फर्केर हेर्दा : २०८१ साल

हरेक नवीन दिनसँगै नयाँ अपेक्षा, आशा जागृत हुनु स्वभाविकै हो। विहानीले दिनको लक्षण देखाउँछ। २०८१साल मेरो तीर्थाटन वर्ष बन्न गयो।
नेपालका बिभिन्न स्थानको धार्मिक स्थलहरु र छिमेकी मुलुक भारतका हरिद्वार, ऋषिकेश, मथुरा, प्रयागराज , अयोध्या लगायतका मठमन्दिरहरुको दर्शन पूजा अर्चना गर्ने औवसर प्राप्त भयो। नयाँ वर्षको सम्मुखमा राजनीतिक अन्योलता कायमै छ।
संबैधानिक राजतन्त्र, हिन्दुराज्य पुनःस्थापनाको विषयले सडक सदन तताएको छ। यस वर्षको उत्तराद्र्धमा राजसंस्था पुनस्थापनाको आन्दोलनले चर्काे रुप लिएको छ। नयाँ संविधान जारी भइ कार्यान्वन भइसक्दा पनि अहिले राजतन्त्र र गणतन्त्रको मुद्दा बहसको विषय बनेको छ।
राजनीतिक उतारचढावका साथ गुज्रिएको यस वर्ष खासै उल्लेख्य स्मरणयोग्य हुन सकेन। सत्ता राजनीतिमा केन्द्रित दल र तिनका नेताहरुले मुलुकका लागि उपलब्धिमूलक कार्य गरेको जनस्तरबाट अनुभूति हुन सकेन।
नेपालका ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणमा नयाँ सरकार बनेको छ। समीकरण अदल बदलले नेपाली राजनीतिमा सदैब अस्थिरता मडारिने संशयलाई केही हदसम्म स्थिरता आउने लक्षण देखाए पनि बिश्वास गर्न सकिने बातावरण बनाउन सकेनन्।
यस वर्ष राष्ट्रिय राजनीतिमा स्थापित नेताहरु विभिन्न काण्डले राजनीतिक सक्रियताबाट गुमनाम भएका छन्। केही शीर्ष नेताहरु भ्रष्टाचार काण्डमा मुछिन पुगे। प्राकृतिक विपत्तिले मानवीय क्षति भयो। बाढी, पहिरो, भारी वर्षा, आगलागी, चट्याङ, हिमपहिरोले, ठूलो धनजनको क्षति भयो।
रसियन सेनामा नेपालीको निधन लगायतका दःखदायी घटना भए। हवाइ मार्ग पनि सुरक्षित हुन सकेन। सडक र हवाई दुर्घटनाबाट धेरैले ज्यान गुमाए। शारांशमा यस वर्ष नेपाल र नेपालीकालागी स्मरणीय रहन सकेन। सधैंको राजनीतिक अस्थिरताले आजित नेपालीजनले यस वर्ष त्यसबाट मुक्त हुन नसकेको घटनाक्रमले दर्शाउँछ।
राजनीतिक संक्रमणले लामो समय लिनु शुभ मानिँदैन। जति जति संक्रमणकाल लम्बिदै जान्छ त्यतित्यति जटिलता थपिँदै जाने कुरा अकाट्य नै हो। यति कुरा बुझ्दा बुझ्दै पनि स्वार्थका पछाडि दौडिएका दलहरुले त्यागको राजनीति गर्न कहिल्यै जानेनन्।
फलस्वरुप राजनीतिक दलप्रति जनताको विश्वास तथा समर्थन घट्दै गइरहेको पनि प्रष्ट देखिन्छ। विश्वास हराउँदै गए पछिको आक्रोशित जनवललाई आफ्नो पक्षमा ल्याउन दरिलो अस्त्रको खोजी बिणा सम्भव देखिन्न।
यो वर्ष मुलुककोलागी सुखद् रहन सकेन राजनीतिक उतार चढावले पनि मुलुक निकै तातियो। रोग, भोक सन्त्रासले बाचेका जनता राजतन्त्रको आन्दोलनमा होमिएका छन्। राजनीतिले राष्ट्रिय एजेण्डा भन्दा यहा व्यक्तिगत एजेण्डाले प्राथामिकता पाए।
राजनीतिक दलहरुलाई जनताले दिएको म्यान्डेट नेताका लागि स्वार्थसिद्धमा सिमित रहयो। सडक, सदन र सत्तामा उद्घोष हुने नेताहरुको अभिव्यक्ति फरक-फरक हुन थाले।
उनीहरुले जनतालाई गुमराहमा पार्दै अलमलाइ राखे। जनताको सोझोपनको फाइदा उठाइरहे। वास्तविक लडाई केही थिएन तर मुलुकको अर्थतन्त्र ठप्प भयो। यसको हिसाव किताव कसले माग्ने। लेखाजोखा गर्ने नीकाय नै नभएपछि नेताहरु लगाम बिणाका घोडा जस्ता भएका छन् जता दौडिए पनि हुने।।
आफ्ना हक अधिकारका लागि आन्दोलन गर्दै आएका जनताले सत्तासीनबाट पटक पटक धोका पाएपछि वि.सं. १९९७ देखि हालसम्म अधिकारकै लागि राजनीतिक क्रान्तिले विश्राम लिनसकेको छैन। राजनीतिक ब्यबस्था परिवर्तनलाई उपलब्धी मान्ने जनताले यसपटक पनि राजनीतिक दलहरुबाट धोका पाउने निश्चित प्रायः भइसकेको छ।
समग्रमा भन्दा बि.स २०८१ नेपाल र नेपालीका लागि मिश्रित नै रहयो। यसैबीचमा समयको चक्रसँगै २०८२ आइरहेको छ। आगामी २०८२ साल सुखद् बन्ने आम नेपाली जनको अपेक्षा छ। नयाँ वर्ष सबै नेपालीका लागि सुखद् र नेपाली राजनीति स्थिर बनोस् भन्ने सबैको चाहना छ।
विगतका अस्थिरता र सत्ता प्राप्तिको खेलले नेपाली जनता आक्रान्त छन्। दैनिक जिवीकोपार्जनका लागि विदेशिनुपर्ने अवस्था गएको वर्ष पनि निकै बढोत्तरी भएको छ। स्वदेशमै रोजगारीको अवसर र जनतालाई राज्यको अनुभूति गराउन चुकेका दलहरुले आगामी वर्ष त्यसतर्फ ध्यान दिने आम जनताको अपेक्षा छ।
विगतदेखि अस्थिरता र राज्यविहीनताले प्रताडित नेपालीहरुले अबको नयाँ वर्ष मुलुकका लागि राजनीतिक स्थायित्व र जनतालाई स्वदेशमा बस्ने वातावरण राज्यले सिर्जना गर्नेमा आशावादी देखिएका छन्।नेताहरुमा देखिएको मनमुटाबलाई तिलाञ्जलि दिइ सहमतिको राजनीतिलाई विकसित तुल्याउन सकोस्।
जनभावनालाई सम्झौता गर्ने दलीय प्रवृतिमा सम्मान गर्ने शक्ति मिलोस्। सहमति र सहकार्यले दलहरुको मन जित्न सफल भइ देशको समग्र बिकास सुशासन होस यही नै हाम्रो नयाँ वर्षको शुभकामना…।
Facebook Comment