नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान

डिसी नेपाल
२ वैशाख २०८२ १२:३६

नवलपुर (नवलपरासी) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैंडाकोटबाट सुरु भएको छ। झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो।

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैंडाकोट आइपुगेको थियो। नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताएका थिए। गैंडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको अध्यक्ष दाहालको भनाइ थियो।

अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैंडाकोट–४ को गैंडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ। उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’ गरेको माओवादी केन्द्र गैंडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए। अभियानका क्रममा अध्यक्ष दाहालले गैंडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका थिए।

अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गर्नुभएको थियो। माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी छन्।

अध्यक्ष दाहालले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *