स्रोत नखुलेको सात लाखसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
५ वैशाख २०८२ १८:२७

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रको विराटनगरबाट स्रोत नखुलेको नेपाली सात लाख रूपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

सीमा क्षेत्र भारतको जोगबनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई स्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको टोलीले शुक्रबार दिउँसो स्रोत नखुलेको नेपाली रुपैयाँसहित श्रीवास्तवलाई पक्राउ गरेको हो। जोगबनीबाट को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका श्रीवास्तवलाई विराटनगर महानगरपालिका–१५ स्थित हनुमान मन्दिर नजिकबाट नियन्त्रणमा लिएको हो।

विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागि रोकेर खानतलासी गर्दा श्रीवास्तवको साथबाट ७ लाख रूपैयाँ बरामद भएको डिएसपी जोशीले बताए। श्रीवास्तवको साथबाट नेपाली ५ सय रूपैयाँ दरको ४ सय थान र १ हजार रूपैयाँ दरको ५ सय थान नोट बरामद प्रहरीले जनाएको छ।

स्रोत नखुलेको रुपैयाँ र मोटरसाइकलसहित श्रीवास्तवलाई इप्रका रानीमा राखेर थप अनुसन्धान भइरहेको छ। रुपैयाँ कुन प्रयोजनको हो भन्ने खुल्न सकेको छैन। श्रीवास्तवलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *