नेपथ्य-लोकप्रिय यात्राको अन्तरंग

२०८१ चैत्र महिनाको अन्तिम पूर्णिमाको साँझ। काठमाडौँको जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा पर्ने गोकर्णेश्वर महादेवको मन्दिर पुग्ने उकालोदेखि नै खासगरी युवाहरूको चहलपहल शुरु।
कुनै मेला वा जात्रामा जान लागेको जस्तो भीड। बिहानीपखको हल्का वर्षाले निकै दिनदेखिको धुलो र धुवाँले भरिएको आकाश सफा भएको, मानौँ कि यो सब नेपथ्यको सांगीतिक कार्यक्रम कै भव्य सफलताको निम्ति प्रकृतिको उपहार हो।
आजभन्दा ५० वर्षअघि मेरी दिदी र उहाँकी अर्की सहपाठीले स्नातकोत्तरको पढाईको सिलसिलामा राष्ट्रिय विकास सेवा अन्तर्गत १० महिनासम्म शिक्षण कार्यको निम्ति बसेको गाउँ।
त्यतिबेला स्कूले केटो रहेको लेखक पनि मिनपचासको बिदामा दिदीहरूसँगै एक महिना बसेको ठाउँ। आज आधुनिकताले छोप्दै लगेको भएता पनि त्यतिबेलाका पुराना घरहरू खण्डहर जस्ता भएर उभिएका। झल्झल्ती पुराना यादहरू मनमा आए।
बागमतीको किनाराबाट कोरिडोरको सडक बनेपछि भिडभाड बढ्दै स्याटलाइट शहरको रूप लिँदै गएको नव शहरी क्षेत्र। बढ्दो शहरीकरणले गर्दा हरित मैदान र खेतहरूको ठाउँमा बनेका कङ्क्रिटका घर र पक्की सडकले गर्दा त्यो स्थानबाट पनि भित्र भित्रसम्म बस्ती बसेको र यातायातका साधनको घुइँचोले गर्दा होहल्ला र धुवाँ–धुलोको वातावरण।
तर यो सबलाई हाम्रो जस्तो अस्तव्यस्त मुलुकमा सामान्य रूपमा नै लिनु पर्दछ। मुलुकको राजधानी जस्तो ठाउँ सधैँ सुनसान र गाउँ जस्तो कहाँ रहिरहन्छ र। खाली चिन्ताको विषय चाहिँ अव्यवस्थित निर्माण र बसाइँ मात्र हो।
सो पूर्णेको साँझ नेपालको अग्रणी सांगीतिक व्याण्ड नेपथ्यको काठमाडौँ कन्सर्ट गोकर्णेश्वर महादेवको मन्दिरको सेरोफेरोमा हुन लागेको। राजधानीको मुटुमा कार्यक्रम नगरेर आयोजकहरूले यो स्थान रोजेकोमा शुरुमा आश्चर्य लागेता पनि कार्यक्रम हेर्दै गए पछि आयोजना स्थलको रोजाइ पनि ठीकै जस्तो लाग्यो।
नेपथ्यका हिमायती पोखरावासी ईश्वर गुरुङ शिवभक्त हुन् कि के हो कुन्नि उनी शिवरात्रीको दिन प्रत्येक वर्ष सांगीतिक महोत्सवको आयोजना गर्दछन्। यो क्रम शुरु भएको चार दशक नै भइसकेको छ र केही पटक शिवरात्रीमा पोखरा गइएको पनि थियो उनको नमस्ते स्टुडियो मार्फत।
शिव बुटी नखाए पनि सोमरस बिछट्टै पिइने सो युवा वय। आज पनि शिवजीको प्रख्यात मन्दिरको नजिक नेपथ्यको कार्यक्रम आयोजना हुँदा पुराना यादहरू ताजा हुन पुगे।
पूर्णिमाको चन्द्र उदाउँदै पूर्वबाट झुल्किन थाल्ने वित्तिकै भव्य स्टेजको स्क्रिनमा देखिएको विद्युतीय घडीले काउन्ट डाउन शुरु गरिरहेको हुन्छ। टिकट खरिद गरेर कार्यक्रम स्थलमा पसेका सौम्य युवायुवती र अन्य उमेर समूहका व्यक्तिहरू निकै उत्साहका साथ कार्यक्रमको पर्खाइमा बसेका।
मोवाइल शौचालयको प्रयोग गर्नेहरू भीड नगरी लामवद्ध भएर आफ्नो पालो कुरिरहेका। कार्यक्रमस्थल बाहिरको सडक छेउको चौरमा बसेर टिकट खरिद नगरेकाहरू र स्थानीय केटाकेटीहरू नेपथ्यको गीत सुन्न आतुर देखिन्थे वरिपरीका घरका छत र झ्यालहरू पनि दर्शकले भरिएका। कोही भेपको आनन्द लिइरहेका।
यही मौकाको फाइदा उठाउँदै कार्यक्रमस्थल बाहिर ससाना स्टल बनाएर खानाहरू पकाएर बेचिरहेका लघु उद्यमीहरू। नेपालको झण्डा फहराउनेहरू पनि उत्तिकै धेरै। क्या रमाइलो क्षण।
दिन प्रति दिन कपाल फुलेर यो लेखक जस्तै बुढौलीतिर लम्कँदै गरेका तर निकै फुर्तिला अमृतको के साह्रो तागत हो कुन्नि, उफ्रेको छ, चिच्याएको छ, हँसाएको छ र निकै सुर र तालमा गाएको पनि छ, ठ्याक्कै १७-१८ वटा ज्यादै राम्रा नयाँ-पुराना जोशिला र प्रेमिल तथा प्रकृतिका गीतहरू गाएर दर्शकलाई निकै नचाउन सफल भएका।
५० नाघेका मानिसहरूको कथाव्यथामा आधारित नयाँ गीत पनि गाउन भ्याएका। उनका लोभ लाग्दा गीत र कर्णप्रिय धुनहरूले गर्दा दर्शकहरूले नेपालको आजको हरिबिजोगलाई एकछिन भए पनि बिर्सेर नेपाल त अरु कुरामा नभए पनि कला र संस्कृतिमा समृद्ध नै छ नि भन्दै खुशीको स्वास फेरेको अनुभूति हुन्थ्यो।
हुन पनि नेपालको इज्जत यस्तै केही कुशल सांगीतिक व्याण्ड, गायक र खेलाडीहरूले त धानेका छन् नि। यी वाहेक सन्दुक रुइतजस्ता केही विश्वस्तरका चिकित्सक, महावीर पुन जस्ता सामाजिक अभियन्ता, केही लेखक, हिमाल आरोही, गोर्खा सैनिक आदिले पनि नेपालको इज्जत थामेर बसेका छन्।
गाउँ गाउँबाट संकलन गरेका मौलिक र मार्मिक गीतहरूलाई पप शैलीमा गाए पनि नेपालीपन र धुनलाई जीवन्त राखेर दर्शकहरूलाई विविध सन्देशहरू दिन अमृत निकै सिपालु छन्।
विदेशमा भासिए पनि शीप सिकेर स्वदेशमा फर्कन, स्वदेशका विभिन्न मनोरम गन्तव्यहरूमा घुम्न जान, मुलुकमा शिक्षाको ज्याति बाल्ने प्रण गर्न तथा नेपाल आमालाई खुशी र सुखी राख्न सबैलाई आफ्ना गीत र बीच बीचका भनाई मार्फत आह्वान गर्दा रहेछन् उनी।
उनको यो तरिका निकै मन पर्यो। निकै पहिले कटुवालहरूले ढोल बजाएर डाँडा वारि र पारिका गाउँहरूमा लामो लेब्रो तानेर सन्देश पठाएको जस्तै गरी अमृतले विभिन्न सन्देशहरू गीतै पिच्छे दिएका थिए।
कार्यक्रमको अन्ततिर ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्र सूर्य’ जस्ता जोशिला गीत सुनाउँदा पुरै दर्शकदीर्घाले कर्तल ध्वनीका साथ सँगसँगै गीत गाएर झुमेका र नेपालको झण्डा फहराएका थिए।
त्यतिबेला दर्शकहरूको ठूलो झुण्डले आजका भ्रष्ट नेताहरूलाई गाली गरेर नारा लगाएको पनि कता कता सुनिएको थियो। यस्तै गालीका स्वर हालैको सिड्नी र एडिलेइडका कार्यक्रमको अन्तमा पनि गुञ्जिएका भिडियो हेरिएको थियो।
यो वर्ष अमेरिका र अष्ट्रेलियाको दर्जनौँ कार्यक्रम सकेर फर्केको तथा निकट भविश्यमा नै अमेरिका लगायत अन्य विकसित मुलकमा सांगीतिक प्रस्तुतीको निम्ति जान तयार रहेको नेपथ्यले आफुले विदेशमा गर्ने कार्यक्रम कै फम्र्याटमा यो कार्यक्रम सञ्चालन गरेको रे।
व्यवस्थित गाडी पार्किङस्थलदेखि कार्यक्रमस्थलको कुशल व्यवस्थापन, डिजिटल टिकेटिङ तथा सुरक्षा र कार्यक्रमको अभिलेखका लागि ड्रोनबाट छायांकन गर्ने कार्य निकै सराहनीय थियो।
कार्यक्रम शुरु हुनुभन्दा केही समय अघि त्यहीँ भेट भएका ग्रुप फोर सेक्युरिटीका प्रमुख दीपक राउत भाइले नेपथ्यको कन्सर्टको सुरक्षाको जिम्मा आफ्नो कम्पनीले पाएको र नेपथ्यसँग सहकार्य गर्नुको मजा नै अर्कै भएको बताए।
उनको भनाइ अनुसार किरण र अमृत तथा अन्य उच्च पदाधिकारी र कर्मचारीहरू सबै आआफ्ना काम र अनुशासनमा रहने भएकोले सुरक्षाको काम निकै व्यवस्थित रहने कुरा सुनाए। हुन पनि त्यहाँको सुरक्षा निकै व्यवस्थित थियो भने आयोजकका झण्डै तीन दर्जन कर्मचारीहरू आआफ्ना दायित्व निर्वाह गर्न सक्रिय देखिन्थे।
कार्यक्रमस्थलको एउटा कुनामा नेपथ्यको सानो स्टलमा यो व्याण्ड बारे लेखक गिरीश गिरीले लेखेको तथा नेपालयले प्रकाशन गरेको नयाँ पुस्तक ‘नेपथ्य– लोकप्रिय यात्राको अन्तरङ्ग’ का प्रतिहरू सुपथ मूल्यमा बिकी रहेका। मैले आफ्नो प्रति आजभन्दा एक महिना पहिले नै खरिद गरेर पढिसकेको थिएँ।
आजभन्दा चार दशक पहिले सुविख्यात अङ्ग्रेजी व्याण्ड ‘द बिटल्स’ को बारेमा लेखिएको पुस्तक पढ्दा जस्तो अनुभूति भएको थियो, नेपथ्यको यात्रा पढ्दा पनि त्यस्तै त्यस्तै भयो। यसो हुनुमा सो पुस्तकका लेखक गिरीश गिरीको उत्कृष्ट लेखाइले पनि ठूलो भूमिका खेलेकोले हो।
पुस्तकमा लेखक गिरीशले नेपथ्य बारे आफ्नो अनुभूति र दृष्टिकोण, नेपथ्यको सांगीतिक यात्रा संस्मरण र स्वयम् गायक अमृत गुरुङद्वारा नै लिखित संस्मरणका शब्दहरूलाई निकै रोचक ढङ्गले पस्केका छन्।
हामीले आफ्नो युवावस्थादेखि अमृत गुरुङ तथा उनका नजिकका साथिहरूसँग धेरथोर संगत गर्ने मौका पाएको, उनीहरूका सबैजसा गीतहरू मन पराएको र गाएको तथा उनले भोगेका त्यतिबेलाका सबै थरीका कटु र मधुर अनुभवहरूसँग आफु पुरै परिचित भएकोले पुस्तक पढ्दै जाँदाका कथा, दृश्य र त्यतिबेलाको नेपालको झझल्को आँखा अगाडि आइरहेकोले पुस्तक पढेको पढ्यै गरेर नसकेसम्म धरै पाइएन।
अमृतका गण्डकी बोर्डिङ स्कूलदेखिका साथि दीपकजंग राणाले उनलाई गरेको निरन्तर मद्दत तथा अमृत सांगीतिक क्षेत्रबाट दिक्दार भएका वखत दिएका ढाढस र सहयोगलाई निकै मार्मिक तरिकाले लेखिएको छ। आखिर व्याण्डको नाम ‘नेपथ्य’ पनि त दीपकले नै राखेका रहेछन् नि।
अमृतका धेरै साथिहरू जस्तै दिवाकर घले, रविन्द्र पाण्डे, भीम पुन, रोशनप्रताप राणा, राजकुमार गुरुङ आदिले गाह्रो साह्रो पर्दा गरेका मद्दतका बारेमा पनि राम्रो चर्चा गरिएको छ यो पुस्तकमा।
व्याण्डको विभिन्न समयका सदस्यहरू रत्नमान गुरुङ, डेनियल डन कार्थक, गौतम गुरुङ, शुक गुरुङ, बुद्धि गुरुङ, सुरेन पुन, रविन्द्र श्रेष्ठ, हरि महर्जन, सुरज थापा आदिसँगको सहकार्य र पछि उनीहरू बिस्तारै व्याण्डबाट अलग भएका र कतिपय सदस्यहरू विदेश गएका कुरा तथा ड्रमर ध्रुब लामा भने विदेशको मोहमा नपरेर अमृतसँगै टाँसिएर आजसम्म बसेका रोचक घटनाहरू पनि उल्लेखित छन्।
त्यतिबेलाका क्यासेट र पछि सिडी एल्बम उत्पादन गर्ने निकायहरू जस्तै हारती र म्युजिक नेपाल तथा न्यूरोडको आरएनएसीको कार्यालय पछाडि संटकाको मन्दिर जाने बाटोमा गीटार र स्टाफ नोटेशनको कक्षा सञ्चालन गरेका सी.बी. क्षेत्री र क्लासिकल गिटार सोसाइटीका प्रवद्र्धक किशोर गुरुङ तथा उनीहरूको प्रख्यात व्याण्ड ‘द ब्रदरहुड’, त्यस्तै प्रिज्म व्याण्ड, त्रिसक्रस व्याण्ड, एलिगेन्स र दार्जिलिङको यूएस व्याण्डको चर्चा सो पुस्तकमा छ।
किशोर गुरुङ कै संयोजकत्वमा त्यतिबेला नेपाल कै पहिलो पप एल्बम ‘सुनसान रातमा’ बजारमा आएको बेला। आफुले पनि त्यसमा आवद्ध भएर सो एल्बममा ‘सुनिल पराजुली र सुनिता सुब्बा अनि रिता राईसँग मिलेर ‘गाडी त जर्मनको बाटो चाइनाको’ भन्ने चर्चित गीत रेकर्ड गरेको सोही बेलातिर हो।
राजिव उपाध्याय, ज्योति घिमिरे, बिमल बस्नेत, राजेन्द्र थापा, विजय लामा आदिको साथमा त्यतिबेला आफुले पनि ‘द ग्राण्ड स्ल्याम व्याण्ड’ स्थापना गरेको तथा ज्योति घिमिरेसँग ‘काठमाण्डु क्याट्स’ र नरेन्द्र प्यासीसँग ‘कला परिवार’ जस्ता सांगीतिक समूहमा आवद्ध भएर गीत गाएको र संगीत सिर्जना गरेका कुराहरू झल्झल्ती याद आए। त्यस्तै बेलातिर द लिजेण्ड, र्याप्सोडी, रविन एण्ड लुजा, कन्दरा, मङ्गोलियन हार्टस्, क्रसरोड्स, कबवेभ र दार्जिलिङको कार्निभल आदि व्याण्डहरू निकै प्रख्यात बनेका थिए।
पोखराबाट नेपालखाल्डो पसेका सुप्रसिद्ध गायक अरुण थापालाई अमृत र उनका व्याण्डका सदस्यहरू निकै मन पराउँथे र सम्मान पनि गर्दथे। तर अरुणको दुव्र्यशनी आदतले गर्दा उनी समयमा कतै नपुग्ने। नेपथ्यको साथमा एउटा गीत गाउने कुरा पनि उनले पुरा गर्न सकेनन्।
तर कुनै बेला आफु नेपाल टेलिभिजनको कर्मचारी छँदा अमृतले अरुण थापा स्वर्णिम सन्ध्याको आयोजना गर्न र टेलिभिजनको ओबी भ्यान प्रज्ञा भवनमा लगेर सिधा प्रसारण गर्न ठूलै युद्ध लड्नु पर्यो।
कसैले साथ नदिए पनि उनका सिनियर तथा उनलाई निकै माया गर्ने रोशनप्रताप राणाले उनको यो सपना साकार गरिदिए र आफैं उनीसँग प्रज्ञा भवनमा गए। तर कार्यक्रम शुरु हुनु भन्दा केही छिन पहिलेसम्म अरुणको अत्तो पत्तो छैन। तै त्यहीँ एउटा कुनामा गम खाएर बसेका उनलाई भेटेर स्टेजमा ल्याए पछि त अरुणले स्टेज तताइ हाले नि।
अरुण थापाको दुव्र्यशनी बानीले गर्दा नै एक पटक सन् १९८६-८७ तिर उनी र हाम्रा साथि ड्रमर राजेन्द्र थापा केन्द्रिय कारागारमा कैद भएर बसेका थिए। आफु त्यहीँ नजिकको अर्थ मन्त्रालयको एउटा विकासे आयोजनामा काम गर्ने भएकोले हप्तामा एक पटक जस्तो खाजा खाने बेलामा केही खानेकुरा लिएर जेलमा भेट्न गइरहने।
तर उनीहरू जेलको आगन्तुक भेट्ने कोठामा आउन सधैँ ढिला गर्ने। किन ढिला गरेको भनेर सोध्यो भने भित्र टीटी खेलिरहेको वा चेस खेलिरहेको भनेर डण्डीमा दुई हातले समाएर ङिचिक्क हाँस्ने। त्यस्तो अवस्थामा पनि कति माया लाग्दा र राम्रा देखिएका हुन्थे अरुण दाजु।
कहिले काहीँ त आफ्ना गीत पनि गुन्गुनाई दिन्थे र जेलका प्रहरी पनि ताली बजाएर समर्थन गर्दथे। जेलबाट छुटेको केही समय पछि अरुण दाजुको निधन भयो भने राजेन्द्र थापाको पनि गाडी दुर्घटनामा निधन भयो।
गीत संकलनको सिलसिलामा अमृतले आफ्ना साथिहरूको साथमा यात्रा गरेका नेपालका विकट क्षेत्रका कठिन उकाली तथा ओरालीहरू, माओवादी द्वन्द्वको बेलामा मित्र किरण श्रेष्ठसँग पश्चिम नेपालको द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा माओवादी कार्यकर्ताहरूबाट भएका केरकार आदिका वर्णन र थिन्लेको गाउँमा पुग्ने क्रममा चढेको ज्यादै कहाली लाग्दो उकालोको वर्णन निकै रोचक छन्।
देशभित्र तथा बाहिर गरी विभिन्न ठाउँमा शुरुका दिनहरूमा कार्यक्रम गर्न जाँदा आयोजकका अनुभवहीनता तथा स्वार्थीपनाको कारण कार्यक्रम राम्रो हुन नसकेको, खाने र बस्ने समेत समस्या परेको र कमाउनु पर्ने पैसा अरुले खाएर कुलेलाम ठोकेकाले हिस्स बुढी खिस्स दाँत भएर फर्कनु परेका घटनाहरू बारे पढ्दा र हरेस नखाई अघि बढेकाले नै नेपथ्य आज यो उचाइमा पुगेको रहेछ भन्ने कुरा थाहा पाउँदा निकै हौसला बढ्ने।
मानव सेवा आश्रम जस्तो विपन्न र दुखी भुइँमान्छेहरूको सेवामा लागेको संस्थाको उत्थान गर्ने हेतुले विभिन्न ठाउँमा आफ्नो कार्यक्रम प्रस्तुत गरेर सहयोग रकम जम्मा गरेको नेपथ्यले यस्तै सामाजिक कार्यमा अरु भन्दा अघि बढेकोले पनि उसलाई गाउँ गाउँमा रुचाइएको हो। माओवादी द्वन्द्वको बेलामा ‘शान्तिका लागि शिक्षा’ जस्ता कैयन् सांगीतिक कार्यक्रम देशभर नै सञ्चालन गरेको थियो नेपथ्यले।
कुनै पनि सांगीतिक व्याण्ड वा मनोरञ्जनात्मक कार्यक्रमको सफलतामा त्यसको व्यवस्थापन पक्ष र लगानीकर्ताको कुशलता र लगतशीलताले ठूलो भूमिका खेलेको हुन्छ। यहाँ पनि एकजना किरणकृष्ण श्रेष्ठ देखा परे। अति नै संस्कारी, अध्ययतशील, लगनशील र नयाँ नयाँ विचारको प्रयोग गर्न जानेका औधी मेहनती युवक।
उनैको नेतृत्व र सहकार्यले नै आज नेपथ्यले यति ठूलो उचाइ लिन सकेको हो। गायक अमृत गुरुङ र लगानीकर्ता तथा व्यवस्थापक किरण श्रेष्ठको जोडीले सँगै काम गर्न थालेको आज तीन दशक नै नाघिसकेको छ। मन मिल्ने र परिश्रम गर्ने बानी एकै प्रकारको भए पछि सफलता नमिल्ने त कुरै भएन।
किरणले नेपथ्यसँगको कुशल सहकार्य वाहेक पछिल्लो दुई दशकदेखि पलेटी गीत शृङ्खलाको आयोजना गर्दै आएका छन् भने नेपालयको नामले एक पुस्तक प्रकाशन गृहको पनि स्थापना गरेर दर्जनौँँ रोचक पुस्तकहरू बजारमा ल्याइ सकेका छन्।
आज आएर त प्रत्येक महिना एउटा पुस्तक प्रकाशन गर्ने घोषणा र त्यसको पालना पनि गरेका छन्। उनलाई यस्ता सशक्त कार्यहरूमा साथ दिने परिश्रमी हातहरू आभाष, गिरीश, अर्पण तथा अन्य जागरुक युवाहरूका छन्। किरणको परिवारभित्र नै पनि उनी जस्तै जोश, जाँगर र मेहनत गर्ने धेरै हातहरू जुट्न थालिसकेका छन्।
नेपथ्य व्याण्डले आफ्नो शैशवावस्थादेखि आजको दिनसम्म निकै आरोह र अवरोह पार गरेर अहिलेको रूपमा पुगेको छ। शुरुको दिनमा वाद्यवादन गर्न सक्ने टिम मेम्बर निकै कम थिए भने अति कुशल संगीत निर्माण गर्न सक्ने साथिहरू केही गीत रेकर्ड गर्ने वित्तिकै व्याण्ड छोडेर विदेशिन थाल्दथे।
गीत रेकर्ड गर्ने कुरा त परै जाओस् साधारण गुजाराका साथ जीवनयापन गर्न पनि हम्मे हम्मे पथ्र्यो त्यतिबेला। बल्ल बल्ल प्राप्त भएको सानो लगानीको रकमबाट प्रथम एलबम निस्के पछि गणेशको मन्दिरमा गएर पुजा र आराधना गरेर एल्बम रिलिज गरेको रोचक प्रसङ्ग पनि यो पुस्तकमा छ।
मान्छेको मुहार र आनीबानीबाटै मान्छेको प्रतिभा चिन्न सक्ने तथा निकै पावरदार चश्मा लगाउने रेकर्डिष्ट दीप तुलाधरले त नेपथ्यका ठिटाहरूलाई देख्ने र थोरै सुन्ने वित्तिकै यिनीहरू केही न केही बन्ने छन् भन्ने लख काटिसकेका थिए।
आज नेपथ्यमा मुलुकभरबाट आएका विभिन्न जातजातीका युवाहरू जस्तै अमृत गुरुङ, ध्रुव लामा, निरज गुरुङ, दिनेश रेग्मी, सुविन शाक्य र शान्ति रायमाझी छन् भने सो व्याण्डको आफ्नै प्राविधिक टोली र बन्दोवस्तीको बलियो व्यवस्था पनि छ।
आफ्नो आजसम्मको पाँच दशकभन्दा लामो जीवनमा अमृतले समयको खासै बर्बादी गरेका छैनन्। उनी केही न केही रचनात्मक कार्यमा व्यस्त भइ नै रहेका हुन्छन्। तर पनि गोकर्णको कन्सर्टको अन्ततिर अमृतले समय बितेको थाहै हुँदैन रहेछ, त्यसैले समयको बर्बादी गर्नु हुँदैन भन्ने सन्देश निकै रोचक तवरले दिए।
उनले उमेर गए पनि मनभित्र वैँश बाँकी नै रहने कुरा गर्दा दर्शकले कर्तल ध्वनिका साथ ताली बजाएका थिए। वास्तव मै ऐनामा हेर्दा आफुमा बुढौलीले ढाक्दै गएको देखेर मन झसङ्ग हुँदो रहेछ तर यो पापी भन्ने कि सोझो भन्ने मोरो मन भने सधैँ तरुनो नै हुन खोज्दो रहेछ।
अनुशासनमा बस्ने र संगीतको अभ्यासलाई मुख्य प्राथमिकता दिने नेपथ्यले आउँदा दिनमा पनि निकै प्रगति गर्ने कुरामा कुनै शङ्का छैन। गिरीश गिरीद्वारा लिखित र नेपालयद्वारा प्रकाशित यो पुस्तक ‘नेपथ्य’ पढ्न र संकलन गरेर राख्न लायकको छ। विवाह वा अन्य समारोहमा अरु उपहार र नगद दिनु भन्दा यस्ता रोचक पुस्तकहरू उपहार स्वरुप दिँदा नै राम्रो होला नि।
-लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment