सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री आउन नभ्याउनु हुने भयो : प्रधानमन्त्री ओली

डिसी नेपाल
२३ चैत २०८१ १३:४२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी गराएका छन्।

शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन्।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटघाट अत्यन्त सुमधुर वातावरण र हार्दिकताका साथ भयो। यस पटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न। किनभने सगरमाथा संवादकै बेला युरोपको कार्यक्रम तय भइसकेको रहेछ। युरोपमा कार्यक्रम तय भइसकेकाले बदल्न सक्ने अवस्था छैन। तर, भारतबाट सगरमाथा संवादका लागि राम्रै प्रतिनिधित्व हुने जानकारी मोदीले गराउनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने।

उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताए। उनले कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याई हाल्ने अठोट गरेको समेत बताए।

उनले भने, ‘दुई प्रधानमन्त्रीका बिचमा पारस्पारिक सहयोगका विभिन्न सहयोगहरुको सम्बन्धमा, लगानी, व्यापारका क्षेत्रहरुका सन्दर्भमा र पञ्चेश्वर लगायतका विषयहरु दोधारा चाँदनीमा महाकाली सिँचाई योजना गर्नेलगायतका विषयहरुमा कुरा भयो। दुई पक्षीय पारस्परिक हितका विषयमा कुराकानीहरु भए। हामीले एउटा अठोट गरेका छौं। नेपाल–भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लाने र कुनै सानातिना छिमेकमा समस्या देखिए भनेपनि एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याईहाल्ने जस्ता कुराहरुका बारेमा गहिरो समझदारी गरेका छौं। भेटघाट फलदायी भएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *