निबन्ध

वसन्तका काव्यहरू र कलाहरू

ज्ञानेन्द्र विवश
२३ चैत २०८१ ७:३०

हिउँदको चिसो सिरेटो, हिमपात, शीतलहर आदिका कठिन मौसमी अवस्थालाई पार गर्दै जीवनले पारिलो घाम थाप्न पाएको बसन्त आगमनसँगै हो। अनेक रङहरूको सौन्दर्य पस्किने वनस्पतिहरू बसन्तको आगमनसँगै पल्लवित हुन थाल्छन्। बोटका हाँगा-हाँगामा नयाँ उल्लास, उमंग लिएर नयाँ मुना मुजुराहरू फक्रिन फुल्न तम्तयार हुन थाल्छन्।

वसन्तको मधुर आगमन वास्तवमा वनस्पतिका लागि नवजीवन प्रारम्भको प्रथम बिहानी हो। यसपछि नै वनजङ्गलका भीरपाखाहरूमा चिसोले कक्रिएका बोटहरूका हाँगाबाट बिस्तारै-बिस्तारै नयाँ मुनाको अंकुरण सुरु हुन थाल्छ। गाउँघरका तुलफूलका रुखहरू हुन् वा फूलहरूका अनेक बिरुवाहरूमा पनि नयाँ मुना टुसाउन थाल्छ।

शहरका बगैँचा हुन् वा गमलामा रोपिएका फूलहरू तिनमा पनि बसन्त आगमनको संकेतले ओइलाउँदै गएका बोटहरूमा नवजीवनको प्रवेश हुन थाल्छ। निभ्न लागेको दियोबत्तीमा तेल थपेर चहकिलो उज्यालो पार्दै जीवनको धिप्धिपेमा नयाँ जीवन पाउँछ।

यसरी बिस्तारै पहाडका फाँटहरू, तराईका टारहरू, उपत्यकाका साँघुरा गल्लीहरू रंगीन क्यानभासमा परिणत हुन्छन्। रातो, सेतो, गुलाफी, सुन्तला र पहेँला फूलहरू हावाको मधुर तालमा नाच्न थाल्छन्।

यद्यपि फूलको सौन्दर्यलाई आत्मसात गर्न र फूलका रङहरूलाई खुट्याउन सजिलै सकिँदैन। किनभने हरेक फूलमा रङका अनेकौं तह र तरङहरू हुन्छन्। तिनलाई हेरेर तृप्त हुनुबाहेक त्यसमा देखिने रङको व्याख्या–विश्लेषण गर्न कठिन हुन्छ।

वास्तवमा ती फूलहरू बोटका शोभा मात्र होइनन्, ती जीवनका प्रतीक हुन्- आशाका, प्रेमका, सौन्दर्यका। यिनै र यस्तै भावनाका भेलहरूमा बग्दै फूलले जीवनको सौन्दर्यबोध गर्छ। सुखद अनुभूतिको अभिलेख लेख्छ। मनको प्रेम प्रकट गर्छ। यस किसिमको अनुभूतिको तरङ्गहरूमा तैरिँदै जीवन बाँच्नु, जीवन हाँस्नु भनेको वसन्तको योगदान हो। वसन्तको विशेषता पनि हो।

अतः यौटा फूल वसन्तका काव्यहरू हुन्। वसन्तका कलाहरू हुन्। सिर्जनाका अमर दस्तावेजहरू हुन्।  कतै पहाडको उराट उजाड बाटोमा सिमलका अग्ला-अग्ला रुखहरूमा फुलेका फूलहरूले एक्लै सौन्दर्यको रङ र सुगन्ध बाँड्दै खुसीको उमङ्ग सम्प्रेषण गर्न थाल्छ।

त्यसकै हाँगामा बसेर कोइली चराको कुहु कुहुले बिरह भाका भाग्दै गर्दा अलि तल गुराँसको जंगलमा गुराँसका फूलहरू फुल्नलाई बोटहरूबाट संघर्षको कठिन चरण गुजारिरहेका हुन्छन्।

गुराँसका लालिमाले प्रकृतिलाई सिँगारेर सजाउँदै यौटा भिन्न प्रकृतिको संसारमा प्रवेश गराउँछ। पहाडका फेददेखि चुचुरासम्म राताम्य हुने गुराँसका फूलहरू प्रकृतिको आफ्नै काव्य हुन्।

जताततै फिँजिएको रातो र गुलाफी गुराँस हेर्दा लाग्छ, यो बोटमा कोही प्रेमिल कविले आफ्ना सपनाहरू फुलेको देखेका छन्। कोही कलाकारका कूचीले अथाह रङका सौन्दर्यलाई आफ्ना क्यानभासमा समेटेका छन्।

वसन्त लाग्नासाथ गुराँसहरूले पहाडलाई लालीगुराँसको रङमा रङ्गाइदिन्छन्। ती फूलहरू देख्दा लाग्छ, कसैले ढुंगाका मुटुहरूलाई कोमलता सिकाउने प्रयास गरेको छ। कुनै निष्ठुरी मनहरूलाई मायाको परिभाषा पढाइरहेको छ।

चिसो हिमाली हावाले चुमेर हुर्काएको गुराँस जीवनका उतार–चढावहरू सम्झाउने फूल पनि हो। हिउँको कठोरताले अँगालेको माटोमा जब नयाँ जीवन उम्रिन्छ, तब गुराँस फक्रिएर संसारलाई सन्देश दिन्छ- संघर्षपछि सौन्दर्य सम्भव छ। कठोर झापटपछि कोमल स्पर्श निकै सुन्दर र सुखद हुन्छ।

त्यसैगरी सिमलको सेता सपना पनि जीवनको अर्को पाटो हो। त्यहाँ भेटिन्छ दुःखपछि सुखका सुस्केराहरू। हिँडाइपछिको विश्रामबाट देखिने प्रकृतिका दिव्य दृश्यहरू। यथार्थमा वसन्तले निम्त्याएका रङ–कल्लोलका कति–कति सौन्दर्यहरू। काव्य, महाकाव्यका धाराप्रवाह भेलहरू …!

वसन्तको न्यानोपन महसुस हुन नपाउँदै तराईतिर सिमलका रुखहरू अग्ला बन्दै जान्छन्। जब सिमलका सेता फूलहरू आकाशतिर फर्केर फक्रिन्छन्, लाग्छ- यी रुखहरूले सपनाहरू झैँ आकाशमा फुल्न खोजेका छन्। सिमलको फूल कुनै महँगा सुवासित फूलजस्तो हुँदैन। तर त्यसको आफ्नै सौन्दर्य हुन्छ। एक किसिमको सरलता, एक किसिमको खुलापन।

सिमलको फूल केवल सुन्दर मात्र होइन, उपयोगी पनि छ। जब फुल्ने मौसम सकिन्छ, त्यसपछि यसको सेतो रुँगाहरू हावाले उडाउँदै लैजान्छ। ती रुँगाहरू उड्दै जाँदा लाग्छ, मानिसका सपनाहरू पनि यसरी नै उड्छन्। त्यो उडान कहिले आकाशतिर आकाशिँदै जान्छ। कहिले माटोतिर प्रेममय भावनाहरूको बीजारोपण गर्दै जान्छ।

त्यसैगरी आरुका गुलाफी मुनाहरू पनि यही बेला मौलाउँछन्। फूल फुल्नुको क्रमसँगै पातहरू हाँगाभरि भरिन्छन्। केही सातामै तिनमा आरुका दाना फल्न थाल्छन्।

वस्तुतः यी सबै वसन्तका अनुपम सिर्जनाका धारा हुन्। काव्य र कलाहरू हुन्। माया र प्रेमका, विश्वास र व्यवहारका विम्बहरू हुन्।

पहाडका घरअगाडि उम्रिने आरुका बोटहरूले वसन्तको गीत गाउँछन्। जब आरुका गुलाफी फूलहरू हाँस्न थाल्छन्, तब लाग्छ, ती फूलहरू वसन्तका कलिला पलहरू हुन्। ती साना केटाकेटीहरू जस्तै हुन्, जो बिहानको घाममा खुशीले नाचिरहेका हुन्छन्। रातभरिको हुरी र शीतको प्रकोप सहेर बाँच्न सिकेका हुन्छन्।

आरुका फूलहरू प्रेमका प्रतीक हुन्। चञ्चल हावा चल्दा ती फूलहरू झरिरहन्छन्, तर आरुका बोटहरू उदास हुँदैनन्। किनभने तिनले जान्दछन्– यी फूलहरू गए पनि केही समयपछि फल लाग्ने छ, जीवन पुनः नयाँ रूपमा फर्किनेछ। आरुका फूलहरूले हामीलाई पनि जीवनका सुन्दर क्षणहरू स्मरण गराउँछन्। अल्पकालीन भए पनि ती क्षणहरू अमूल्य हुन्छन्।

वसन्तका फूलहरू रुखदेखि मनसम्म फैलिन्छन्। पहाडका अक्करे भीरदेखि घरका गमलासम्म फुलिरहेका हुन्छन्। फुल्नुपर्ने आफ्नो दायित्वलाई कस्तै कठिनाइमा पनि बिर्सिदैनन्।

त्यसैले त यिनमा काव्यकलाका अजम्बरी सिर्जनाकर्म सिर्जित भइरहेको हुन्छ। जहिल्यै आफ्नो विरासतलाई अक्षुण्ण राख्दै मान्छेका मनहरूसम्म सद्भाव र दत्कर्मको सन्देश सम्प्रेषित गरिहन्छन्।

हरेक वर्ष, जब वसन्तको आगमन हुन्छ, प्रकृतिले आफैँलाई रङ्गीचङ्गी पोसाकले सिँगार्छ। हिउँदले निथ्रुक्कै सुकाएको वन-जंगल बिस्तारै हरियालीले छोप्न थाल्छ। चराहरूको चिरबिरले नीरवतामा संगीत थप्छ। वसन्त एउटा पुनरागमन हो- शीतलताको, सुगन्ध र सौन्दर्यको।

यद्यपि वसन्त रुखहरूमा मात्र फुल्दैन, यो मनमा पनि फुल्छ। जब गुराँस फक्रन्छ, हामीभित्र कतै सँगालेर राखिएका भावना पनि उजागर हुन थाल्छन्। कुनै स्नेहिल प्रेमको आकृति आँखाअघि झल्किन्छ। कुनै अधुरो सपना ताजा पल्टिन्छ। जीवनलाई अझ गहिरोसँग बुझ्न थालिन्छ।

कति सपना हिउँदको चिसोमा कठ्याग्र्रिएर थन्किएका थिए ! कति आकांक्षाहरू मनको भित्तामा ओइलाएर बसेका थिए ! वसन्त ती सबैलाई फेरि नयाँ जीवन दिन आउँछ। त्यसैले त वसन्त प्रेमको मौसम पनि हो, आशाको मौसम पनि हो। विश्वासको बिहान पनि हो।

गुराँसका राताम्मे थुँगा जस्तै, हाम्रो जीवनमा पनि उर्वर भावना फुल्न सकून्। सिमलका फूलहरू जसरी उडेर टाढा–टाढासम्म पुग्छन्, हाम्रो कल्पनाहरूले पनि अनन्त क्षितिजसम्म यात्रा गर्न सकून्। आरुका फूलहरू जस्तै हाम्रो सपनाहरूले पनि मिठास भरेर खुल्न सकून्।

वसन्त एउटा संकेत हो, नयाँ सुरुवातको, नयाँ उत्साहको। जस्तो प्रकृतिले आफैँलाई पुनर्जन्म दिन्छ, हाम्रा मनहरूले पनि दिन सकोस्। वसन्तका हरेक फूलहरू हाम्रा हृदयमा फक्रिरहून् र जीवन सदैव वसन्तमय रहोस् !

वसन्तको आगमनसँगै यी फूलहरू केवल रुखहरूमा मात्र होइन, मनहरूमा पनि फुलून्। मानिसका सपनाहरू, प्रेमका भावनाहरू, आशाका किरणहरू गुराँस, सिमल र आरुका फूलझैँ फुलून्। प्रकृतिसँगै हाम्रो जीवन पनि वसन्तमय रहोस्। काव्यमय, कलामय बनिरहोस्– वसन्तका काव्यहरू, वसन्तका कलाहरू !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *