सरकारी निरंकुशतन्त्रको विरुद्धमा प्रतीकात्मक र शान्तिपूर्ण प्रदर्शन हुनेछः लिङ्देन

काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आजकाे प्रदर्शन सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण हुने बताएका छन्।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै चेतावनी दिएपछि त्यसको जवाफ दिँदै उनले भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई सीमा तोक्नेको विरुद्धमा प्रदर्शन गर्न लागेको बताएका हुन्।
उनले राप्रपाका सीमित नेताहरुमात्र सहभागी हुने जानकारी दिए। ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।’ उनले भने, ‘जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।’
उनले वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको उनको दाबी छ। उनले भने, ‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।’
गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्र तोड्ने भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
लिङ्देनले शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेकाले त्यसको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको बताए। पार्टीका नेताहरु पक्राउ परेपछि उनले निषेधित क्षेत्रमा प्रदर्शन गरेर आफूहरू सामूहिक रूपमा थुनामा जान तयार भएको सन्देश दिएका थिए।
Facebook Comment