नेपाल महोत्सव-२०२५ नयाँ दिल्लीमा सम्पन्न, भारतीय ब्यापारीहरु नेपालमा लगानी गर्न इच्छुक

सुवास बस्नेत
५ वैशाख २०८२ १०:५८

नयाँ दिल्ली। नेपाल महोत्सव-२०२५ नयाँ दिल्लीमा सम्पन्न भएको छ। यही ११ देखि १३ अप्रिल २०२५ मा नयाँ दिल्लीमा आयोजित नेपाल भारत व्यापार मेला सम्भवत पहिलो मेला हो।

नेपाल र भारतका व्यवसायी र कलाकारहरूको जमघटसँगै भारतको दिल्लीमा आयोजित पहिलो ‘नेपाल महोत्सव- २०२५’ सम्पन्न भएको छ। भारतमा रहेका नेपाली ब्यबसायीहरुको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज र नेपाली राजदूतावास, नयाँ दिल्लीको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

भारतमा कार्यरत विभिन्न सामाजिक संघ संस्था, राजनीतिक पार्टीका जनवर्गीय संगठन, साथै भारतमा बसोवास गर्दै आएका नेपालीहरूको साझा पहलमा नेपाल महोत्सव-२०२५ आयोजना भएको छ।

तीन दिनसम्म आयोजित नेपाल महोत्सवमा नेपाल र भारतका व्यवसायी र कलाकारहरू समेत सहभागी भएका थिए। भारतमा रहेका स्थानीय नेपालीहरुले महोत्सव सफल पार्नमा अहम भूमिका खेलेका छन्।

भारत सरकारका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत र नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गरेका थिए।

साथै भारतका लागि नेपाली राजदुत डा. शंकर प्रसाद शर्मा र ईसीसीआइका अध्यक्ष युवराज बरालले मन्त्रि द्वयलाइ स्वागत गरेका थिए। महोत्सवको दोस्रो दिनको विशेष कार्यक्रममा १२ वटा देशका राजदूतहरूको उपस्थिति रहेको थिए। युक्त कार्यक्रमलाइ विशेष अतिथि सांसद अशोककुमार रावतले सम्बोधन गरेका थिए।

भारतका लागि नेपाली राजदुत डा. शंकर प्रसाद शर्माले नेपाल महोत्सव नेपाल र भारतबीच व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र अध्यात्ममार्फत नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउन नेपाल महोत्सव सफल भएको बताएका छन् ।

महोत्सवको मुख्य आयोजक एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका अध्यक्ष युवराज बरालले नेपाल र भारतबीच व्यापार प्रवर्दनमा महोत्सव एक कडी हुने बताए, साथै भारतीय ब्यापारीहरु समेत नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन्।

महोत्सवमा नेपाली पञ्चेबाजाको धुनसँगै नेपाली परिकार, नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारसँगै नेपालमा लगानी भारतीय लगानी भित्र्याउन अन्तर्संवाद कार्यक्रमहरू आयोजना गरिएको थियो ।

महोत्सवमा सहभागीहरूले नेपालको धार्मिक तथा पर्यटन क्षेत्र, नेपाली पञ्चेबाजा र नेपाली परिकारप्रति विशेष रुचि राखेका थिए। महोत्सवमा सहभागी व्यवसायीहरूले नेपालमा लगानी गर्न सकिने क्षेत्रबारे विशेष चासो राखेको आयोजकले जानकारी दिएका छन्।

महोत्सवका निर्देशक राजेन्द्र घिमिरेका अनुसार महोत्सवमा नेपाल-भारत व्यापारसम्बन्धी छलफल, बीटुबी र बीटुसी नेटवर्किङ बैठक, लगानी विस्तारसम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नेपाली खाना र अध्यात्म सत्रमा दुवै देशका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो बताएका छन्। “पहिलो पटक भारतमा आयोजना भएको नेपाली महोत्सवको उपलब्धिले भारतमा रहेका नेपालीहरू खुशी छन्” महोत्सवका निर्देशक राजेन्द्र घिमिरे भने।

तिन दिन सम्म चलेको कार्यक्रम अवधिभर परम्परागत नेपाली नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति, मौलिक नेपाली खाना स्टल, व्यापार र उद्योग प्रदर्शनी र व्यावसायिक नेटवर्किङ अवसर, द्विपक्षीय व्यापार र पर्यटन बढाउने, सांस्कृतिक कूटनीति र व्यापार सम्बन्ध, नेपाल-भारत आर्थिक सहयोगको भविष्यबारे छलफल समेत भएको थियो। ईसिसिआइका महासचिव डा मोहन कार्कीले हरेक वर्ष महोत्सव आयोजना गर्ने क्यालेन्डर नै बनाएको बताएका छन्।

तिन दिने महोत्सवको समापन सत्रको अध्यक्षता भारतका लागि नेपाली राजदुत डा. शंकर प्रसाद शर्माले गरेका थिए। त्यस्तै मुख्य अतिथिको रूपमा सांसद राजु बिष्टको उपस्थितिरहेका थिए । महोत्सवमा उपस्थित सम्पूर्ण अतिथिहरुलाई ईसिसिआइका अध्यक्ष युवराज बरालले सम्मान गरेका थिए।

कार्यक्रमको समापनमा ईसिसिआइका महासचिव डा मोहन कार्कीले सम्पूर्ण प्रायोजक, अतिथि, सहयोगी, संघ संस्था, स्वयंसेवक र सञ्चारमाध्यमलाई धन्यवाद व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *