चैत्र शुक्ल एकादशीः सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालमा

डिसी नेपाल
२६ चैत २०८१ २३:०८

काठमाडौं। वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौथो दिन भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ।

पाँचौँ दिन बुधबार रथबाट मूर्ति मन्दिरमा सारिने सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ। रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा बुधबार अन्त्य हुने समितिका संयोजक, काठमाडौं महानगरपालिका–२५ का पूर्ववडाध्यक्ष तथा सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्यले जानकारी दिए।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ। पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो। जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्‍याइएको थियो। जात्राको चौथो दिन आज लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो।

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौथो दिन अन्त्य गरिन्छ। पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ। यसपछि पाँच दिन लामो जात्रा समापन हुने परम्परा रही आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *