डेब्यु चलचित्रबारे फुलन्देकी आमा-पेट मिचेर हाँस्ने के हो, हेल्लो काँशीराम हेरेपछि थाहा हुन्छ

काठमाडौं। पछिल्लो पुस्ताका लोकप्रिय हाँस्य कलाकार फुलन्देकी आमा अर्थात उमेश राई अव ठुलो पर्दामा फड्को मार्दैछन् । साना पर्दामा दर्शकको मन जितिसकेका उनी अब आफ्नो पहिलो चलचित्र ‘हेल्लो काँशीराम’ मार्फत आगामी जेठ २ गते देशभरका हलहरूमा देखिँदैछन् । फिल्मको प्रदर्शन मिति नजिकिएसँगै उनमा उत्साह देखिएको छ ।
चलचित्रको छायांकन अनुभव बाँड्दै उमेशले काम गर्दा निकै रमाइलो अनुभव रहेको बताए । सुटिङ कहिले सकियो पत्तो भएन । तर, डेब्यु चलचित्र भएका ले छायांकनका क्षणहरु मेरा लागि सधैभरी महत्वपुर्ण र यादगार हुनेछन्, उनी भन्छन् ।
उनले यस चलचित्रमा आफुलाई दर्शकले भिन्न अवतारमा, भिन्न कथामा देख्न सक्ने बताए । उमेशले अभिनेता दिलिप रायमाझीसँगको सहकार्यलाई अविस्मरणीय अनुभवको रुपमा सधै सम्झिने प्रतिक्रिया दिए । ‘दिलिप दाइ सोचेभन्दा झन् रमाइलो हुनुहुँदोरहेछ । त्यत्तिकै सफल कलाकार भइन्छ भन्ने कुरा उहाँलाई नियाल्दा प्रष्ट महसुस भयो’, उनले भने, – ‘ठुलो पर्दामा पहिलो पाइला चाल्दा लागेको रोमाञ्च अनुभव, आफ्नो जिम्मेवारी, डर सानो पर्दाको भन्दा निकै माथिको हुनेरहेछ ।’ नाम नै ठुलो पर्दाको भनेपछि अलिकति डर पनि लाग्दोरहेछ, तर म एक्साइटेड छु, उनले थपे । साना पर्दाको तुलनामा धेरै मिहिनेत, गहिरो अभिनय र ठूलो जिम्मेवारीका साथ काम गर्नुपर्ने कुरा यस फिल्मबाट सिकेको उनको अनुभव छ । राईले छिट्टै नयाँ चलचित्रमा काम गर्न लागेको बताएका छन् । तर, कुन फिल्म भन्ने कुरा खुलाएनन् । यद्यपी उक्त चलचित्रमा विशेष रोलका लागि साइन गरिसकेको उनले बताए ।
प्रदर्शन हुन लागेको चलचित्र ‘हेल्लो काँशीराम’का निर्देशक रिम विश्वकर्माको खुलेर प्रशंसा गर्दै उमेशले देख्दा सामान्य लाग्ने तर क्षमतावान् निर्देशकको रुपमा व्याख्या गरे। चलचित्रको सेटमा बिताएको समय र सिकाइले आफूलाई अझ बलियो बनाएको बताउने उमेशले दर्शकलाई आश्वस्त पार्दै भने, ‘पेट मिचेर हाँस्ने के हो भन्ने कुरा हेल्लो काँशीराम हेरेपछि थाहा हुन्छ । म यो चलचित्रमा पूर्ण कमेडी भूमिकामा छु, व्यंग्यात्मक शैलीमा प्रस्तुत हुँदैछु ।’
यस चलचित्रको केहि हप्ताअघि केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरी रिलिजका लागि तयारी अवस्थामा छ । चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक भएसँगै दर्शकको उत्साह अझ बढेको थियो भने केहि दिनअघि सार्वजनिक टिजरले दर्शकमा जिज्ञासा वढाएको छ । केहि हप्तामा चलचत्रिको गीत सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।
रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा हाँस्य र व्यंग्यको अनौठो मिश्रण प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ ।
रेडलाइन फिल्मस् प्रा.ली को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् भने पी.बी. थापाले लगानी गरेका हुन् । यम आलेले खिचेको चलचित्रको लगानी डेढ करोड हाराहारी पुगेको निर्माण टिमले जनाएको छ । चलचत्रिलाई मित्र डी. गुरुङले सम्पादन तथा रंग संयोजन गरेका हुन् ।
यस चलचित्रमा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हाँस्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइनेछ । त्यस्तै प्रियंका कार्कीको समेत विशेष भुमिका रहेको निर्माण टिमले जनाएको छ । चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेका छन् ।
चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ ।
Facebook Comment