६ घण्टामा पूरै भवन निर्माण गरेर विश्वरेकर्ड

काठमाडौं । राति अन्तिम रेल जाँदा पुरानो स्टेशन भवन उभिरहेको थियो। ६ घण्टा पछि भोलिपल्ट बिहान पहिलो रेल आइपुग्दा त्यहाँ पुरानो भवनको ठाउँमा नयाँ भवन थियो । यो उपलब्धि जापानमा भएको हो । यहाँ, पुरानो काठको स्टेशन भवनको सट्टा संसारको पहिलो थ्रीडी-प्रिन्टेड रेलवे स्टेशन केवल छ घण्टामा बनाइएको हो ।
बगैंचाको शेड जस्तो देखिने नयाँ रेलवे स्टेशन ओसाकाको दक्षिणमा रहेको ग्रामीण क्षेत्र एरिडामा निर्माण गरिएको हो । यसमा थ्रीडी-प्रिन्टेड मोर्टार मोल्डहरू प्रयोग गरिएको जुन ट्रकहरूले जडानका लागि ल्याइएका थिए। क्रेनको सहयोगमा रातभरि जडानको काम जारी रह्यो। अन्तिम रेल छुटेको समयदेखि भोलिपल्ट बिहान पहिलो रेल आइपुग्दासम्म स्टेशन निर्माण पूरा भएको थियो।
द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार नयाँ संरचना २.६ मिटर अग्लो छ। यसले १०० वर्ग फिट क्षेत्रफल ओगटेको छ र प्रबलित कंक्रीटबाट बनेको छ। पश्चिम जापान रेलवे कम्पनी (जेआर वेस्ट) ले गत महिना सम्पन्न भएको यो स्टेशन एरिडामा विश्वकै पहिलो किसिमको स्टेशन भएको बताएको छ। एरिडा एक स्थानीय माछा मार्ने बन्दरगाह हो जुन यसको मनमोहक पर्वत शृङ्खलाको लागि परिचित छ।
परियोजनामा पश्चिम जापान रेलवेसँग काम गर्ने जापानी आवास फर्म सेरेन्डिक्सले नयाँ संरचनामा छाना र पर्खाल सहित चार भागहरू रहेको र प्रबलित कंक्रीट घरहरू जत्तिकै भूकम्प प्रतिरोधी रहेको बताएको छ। भवनको निर्माण सम्पन्न भए पनि टिकट मेसिन र कार्ड रिडर जस्ता चीजहरू अझै पनि जडान भइरहेका छन् र यो जुलाई २०२५ मा जनताका लागि खुला हुने अपेक्षा गरिएको छ।
संरचनाको आन्तरिक काम पूरा भएपछि र टिकट मेसिनहरू जडान भएपछि ७५ वर्षभन्दा बढी समयदेखि प्रयोगमा रहेको काठको संरचना भत्काइनेछ। एक रेलवे अधिकारीले बताएअनुसार सामान्यतया यस्तो स्टेशन भवन बनाउन लगभग दुई महिना लाग्छ ।
Facebook Comment