कविता : सडक निदाएछ

हिजो पनि मैले
छेवैमा गएर नियालेर
सडक, सडक भनेर बोलाएँ
सडक बोलेन, आँखा खोलेन,
चटपटाएन, चालै पाएन।
मैले सोचें सडक निदाएछ।
कति हाँस-खेल गर्दै बटुवा हिँड्छन्
ठूला-साना वाहन कुद्छन्
खलासीले सडकको जीउ नुहाइदिए
केश कोरी, लुगा धोई सुकिलो बनाए
युगदेखि युगसम्मका कथा सुनाए तर
सडक नबोली-नहाँसी निदाइरह्यो।
जोडी-जोडी प्रेमी-प्रेमिका
माया प्रितिका कथा सुनाउँदै हिँड्छन्
कति धेरै सहनशीलता छ उसको
काउकुती पनि नलागेको
यादै नगरी सडक निदाइरहेको छ।
रातभरि अन्धकार चिरेर लाशहरू
मशानघाटबाट उठेर हिँड्छन् वरपर
दिनभरि जन्तीको लाम
बेहुला-बेहुली लिएर हिँड्छ त्यही
नौमती बाजाले मनै रूवाउँदै
र, पनि बिउँझदैन स*क, निदाइरहन्छ।
के भयो सडक?
के, विसन्चो छौं? भनेर
सोद्धैन पनि कसैले
कोही छैन उसको भनौं भने
उसकै छातिमा हरपल
लाखौं मान्छेको यातायात छ ,
तर, विचरा!
सडक त निदाएको रहेछ भन्थें म
अस्ति नै पो मरेको रहेछ।
(नेपाली भाषी लेखिका दाहाल पश्चिम सिक्किम निवासी हुन्।)
Facebook Comment