डोनाल्ड ट्रम्पले मान्छे नै नबस्ने ठाउँलाई पनि कर लगाए !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्छे नै नबस्ने ठाउँमाथि पनि १० प्रतिशर कर लगाएका छन् । ट्रम्पले कर लगाएका ठाउँहरूमा अन्टार्कटिका नजिकै हिमनदीहरूले ढाकिएका र पेन्गुइनहरूको बासस्थान रहेका उजाड, मानव बसोबास नभएका ज्वालामुखी टापुहरूको समूह पनि समावेश छ ।
अष्ट्रेलियाको नियन्त्रणमा रहेका हर्ड आइल्याण्ड र म्याकडोनाल्ड आइल्याण्ड पृथ्वीका सबैभन्दा दुर्गम ठाउँहरू मध्ये एक हुन् । यहाँ अष्ट्रेलियाको पश्चिमी तटमा रहेको पर्थबाट दुई हप्ताको डुङ्गा यात्राबाट मात्र पुग्न सकिन्छ। तिनीहरू पूर्ण रूपमा बसोबासविहीन छन् । यहाँ मानिसहरूको अन्तिम भ्रमण लगभग १० वर्ष अघि भएको विश्वास गरिन्छ।
तैपनि, ह्वाइट हाउसले जारी गरेको “देशहरू” को सूचीमा हर्ड र म्याकडोनाल्ड टापुहरू समावेश छन् जहाँ नयाँ व्यापार शुल्क लगाइनेछ। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले बिहीबार भने “पृथ्वीमा कुनै पनि ठाउँ सुरक्षित छैन।”
हर्ड आइल्याण्ड र म्याकडोनाल्ड आइल्याण्ड ट्यारिफ सूचीमा छुट्टाछुट्टै सूचीबद्ध अष्ट्रेलियाका धेरै “बाह्य क्षेत्रहरू” मध्ये समावेश छन्, जहाँका सामानहरूमा १०% ट्यारिफ लगाइनेछ।
बाह्य क्षेत्रहरू अष्ट्रेलियाको हिस्सा हुन् र स्वशासित होइनन् । संघीय सरकारसँग तिनीहरूको अद्वितीय सम्बन्ध छ। ह्वाइट हाउसको सूचीमा समावेश गरिएका त्यस्ता क्षेत्रहरू कोकोस (किलिङ) टापुहरू , क्रिसमस टापुहरू र नोर्फोक टापुहरू पनि हुन् ।
सिड्नीबाट १,६०० किलोमिटर (१,००० माइल) उत्तर-पूर्वमा अवस्थित २,१८८ जनाको जनसंख्या भएको नोर्फोक टापुमा २९ प्रतिशत कर लगाइएको छ । यो कर अष्ट्रेलियाको बाँकी भागभन्दा १९ प्रतिशत बढी हो ।
अब्जर्भेटरी अफ इकोनोमिक कम्प्लेक्सिटीको तथयांकअनुसार २०२३ मा नोर्फोक आइल्याण्डले अमेरिकामा ६५५,००० अमेरिकी डलर मूल्यका सामानहरू निर्यात गरेको थियो । यीमध्ये सबैभन्दा धेरै ४१३,००० अमेरिकी डलर मूल्यका छालाका जुत्ताहरू थिए ।
तर नोर्फोक टापुका प्रशासक जर्ज प्लान्टले तथ्याङ्कको विरोध गरे। उनले गार्डियनलाई भने “नोर्फोक टापुबाट संयुक्त राज्य अमेरिकामा कुनै ज्ञात निर्यात छैन र नोर्फोक टापुमा आउने सामानहरूमा कुनै शुल्क वा ज्ञात गैर-भन्सार व्यापार अवरोधहरू छैनन्।”
अल्बानीजले बिहीबार भने “नोर्फोक टापुमा २९% कर लगाइएको छ। मलाई पक्का छैन कि नोर्फोक टापु संयुक्त राज्य अमेरिकाको विशाल अर्थतन्त्रसँग व्यापार प्रतिस्पर्धी हो । तर यसले यो तथ्यलाई देखाउँछ कि पृथ्वीमा कुनै पनि ठाउँ यसबाट सुरक्षित छैन।”
हर्ड आइल्याण्ड र म्याकडोनाल्ड आइल्याण्डबाट अमेरिका निर्यातको तथ्याङ्क अझ बढी अन्योलपूर्ण छ। यस क्षेत्रमा माछा मार्ने ठाउँ त छ तर कुनै भवन वा मानव बस्ती छैन।
यसका बाबजुद पनि विश्व बैंकको निर्यात तथ्याङ्क अनुसार अमेरिकाले २०२२ मा हर्ड आइल्याण्ड र म्याकडोनाल्ड आइल्याण्डबाट १.४ मिलियन अमेरिकी डलर बराबरका उत्पादनहरू आयात गरेको थियो । जसमध्ये लगभग सबै “मेसिनरी र विद्युतीय” आयात थिए। ती सामानहरू के हुन् भन्ने कुरा स्पष्ट छैन ।
पाँच वर्ष अघि हर्ड आइल्याण्ड र म्याकडोनाल्ड टापुहरूबाट प्रति वर्ष आयात १५,००० डलरदेखि ३२५,००० डलरसम्म थियो ।
Facebook Comment