संवाद कविता श्रृङखला-८

प्रकाशचन्द्र खतिवडा
३० चैत २०८१ ६:५८

१.

“हेल्लो आर.वी जी
एक विहानै कता?
गुप्तचरहरु यतै कतै बसेका छन्
तपाईंको पिछा भै रहेको छ
तपाईं निर्धक्क नहिड्नोस यसरी
पक्राउ पर्ने खतरा छ”
“अरे अभिलेखजी
पार्टी काममा विहानै हिँडेको छु
गुप्तचरको आँखा छल्नु पर्ला
मेरो पिछा नभएको कहिले छ र?
हिँड्ने मूलबाटो त यही हो
सतर्क भएर नै हिँड्ने गरेको छु।”

२.
“ओ, विनिता मिस
बढुवा भए छ त हैन
बधाइ दिउँकि नदिउँ?
भोज त खानु पर्‍याे
बढुवा पत्र लिनु भो त?
खुशी साट्न कहिले आउँ?”
“हेर्नुन प्रकाश सर
बढुवा त भए छ नि
बधाइ दिनेको लर्को लागेको छ
बढुवा पत्र लिई सकेँ
भोजकै बेला खुशी साटौं
भोजमा निम्ता गरे मैले।”

३.

“हिरामणि भाइ
व्यापार कस्तो चल्दै छ त?
घर पनि किन्यौ अरे
आमाको खबर के छ?
काठमाडौंको बसाइ होला
सहज भएकै छ त ?”
“ए प्रकाश दाइ
व्यापार रामै सँग चलेको छ
दुःख सुख घर किने मैले
आमा ठिक ठिकै हुनु हुन्छ
काठमाडौंको बसाई त्यति सहज कहाँ छ र?
प्रदूषण र महँगीले अस्त व्यस्तमा छ।”

४.
“ओ, कटक सर
झोला झण्डा बोकी कता?
विद्यालय जानु पर्दैैन र?
लर्को सर्को ठुलो छ त
कहाँ जान हिड्नु भा को?
टाढैैको यात्रा हो कि?
“अरे प्रकाश सर
फोला झण्डा बोक्नै पर्‍यो
विद्यालय विदा छ के
लर्को सर्को ठूलै हुल छ
शिक्षक महासंघको आन्दोलन चली रा छ
सहभागी हुन काठमाडौं जानु पर्ने।”

५.

“हैन तपाईंलेत
मोटर साइकल किन्नु भो कि के हो?
कति पैसा हाल्नु भो हौ?
आवत जावत बाक्लै छ त
एक पाइलाको सब्जी पसल जान पनि
मोटर साइकलै चढ्नु भा छ त नि”
“ए कविजी पनि
मोटर साइकल कहाँ किन्नु ?
कौडी सौडी नहुनेले
हाकिम साहेब दानी छन् के
यसो जि हजुरी गरेको त
मोटर साइकल फुत्काइ हाले।”

६.

“ओ विवेक
क्यानडाको बसाइ कस्तो छ त ?
पढाइ कस्तो चल्दै छ नि ?
रिङ्कु के गर्दै छिन्?
नानीहरुको के छ खबर?
नेपालको बसाइ होला नहोला त?
“ए प्रकाश काका
क्यानडाको बसाइ ठिकै छ त
पढाइ राम्रै चली रा छ
रिङकु सपिङ मलमा काम गर्छिन्
नानीहरु स्कुल जाने
भविष्यै छैन नेपालमा के बसाइ होला र त?”

७.
(फोन वार्ता)
“ओइ प्रतिरोध
फोन सोन केही गर्दैनस् त?
सञ्च सुविस्ता के छ हौ?
खान लाउन के गर्दै छौ?
पूजा के गर्दै छिन्?
पढाइ कस्तो चलिरा छ”
“ए बुबा
फोन गरौँ विशेष केही छैन
अहिले सम्म सञ्चै छ नि
खान लाउन दुःखम सुखम चलेकै छ
पूजा डिपाटमेण्ट स्टोरमा काम गर्छिन्
पढाइ राम्रै सँग चलि रा छ।”

८.

(फोन वार्ता)
“ओइ प्रज्ञा
सञ्चै छ त ?
तेरो काम कस्तो छ ?
ज्वाइको पढाइ चल्दै छ त ?
सुखी देशमा बसेका छौ
दुःख पीडा छैन होला ?
“ए बुबा
हामी सञ्चै छौं त
मेरो छुट्टी मिलेको छ
ज्वाइँको पढाइ चलि रा छ
सुखी देशमा बसेका छौं
दुःख पीडा खासै पत्ता फाट हुन्न नि त।”

९.

“फूलमती भाउज्यू
राजनीति कस्ताो चल्दै छ त ?
उप प्रमुख हुनु भा छ
जन गुनासो कति आउँछन्?
न्यायिक समितिको प्रमुख तपाईं
कस्ता कस्ता मुद्दा आउँछन्?”
“प्रकाश सर
राजनीतिको थिति खुस्की सक्यो
उपप्रमुख तपाईहरुले नै बनाउनु भा हो
जनगुनासो व्यापक आउँछन
न्यायिक समितिको प्रमुख हुँ म
घरेलु हिंसाका मुद्धा बढी आउँछन्।”

१०.
‘सांसद ज्यू, नमस्कार
हिजो आज के मा व्यस्त?
नाक मुखै देखाउन छोड्नु भो त
देश कता जाँदैछ ?
राजनीति के भा को यस्तो ?
हामी भेडा बाख्रा हौ त ?
“नमस्कार रामप्यारी बैनी
अध्यादेशले दिमाग खायो
व्यवस्थापिका मै व्यस्त
नाक मुख देखाइ सक्नै छैन
राजनीति त फोहोरको डुङ्गुर भै नै सक्यो
देश त उल्टा दिशामा भौतारि रा छ।”

सुन्दरहरैंचा-६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *