जागिरको अन्तरवार्तामा चाँडै पुगेका कारण आवेदकले पाएनन् जागिर

काठमाडौं । समयनिष्ठतालाई प्रायः सद्गुणको रूपमा हेरिन्छ। विशेष गरी जब जागिरको अन्तर्वार्ताको कुरा आउँछ। तर, एक जना व्यक्तिसँग ठीक उल्टो भयो। उनी अन्तर्वार्ताको लागि २५ मिनेट चाँडै आइपुगेका थिए, त्यसैले उनलाई काममा राखिएन। यो कुरा जागिर दिने व्यक्तिले अर्थात् अन्तर्वार्ता लिने व्यक्तिले आफ्नो सामाजिक सञ्जाल पोस्टमा खुलासा गरेका हुन्।
लिंक्डइनमा भएको एउटा भाइरल पोस्टले अनलाइन बहस निम्त्याएको छ। जसमा उम्मेदवारलाई अन्तर्वार्ताको लागि २५ मिनेट अगाडि आइपुगेको कारणले नियुक्त गरिएको थिएन। रोजगारदाताले लिंक्डइनमा एक पोस्ट सेयर गरेर यो कुरा खुलासा गरेका छन्। यद्यपि, पोस्टमा अन्तर्वार्ताको लागि आएका व्यक्तिको पहिचान खुलासा गरिएको छैन।
एटलान्टास्थित सफाई सेवा ठेकेदार म्याथ्यू प्रिभिटले लिंक्डइनमा आफ्नो अनुभव साझा गर्दै कार्यालय प्रशासकको पदको लागि योग्य उम्मेदवारको आवश्यकता रहेको बताए। त्यसैले उनले यो जागिरको लागि एक जनाको अन्तर्वार्ता लिने निर्णय गरे। उम्मेदवार तोकिएको समयभन्दा २५ मिनेट अगाडि आइपुगेका थिए । यही कारणले उनलाई जागिरमा नराख्नुको प्रमुख कारण भएको उनले बताए ।
प्रिभिटले आफ्नो पोस्टमा लेखेका छन् – ‘गत हप्ता एक उम्मेदवार अन्तर्वार्ताको लागि २५ मिनेट अगाडि नै आए। मैले उसलाई काममा नराख्नुको मुख्य कारण यही थियो। अन्तर्वार्ताको लागि चाँडै आइपुग्नु उचित हुन्छ कि हुँदैन भन्ने बारेमा कृपया आफ्नो राय दिनुहोस्।’
प्रिभिटले यसको कारण थप व्याख्या गर्दै भने ‘सामान्यतया अलि चाँडो आइपुग्नु उपयुक्त हुन्छ तर धेरै चाँडो आइपुग्नुले खराब समय व्यवस्थापन वा सामाजिक चेतनाको कमीलाई जनाउँछ।’ उनले भने ‘चाँडै आइपुग्नु राम्रो हो तर धेरै चाँडै आइपुग्नुले व्यक्ति समयसँग तालमेल मिलाउन नसक्ने वा समयको उचित प्रयोग गर्न नसक्ने भएको संकेत गर्न सक्छ।’
पोस्ट तुरुन्तै भाइरल भयो र सामाजिक सञ्जालमा विचारहरू विभाजित भए। केही मानिसहरूले प्रिभिटको अडानलाई समर्थन गरे भने अरूले उम्मेदवारको बचाउ गरे। एक प्रयोगकर्ताले लेखे ‘उनीसँग यात्रा गर्न आफ्नै गाडी नहुन सक्छ। उनी सार्वजनिक यातायातबाट आएका हुन सक्छन्, जसको समयमाथि उनको कुनै नियन्त्रण छैन। यस्तो अवस्थामा उनी अलि चाँडै पुगे।’
Facebook Comment