो। उनीहरु एउटै संगठन अनेरास्वियुका सदस्य थिए। पार्टी नेताहरु भूमिगत थिए। राजनीति गर्न सजिलो थिएन। कयौं नेताहरु जेलमा थिए। कयौं नेताहरुको हत्या गरिएको थियो।
उनीहरुको भेट दश वर्ष पछि भएको थियो। अभय प्रगतिशील पुस्तक पत्र पत्रिका र जनवादी गीतका चक्का किन्ने उद्देश्यले खाँदबारी गएको थियो। पढाइ पश्चात उ दिङ्लामा शिक्षण गथ्र्यो। प्रेम पनि पुस्तक र पत्रपत्रिकाकै खोजिमा आएको रहेछ।
उसको घर खाँदबारी बजार नजिकै थियो। उ वकालत गर्थ्याे। उनीहरुले घर व्यवहार, राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बारे लामै कुराकानी गरे। सँगैका साथीहरु तोया, गुणराज टीका मुरारी, गणेश र योगेन्द्रका प्रसंग पनि उठाए।
अभयलाई दिङ्ला फर्कनु थियो। उ अलि हतारियो। प्रेमले यतै बसौं, भोलि विहानै जानु भनेर जिद्दी गर्यो। विहान जाँदा विद्यालय पुग्न अवेर हुने। सात नबजि अरुण नदीमा डुंगा पनि नलाग्ने भएका कारण आजै जार्नु पर्ने बाध्यता दर्शायो अभयले। प्रेम र अभय नवीन होटलमा चिया नास्ता गरेर छुट्टिए।
अभय र प्रेम अब्बल क्रान्तिकारी सोच भएका विद्यार्थी नेता थिए। घरायसी आर्थिक अवस्था कमजोर रहेका कारण उनीहरु जागिरमा अल्झिएका थिए। पार्टीको सल्लाह अनुसारनै उनीहरु शिक्षक र वकिल भएर काम गरिरहेका थिए।
उनीहरुको जीवनस्तरमा सुधार पनि आउने र पार्टीले पनि नियमित आर्थिक सहयोग प्राप्त गर्ने भएका कारण ती दुई पार्टी नीति अनुरुपनै परिचालित थिए। पार्टीलाई आवश्यक परेको खण्डमा पूर्णकालीन भएर पार्टी काममा फर्कने छौ भनी प्रतिवद्धता जाहेर गरेका उनीहरुको जागिर अस्थायी प्रकृतिको थियो। उनीहरुलाई जुनसुकै बेला पार्टी काममा फर्काइन सकिन्थ्यो। उनीहरु अर्ध भूमिगत जस्तै थिए।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ
kpchandra2023@gmail.com
Facebook Comment