मुख्यमन्त्री कँडेलद्वारा वार्षिक कार्य प्रगति सार्वजनिक

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वार्षिक कार्य प्रगति सार्वजनिक गरेका छन्। प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी उनले आफ्नो वार्षिक कार्य प्रगति सार्वजनिक गरेका हुन्।
मुख्यमन्त्री कँडेलको एक वर्षको प्रगति विवरणमा दोस्रो पञ्चवर्षीय योजना, नौ कानुन, १३ कार्यविधि, दुई निर्देशिका निर्माणदेखि सुशासन कायमका साथै दश जिल्लाको भ्रमणलाई समेटिएको छ। जथाभावी बजेट वितरण, आफूखुसी रकमान्तर गर्ने र उपभोक्ता समितिले गर्ने बदमासी नियन्त्रण गरिएको उनले बताए।
सडक, बिजुली, खानेपानी तथा पुल निर्माणका क्षेत्रमा पछिल्लो एक वर्षको अवधिमा भौतिक पूर्वाधारतर्फ कर्णालीमा ९५ किलोमिटर कालोपत्र, २०५ किलोमिटर ग्राभेल, २३ पक्की पुल, ४२ झोलुङ्गे पुल र आठ सार्वजनिक भवन निर्माण भएको कुरा प्रगति विवरणमा उल्लेख छ। यस्तै, जनता आवास (संघतर्फ) ६६१, प्रदेशतर्फ २३१ र ५६ विपन्नका घर निर्माण गरिएको मुख्यमन्त्री कँडेलले बताए।
साउन महिनामै बजेट कार्यान्वयनका लागि मातहतका निकायलाई नौबुँदे प्रतिबद्धता गराएअनुसार ७० प्रतिशत बढी अलपत्र आयोजनाको काम सुरु भएको र चालु आवको फागुन मसान्तसम्म १५ प्रतिशत विकास बजेट खर्च भएको मुख्यमन्त्री कँडेलले बताए। रणनीतिक महत्वका मूलपानी रानीघाट, ताल्चा–रारा–गमगढी, हुम्ला–मानसरोवर प्रवेशद्वार तथा से–फोक्सोण्डो सडक निर्माण कार्य सुरु गरिएको वार्षिक प्रगतिमा उल्लेख छ।
मुख्यमन्त्री कँडेलले चैत मसान्तसम्म ३० प्रतिशत बजेट खर्च हुने जिकिर गर्दै वितरित योजनामा ९० प्रतिशत कार्यान्वयनमा गएकाले असार मसान्तसम्म अधिकांश आयोजनाले पूर्णता पाउने विश्वास व्यक्त गरे। उहाँ २०८० चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका हुन्।
Facebook Comment