लघुकथा : मगन्ते

खेमराज पोखरेल
१३ वैशाख २०८२ ७:२३

मगन्ते नं. १

शङ्खपार्कमा मर्निङ वाक सकेर स्याँस्याँ फ्याँफ्याँ गर्दै निस्किएका सबै खाले मानिसहरूको आँखा गेट बाहिर रहेका फलफूल, तरकारी, ग्रिन टी, एलोभेरा जुस तथा अनेकौं स्वास्थ्यवर्धक अग्र्यानिक सामग्रीहरूमा नपरी छाड्दैन।

फलफूल बेच्न राखेको पसले नजिकै आएर एउटी मगन्ते आमै :
‘एउटा फल दिनुस्न बाबु, भगवान्लाई चढाउ’

पसले एउटा बोक्रा कालो भइसकेको केरा दिँदै ‘लु, लिनुुस्’
मगन्ते आमै ‘एउटा नासपाती पनि दिनुस्न, यसो खानलाई’
पसले ‘आमै तपाईंको दाँत छैन, नासपाती खान सक्नुहुन्न’
मगन्ते आमै ‘मेरो छोरालाई नासपाती मनपर्छ’

पसलेले खराब हुनै लागेको नासपाती झिकेर दुई दाना दिँदै भन्यो ‘ल आमै अब चैँ जानुस् ल।’

मगन्ते आमैले फेरि स्याउ पनि मागिन् ‘स्याउ मेरो नातिलाई सधैँ खान पर्छ, दिनुस्न बाबु’
झण्डै बिग्रिसकेका दुई दाना स्याउ पाएपछि आमै भन्न थालिन् ‘ए बाबु, यी सबै बिग्रिएका केरा, नासपाती र स्याउ दियौ, के हाम्रो स्वास्थ्यको कुनै मतलब छैन ?’

पसले भन्न थाल्यो ‘नलानुस्न त आमै, मैले लान कर गरेको छ र ?’
आमै भन्न थालिन् ‘होइन बाबु, यस्ता फलफूल बेच्न हुन्न क्या। मलाई सबै दिनुहोस्। मेरी बुहारीले यसको असाध्यै राम्रो जाँड बनाउँछिन्।’

पसले र वरिपरिका अन्य ग्राहक हेरेको हेर्यै भए।

मगन्ते नं. २

भरखरै भुईँचालो गएको थियो। दातालाई बिचमा राखेर मगन्तेहरू बिन्तीभाउ गर्दै थिए ‘ऐतिहासिक धरोहर धरहरा भत्क्यो हजुर’
दातालाई दया लागे छ ‘दस करोड दिन्छु।’

मगन्तेको अनुहारमा चमक दौडियो ‘हजुर गोरखाको बारपाक त ध्वस्त नै भयो, पुनर्निर्माण गर्नु छ।’
दयालु मनको दाताको मन फुरेछ ‘ल बिस करोड दिन्छु।’

यसैगरी मगन्तेले दाता समक्ष लस्करै याचना गरे ‘गरिब प्रबर चालिस जिल्ला नै ध्वस्त भएको छ, स्कुल, कलेज, सरकारी अफिस, बाटोघाटो सबैका सबै ध्वस्त भए, हामी त उठ्न नसक्ने गरी बरबाद भयौं।’

दाता ‘ल पाँच अरब दिन्छु’ भनी मगन्तेसँग फुत्किन खोज्यो।

मगन्तेले हतार हतार अर्को बिन्ती बिसायो ‘दीनदयालु टट्टी व्यवस्थापन पनि गरिदिनु प¥यो।’

मगन्तेको यो ताल देखेर दाताले लामो सास फे¥यो र मनमनै भन्यो ‘यिनलाई खुवाइदिएर मात्र हुन्न, टट्टी पनि गराइदिनु पर्छ।’

मगन्तेहरूले भने कुटिल मुस्कानका साथ दाताको अनुहारमा हेरिरहे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *