रामकोटको बद्रिनारायण धाममा प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा पदयात्रा

नेपाली कला, संस्कार र संस्कृति विश्वभर फैलाउने अभियानमा छौं : पण्डित दिनबन्धु पोखरेल

डिसी नेपाल
७ वैशाख २०८२ ७:१५

काठमाडौं। काठमाडौंस्थित नागार्जुन नगरपालिका-७ रामकोटमा रहेको बद्रिनारायण धाममा यही बैशाख १९ गतेदेखि सुरु हुने प्राण प्रतिष्ठा एवम् अनुष्ठानको पूर्वसन्ध्यामा शनिबार पदयात्राको आयोजना गरिएको छ।

नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस् फाउन्डेसनको आयोजनामा भएको पदयात्रा सितापाइला चोकदेखि सुरु भइ बद्रिनारायण धाममा पुगेर विसर्जन गरिएको थियो।

आगामी बैशाख १९ देखि २७ गतेसम्म हुने अनुष्ठान कार्यक्रमको पूर्व जागरणका लागि पदयात्रा एवम वाकाथुन गरिएको पण्डित दिनबन्धु पोखरेलले बताए।

‘घर-घरबाट उठौं, बस्ती बस्तीबाट जुटौं, यो महान अभियानमा कोही नछुटौं। सनातनी गौरव नेपालीको सान, दर्शन गरौं बद्रिनारायण धाम,’ नारा दिएर हामी महान अभियानमा छौं। नेपाली कला, संस्कार र संस्कृति विश्वभर फैलाउने अभियानमा छौं, पदयात्राको समापन समारोहमा सम्बोधन गर्दै पोखरेलले भने।

नेपालीहरुले अब चार धामका लागि भनेर भारत जानुपर्ने बाध्यता नुहने भन्दै अब बद्रिनारायण धाम नै चार धाम मान्न सकिने उनको दाबी थियो। धाम निर्माणका लागि विश्वभरका नेपालीहरुको साथ रहेको उल्लेख गर्दै एउटा ठूलो सपना पूरा भएकोमा गर्व समेत गरे।

पदयात्रामा नागार्जुन नगरपालिका भित्रका प्राय सबै संघसंस्था, आमा समूहहरु, क्लब, सरकारी निकायका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता थियो। धिमे र पन्चे बाजा, नाचगानसहित पदयात्रामा सहभागी भएकाहरुले काठमाडौंको विकट मानिने रामकोटमा धाम निर्माणपछि अब सुगम बन्दै गएकोमा खुशी व्यक्त गरे।

प्रतिष्ठाका अवसरमा विश्व भजन प्रतियोगिताको पनि आयोजना गरिने कार्यक्रममा जानकारी दिइयो। शनिबार नै पण्डित पोखरेलले वद्रिनारायण धाम लेखिएको बोर्डपनि अनवरण गरेका छन्।

प्रतिष्ठामा विश्वका ८० देशबाट भक्तजनहरु रामकोट पुग्ने आयोजकको दाबी छ। भारतबाट पनि प्रतिष्ठित सनातन धर्मका प्रवद्र्धकहरु धाममा पुग्ने बताइएको छ। प्रतिष्ठा एवम अनुष्ठानको बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्ने कार्यक्रम तय भएको छ।

करिब एकसय रोपनी जग्गामा निर्माणमा भइरहेको धामको ४० प्रतिशत मात्र काम सकिएको छ। जसका लागि अनुमानित १४ करोड रकम खर्च भइसकेको र गुरुयोजना अनुसार सम्पूर्ण काम सक्न थप एक अर्ब रुपैंयाँ बजेट आवश्यक पर्ने प्रतिष्ठानले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *