भरतपुरमा एमालेको युवासंघले निकाल्यो र्‍याली

डिसी नेपाल
४ वैशाख २०८२ १७:४४

चितवन । भरतपुरमा बनेको सिक्स लेन सडकमा आज एमालेको युवा संघले मोटरसाइकल र्‍याली निकालेको छ।

राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीको आयोजनामा गोन्द्राङ्देखि पुल्चोकसम्म आज दिउँसो २:३० बजेबाट मोटरसाइकल र्‍याली निकालिएको हो।

गोन्द्राङ्बाट सुरु भएको र्याली चौबिसकोठी, शहिद चोक हुँदै पुल्चोक पुगेर पुनः चौबिसकोठीमा आएर कोण सभामा परिणत भएको थियो।

कोण सभालाई नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक र निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले संवोधन गरे।

कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाठकले भरतपुरको सिक्स लेन सडक केपी शर्मा ओलीले बनाएको बताउँदै यसमा रेनु दाहालले जस लिनका लागि भ्रम छरिरहेको बताए। देशभरका राजमार्ग विस्तार गर्ने राष्ट्रिय योजना अन्तर्गत भरतपुरको पुल्चोक गोन्द्राङ् सडकखण्ड विस्तारको कामलाई तत्कालीन ओली नेतृत्वको सरकारले अघि बढाएको उनले बताए।

संघीय सरकारको बजेटमा संघ अन्तर्गतको कार्यालय सडक डिभिजन भरतपुरमार्फत सडक विस्तार गरिएकाले यसमा स्थानीय सरकारले जस लिन कुनै ठाउँ नै नरहेको उनले बताए।

भोलि नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उद्घाटन साथै भरतपुरको सिक्स लेन सडकको उद्घाटन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेकाले दुबै कार्यक्रमको प्रचार र प्रधानमन्त्रीको स्वागतका लागि मोटरसाइकल र्याली निकालिएको राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए। अध्यक्ष कार्कीले र्‍यालीमा सहभागि हुने सम्पूर्ण नेता कार्यकर्ताहरुलाई धन्यवाद व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *