सामन्तवाद दरबारमा होइन, व्यवहारमा देखिने कुरा रहेछ

कृष्ण बोहरा
३ वैशाख २०८२ ८:०४

पञ्चायत कालमा कम्युनिष्ट पार्टीहरु राजतन्त्रको बिरुद्धमा जनतामा घृणा जगाउन निकै सफल रहे। त्यसबेलामा कम्युनिष्ट पार्टीहरुको नारा हुन्थ्यो सामन्तवाद र दलाल नोकरशाही पूँजीवाद- मूर्दावाद! अहिले आएर दलाल नोकरशाही पूँजीवाद शब्द सत्ताको पेरिफेरीमा लागेका सबै कम्युनिष्ट पार्टीहरुको शब्दावलीमै लोप भएको छ।

राजाले भने बेला बेला मुन्टो उठाउने प्रयास गरेका कारण राजतन्त्र र सामन्त शब्द अझै पनि उठ्ने गर्दछ। सामन्तवाद भनेको के हो? भन्ने सन्दर्भमा उठेको प्रश्नहरुमा सामन्तवादको एउटा बिशेषता बाचुन्जेल एउटै व्यक्तिले शासन गर्नु हो। अर्को बिशेषता आलिसान महल र सान शौकतका साथ जीवन बिताउनु हो।

तेस्रो बिशेषता श्रमजीबी बर्ग र श्रमजीबी बर्गको पक्षमा भएको शक्तिलाई निर्मम दमन गर्नु हो। यी तीनवटै बिशेषताले भरिपूर्ण र सुसम्पन्न भएका देखिन्छन्, अहिलेका नेपालका शासक बर्ग कम्युनिष्ट र कांग्रेस पार्टीका उपल्लो तप्काका नेताहरु।

केही यिनै गनेका नेताहरु तीसौं वर्षदेखि सत्तामै पालो फेरोको सिद्धान्तमा शासन सञ्चालन गरिरहेका छन्। यिनीहरु आफू नमरुन्जेल सत्तामा बस्नेछन्। यिनीहरुको ब्यापार ब्यबसाय केही छैन तर पनि आलिसान महलमा आरामदायी जीवन बिताइरहेका छन्। बरु राजाका सम्पत्ति पैत्रिक थिए।

उनका सानसौकत परम्परागत थियो। तर आजका नेताहरुको पुख्र्यौली सम्पत्तिको नाममा केही थिएन। सबै आर्जन भ्रष्टाचार र अपार्दर्शी धनबाट आर्जित हो। केही गर्छु भनि आउने नयाँ युवाहरुलाई पार्टी भित्रै पनि पछि पारिन्छ भने, रवि लामिछाने जस्ता यही व्यवस्थालाई मानेर थिति बदल्छु भनि आएका नव युवालाई भ्रष्टाचार केस लगाएर उल्टै उठ्नै दिएका छैनन्।

रविले भने जस्तो यो भ्रष्ट वर्गीय सत्तामा यति सजिलै थिति किन बदलिन्थ्यो? भ्रष्टाचार कसरी निर्मुल हुन्थ्यो? यसैले आफैं उनी भ्रष्टाचारी राज्य सत्ताको फन्दामा पर्न गए। दलहरु भित्रका ठूला नेताहरुको बाचुन्जेल शासन गर्ने वा पद नछोड्ने, शानसौकत र आलिसान जीवनशैली र उनीहरुको स्वार्थमा धक्का लागेमा निर्मम दमन गर्ने सामन्त शैलीलाई मध्यनजर गर्दा परम्परागत राजसंस्थालाई पनि उछिन्दै लगेको भान पर्नथालेको छ। राम्रा काम गर्ने कुलमान हुन कि बालेन, हर्कसाङपाङ हुन कि गोपी हमाल कसैलाई यो सत्ताले नछोड्ने देखिन्छ।

बरु दरबारमा जन्मेका राजकुमार सिद्धार्थ गौत्तमले मानिस मात्राको कल्याणको निमित्त ज्ञानको खोजीमा दरबार त्याग गरेका थिए। सानसौकत र राजर्षी जीवनशैली सबै त्याग गरे। पुरा ध्यान ज्ञानको खोजीमा लगाउँदै बाच्नको लागि भिक्षा माग्दै हिँडे उनी। यस उदाहरणबाट के बुझिन्छ भने सामन्तवाद दरबारमा हैन ब्यबहारमा देखिने कुरा रहेछ।
उच्च निच जात र छुवाछिटो प्रथा सामन्तवादको अर्को बिशेषता हो। तर बडामाहाराज पृथ्वीनारायण शाहका युवराज छँदाका बाल सखा नै बिसे नगर्ची थिए। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने सिलसिलामा आर्थिक समस्या कसरी हल गर्ने भन्ने सल्लाह लिन सबैभन्दा पहिले उनैकहाँ गएका थिए।

बिसे नगर्चीले घरभित्र पसी रु. एकको सिक्का पृथ्वी नारायण शाहको हातमा थमाइ दिँदा पहिले त पृथ्वी नारायण शाह उनीसँग रिसाए पनि, पछि बिसेले सम्झाउँदै यसै गरी सबै रैतीहरुसँग एक एक सिक्का उठाउँदा नेपाल एकीकरणका लागि खर्च पुग्ने कुरा सुझाए पछि राजाले हँसिलो मुद्रामा साथीलाई धन्यबाद दिएका थिए। पछि यो नीति र अभियानले नेपाल एकीकरणमा निकै उर्जा मिलेको कुरा इतिहासमा पढ्न पाइन्छ।

यस्तै गरेर नेपालमा भारतीय हस्तक्षेप सहन गर्न नसकी राजा महेन्द्रले चिनियाँ सहयोगका लागि हात अगाडि बढाए। अध्यक्ष माओसँग चीनमा कृषि क्षेत्रको बिकास र किसानको उन्नती र प्रगतीको बारेमा प्रश्न गर्दा माओले नेपालमा भूमि सुधार लागू गर्न महेन्द्रलाई सुझाएका थिए।

राजा महेन्द्रले माओ कै सल्लाह अनुसार भूमि सुधार ऐन ल्याएका हुन्। यस ऐनमा हदबन्दी भन्दा बढी जग्गा राख्न नपाइने र मोहियानी हकको संरक्षण गर्ने कानुन ल्याएका थिए। त्यो कम्यूनिष्ट शासन शैलीको जोत्नेलाई जमिन कै अबधारणा थियो। कर्मचारीहरु गाउँमा काम गर्न जाँदा जमिन्दार कहाँ हैन किसान कहाँ बस्नुपर्ने उर्दी जारी थियो।

राजा महेन्द्र यस कार्यमा कति सफल भए कति असफल भए आफ्नो ठाउँमा होला तर उनले प्रयास भने गरेका हुन्। सामन्तवादको मुख्य आधार भनेकै भूमि हो। भूमिपतिको आधार स्तम्भ हुन राजा तर देसको बिकास र समृद्धिको भुत चढेको बेला राजा स्वयंले किसानको हित र उन्नतीको लागि काम गर्ने यो प्रयासलाई तपाईं के भन्नुहुन्छ ? आजका नेताहरुको यो जीवनशैली र ब्यबहार, राजाको समृद्धिको त्यो चाहनालाई नियाल्दा फेरि पनि भन्न सकिन्छ सामन्तवाद दरबारमा हैन ब्यबहारमा देखिन्छ।

माओसँगको राजा महेन्द्रको सहकार्यको इतिहासलाई हेरेर चिनियाँहरुको नेपालको राजसंस्थाप्रति हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक छ। चिनियाँ कुटनीतिक नियोगमार्फत नेपाली नेताहरुलाई चीनले जहिलेपनि नेपालको राजसंस्था देशभक्त भएका कारण राजसंस्थालाई पनि सँगै लान सुझाउ दिइरहेका हुन्छन्।

राजा महेन्द्रको बि.स. २०१७ साल पछिको दश बर्षमा नेपालको हित र उन्नतिमा धेरै कामहरु भए। मित्र राष्ट्ररुको सहयोगमा धेरैवटा राष्ट्रिय उद्योगहरु खोलिए। पूर्वदेखि पश्चिम सीमासम्म जाँदा भारतीय भूमिको प्रयोग गर्नु नपरोस् भनेर पूर्वपश्चिम राजमार्ग बनाए।

देशका अरु पनि महत्वपूर्ण राजमार्गहरु बनाए। नेपालको उत्तरी सिमामा रहेको १७ बटा भारतीय चेकपोष्टहरु हटाइए। नेपालको क्याबिनेट बैठकमा भारतीय प्रतिनिधि बस्ने परम्परालाई हटाइदिए। यसरी राजा महेन्द्रको शासन कालमा राष्ट्रियताको पक्षमा महत्वपूर्ण कामहरु भएका थिए।

जसबाट प्रभावित भै नेपाली कम्युनिष्ट आन्दोलनमा केही हिस्सा त्यसबखत देश बिकासका लागि राजामा समाहित भएका देखिन्छन्। डा.केसरजंग रायमाझीहरु पनि यसैबेला राजाका पक्षमा गएका हुन्।

अर्का एक पात्र खड्गबहादुर जीसीसँग मेरो आजभन्दा पाँच सात बर्ष अघि कपन काठमाडौंमा भेट भएको थियो। जाडोको समय घाम ताप्न र गफ गर्न जाने स्थान सधैं एउटै हुने गर्दथ्यो। उनी पञ्चायत कालमा पटक पटक अञ्चलाधीश भएका ब्यक्ति हुन्।

राजा वीरेन्द्रका बिश्वास पात्र पनि हुन। उनको भनाइ अनुसार उनी पनि कुनैबेला कम्युनिष्ट बिचारलाई मान्दथे। यही सिलसिलामा उनी मनोमोहन अधिकारीसँग सँगै जेल पनि बसेका हुन्। बिद्यार्थी जीवनमा अनेरास्वबियूमा लागेका उनी एस.एल.सी. परीक्षाका बोर्ड टपर पनि हुन्।

पछि कम्युनिष्टहरुका कार्यक्रम पनि सिथिल हुँदै गएको र राजा महेन्द्रले देशको हितमा काम गर्न थालेकाले राजाको पक्षमा गएको ब्यक्ति हुँ म भनि आफ्नो नालीबेली सबै खोलेका थिए। तीन आना जमिनमा बनेको भुइँतले तीन कोठाको घरमा सामान्य जीवन गुजारिरहेका उनको दिनचर्या हेर्दा उनीलाई सानसौकत पनि नचाहिने ब्यक्ति रहेछन् भन्ने सजिलै बुझ्न सकिन्थ्यो।

आजकल एउटा गाउँपालिका अध्यक्षले आफ्नो कार्यकाल सम्पन्न गरिसक्दा दस बाह्र कोठा भएको चार पाँच आना जमिनमा बनेको तीन तले तीन चार करोडको घर जोडेका उदाहरण पनि छन्। जसको पैत्रिक सम्पत्ति खान पनि नपुग्ने अबस्थाका थिए। यसबाट बुझिन्छ कि भ्रष्टाचार के हो? गणतन्त्र कता गैरहेको छ?

उनै खड्गबहादुर जीसी भन्छन्, “चाबहिलको आमसभामा मदन भण्डारीले माहाराज आँखा नचम्काइबक्स्योस, हात नलम्काइबक्स्योस्! चुनाव लड्ने भए श्रीपेज फुकालेर आइबक्स्योस् भनि भाषण गरीसकेपछि दरबारमा निकै हल्लीखल्ली भयो।भारदारहरुको मिटिङ नै बसेको थियो। सबै भारदारहरुले मदन भण्डारीले राजालाई अपशब्द प्रयोग गरेकाले कारवाही गर्नुपर्ने बिचार ब्यक्त गरेका थिए। अन्त्यमा मलाई राजाले राय मागी बक्सदा मैले मदन भण्डारीले राजालाई कुनै अपमान गरेका छैनन्।नत्र श्रीपेज फुकालेर आइस्योस भन्ने थिएनन्। श्रीपेजको उनले सम्मान गरेका छन्। श्रीपेज फुकालेका कुनै ब्यक्तिले चुनावमा उनको बिरुद्धमा कसैलाई सघाएको भान उनीलाई प¥यो होला, यसैले उनले त्यो अभिब्यक्ति दिएका हुन भन्ने राय टकर्‍याएँ। यसपछि राजा वीरेन्द्रले जीसी इज करेक्ट भनिबक्स्यो। अरु भारदारहरु दंग परे। पछि मदन भण्डारीको दासढुंगामा जीवन लिला समाप्त भइसकेपछि पनि राजा वीरेन्द्रले मेरो आफ्नै परिवारको सदस्यको मृत्यु भएको जस्तै निकै खातिर मानेको कुरा अभिब्यक्त गरिबक्सेको थियो।” भनी बताएका थिए। यसबाट राजा वीरेन्द्र पनि आफ्ना बिरोधी जस्ता लाग्ने सबैको आवेसमा आएर बिरोध नगरी हाल्ने प्रबृतिका भद्र राजा थिए भन्न हामीलाई करै लाग्छ।

मदन भण्डारी स्वयंमले भन्नु भएको थियो, “एक जना राजा रहनु र नरहनुले कुनै फरक पार्दैन तर सामन्तवाद र नोकरशाही तथा दलाल पूँजीबाद रहेसम्म जनताको जनजीवनमा कुनै पनि परिवर्तन आउँदैन।” मदनको यो भनाई हामीलाई अहिले पनि खड्कीरहेको छ। अहिले राजा त छैनन नै तर जनताको जनजीवनमा परिवर्तन आउने कुनै संकेत छैन।

ब्यबस्था बदलियो तर अवस्था बदलिएन। रोजगारी खोज्न युवा खाडीमा पलायन भैरहेका छन्। यो क्रम रोकिने कुनै छाँटकाट छैन। हिजोका क्रान्तिकारी आजको सत्तासिन बर्ग स्वयंले सामन्तवादको बिँडो थामीरहेका छन्। सामन्तवाद दरबारमा पाइने कुरा हो भन्ने भ्रममा राजसंस्था फाल्न लागिपरेका हामी सबैले आफ्नो केस फुलीसकेपछि मात्र सामन्तवाद दरबारमा हैन ब्यबहारमा देखिने कुरा रहेछ भन्ने बुझ्न ढिलो गरेर मात्र समर्थ भएका छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *