‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ ओटिटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज

डिसी नेपाल
१ वैशाख २०८२ १२:०३

काठमाडौं। नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ले नयाँ वर्ष २०८२ को पावन अवसर पारेर दुई ब्लकबस्टर चलचित्रहरू ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ। नेपालमा हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी रिलिज भएका यी दुवै चलचित्रले नेपाली समाजका गहिरा सामाजिक पक्षहरूलाई उजागर गरेका छन्।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको ‘बोक्सीको घर’ चलचित्रले नेपाली समाजमा विद्यमान ‘बोक्सी’ भन्ने कुप्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ। चलचित्रमा अभिनेत्री केकी अधिकारीले मुख्य भूमिका निर्वाह गरेकी छन्, जसमा उनले बोक्सीको आरोप खेप्नुपरेकी एक महिलाको पीडादायी अनुभवलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन्।

यो चलचित्र २०८१ वैशाख १४ गते हलमा प्रदर्शनमा आएको थियो र ५१ औँ दिनसम्म प्रदर्शनमा रही व्यावसायिक रूपमा सफल भएको थियो। यस चलचित्रमा बालविवाह भएकी बालिका, उनीमाथि लागेको बोक्सीको आरोप, पिपलको रुखलाई प्रयोग गरेर बोक्सीको आरोप लगाइएकी महिला पात्र, र समाजले गर्ने शोषणको कथालाई मुख्य विषय बनाइएको छ।

यस्तै, उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘मनसरा’ चलचित्रले ग्रामीण जीवनको संवेदनशील पक्षहरूलाई उजागर गरेको छ । यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, र प्रवीण खतिवडाले मुख्य भूमिका निर्वाह गरेका छन्। यो चलचित्र २०८१ साल वैशाख २१ गते हलमा रिलिज भएको थियो । यस चलचित्रमा काठ क्षेत्रका गरिखाने वर्ग र उनीहरूको सम्बन्धको आयामलाई देख्न सकिन्छ।

‘सिनेमाघर’ नेपालकै अग्रणी ओटिटी प्लेटफर्म हो, जसले नेपाली चलचित्रहरूलाई डिजिटल माध्यमबाट दर्शकहरूसम्म पुर्‍याउने कार्य गर्दै आएको छ । यस प्लेटफर्मले नेपाली चलचित्र उद्योगलाई डिजिटल युगमा प्रवेश गराउने महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सिनेमाघरको एप एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध छ भने ल्यापटप तथा डेस्कटपमा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ । यसमा चलचित्र हेर्न चाहने दर्शकले संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड प्रयोग गरी एवम् नेपाल तथा भारतबाट सरल रूपमा विभिन्न डिजिटल वालेटहरू तथा क्युआर कोड भुक्तानी गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *