सगरमाथा संवाद जोड्दै थामेको जलवायु सम्मेलन

काठमाडौं। सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा सोलुखुम्बुको थामेमा हुन लागेको आरोही सम्मेलन (समिर्टस् समिट) जोडिएको छ।
जलवायु न्यायका लागि तिनै तहका सरकारसँगको समन्वयमा यही वैशाख ९ गते थामेमा सम्मेलन हुँदैछ।
जलवायु न्यायको क्षेत्रमा कार्यरत संस्था साथसाथै फाउण्डेसनले आयोजना गरेको उक्त सम्मेलनमा देश, विदेशको परिचित हिमाल आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच प्यानल छलफल हुँदैछ।
विभिन्न क्षेत्रमा सक्रिय महिला नेतृत्वहरुको समेत सहभागी र अगुवाई रहेको साथसाथै फाउण्डेशनले गर्न लागेको सम्मेलनलाई बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सगरमाथा संवाद सचिवालयले अपनत्व लिएको हो।
‘सगरमाथा संवाद हुनु अघि जलवायु न्यायका लागि हामीले गर्नुपर्ने तयारी, उठाउनुपर्ने विषय र हिमालका मुद्धा एकिकृत गर्न प्रभावित क्षेत्रमै पुगेर आरोही सम्मेलन गर्न लागेका हौं । यो कार्यक्रमका लागि सरोकारवाला संघसंस्थासहित सरकारले पनि अपनत्व लिएकोमा हामी उत्साहित छौं, सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले भनिन्।
सम्मेलनमा सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थामी, नेपालका चर्चित आरोहीहरु कामारिता शेर्पा, मिंङमा डेविड शेर्पा, तेम्वाछिरी शेर्पा, माया गुरुङसहित सहभागिता हुँदैछन् ।
संघीय वन तथा भूसंरक्षण मन्त्रालय, कोशी प्रदेश सरकार र स्थानीय सोलुखुम्वुको खुम्बु पासांग ल्हामु गाउँपालिकाको समेत सहआयोजनामा हुने यो कार्यक्रममा जलवायु परिवर्तनका कारण गत वर्ष हिमपहिरो गई समस्यामा परेका पीडितको समेत उल्लेख्य सहभागिता हुने आयोजकले जनाएको छ । समिटर्स् समिट, अ डायलग फर क्याइमेट जस्टिस् शिर्षकको यो सम्मेलनकै क्रममा
स्थानीय गाउँपालिकासहित आयोजकले गत वर्ष हिम पहिरो जानुको कारण, त्यसले अरु भूभागमा परेका असर र समाधानका लागि समेत यो कार्यक्रमलाई अर्थपूर्ण रुपमा लिएका छन् ।
आयोजकले गत वर्षको पहिरोले पुर्याएको क्षति र अब त्यस भेगमा दुखद अवस्था नआउन विज्ञहरु सहित सहभागी गराएर अध्ययन अनुसन्धानको कार्यलाई समेत अघि बढाएको छ ।
त्यसमा काठमाडौं विश्वविद्यालय र अन्य सम्बद्ध निकायमा प्रक्रिया अघि बढिरहेको जानकारी अध्यक्ष कार्कीले दिइन्।
यो कार्यक्रममा नेपाल पर्यटन वोर्ड, नेपाल पर्वतारोहण संघ, टेवा, नेप्लीज युथ फर क्लाइमेट एक्सन (एनवाईसिए) सहितका संघसंस्था सहआयोजकका रुपमा जोडिएका छन् ।
कार्यक्रमको स्थानीय तह र क्षेत्रमा समेत ब्यापक तयारी भइरहेको र सरकारलाई उचित सहयोग हुने गरी आरोही र विज्ञहरु जुटाउने काम भइरहेको जानकारी थामे क्षेत्रको खुम्बु पासांग ल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरिङ शेर्पाले बताए।
उनले यो कार्यक्रमलाई ब्यापक सफल बनाउनु भनेको सगरमाथा संवादमार्फत नेपालको जलवायुको मुद्धालाई अन्तराष्टियकरण हुने भएकाले सबैको सहयोग हुने अपेक्षा समेत गरे।
वैशाख ९ गते थामेको उक्त आरोही सम्मेलनमा सरकारको उच्च तहको सहभागिता गराउने तयारी समेत छ। नेपाल सरकारले यही जेठ २ गतेदेखि ४ गतेसम्म जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य शीर्षकमा विभिन्न देशको सहभागिता हुने गरी सगरमाथा संवाद आयोजना गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाई र सक्रियतामा यो संवाद तय भएको हो।
Facebook Comment