काठमाडौंमा मेघगर्जनसहित वर्षा, प्रदूषणबाट राहत मिल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मेघगर्जनसहित वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले देशभर वर्षा भइरहेको हो।
अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ। आज र भोलीसम्म वर्षा हुने र रोकिने क्रम जारी रहने महाशाखाको भनाइ छ।
उच्च प्रदूषण रहेको समयमा परेको पानीले राहत महसुस हुने महाशाखाले जनाएको छ।
लामो समयको सुक्खा र खडेरीलाई वर्षाले केही राहत दिएको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रको थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रमा र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।
Facebook Comment