अर्थतन्त्र सबल तुल्याउने गरी बजेट आउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले सबल अर्थतन्त्र निर्माण गर्ने उदेश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन्।
आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगले तयार गरेको आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन बुझ्दै पौडेलले अहिले मुलुकको आर्थिक अवस्था लयमा फर्किन थालेको भन्दै सबल अर्थतन्त्र निर्माण गर्ने उदेश्यका साथ आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका हुन्।
देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले प्रभावकारी पहल गर्दै आएकाले पछिल्ला दिनमा अर्थतन्त्रका परिसूचकहरु सकारात्मक दिशातर्फ अघि बढेको उनले बताए। उनले वर्तमान सरकारकै कारण आर्थिक बृद्धिको लक्ष्यमा समेत सन्तोषजनक प्रगति भएको धारणा राखे।
पौडेलले नीजि क्षेत्रले उठाएका बिषय र सहकारी क्षेत्रलगायतका समस्या समाधानका लागि सरकारले आवश्यक कानून निर्माण गरेको जिकिर गरे। उनले मुलुक स्थीरताको यात्रामा अघि बढे पनि अस्थीरतावादी प्रवृतिहरू यसकाविरुद्ध विभिन्न गतिविधि गर्ने कोशीस गरिरहेको उल्लेख गर्दै ती प्रयास निरर्थक हुने बताए।
पौडेलले सरकार टिकाउनका लागि मात्रै स्थीरता खोजेको नभइ संविधानको रक्षा गर्दै आर्थिक सामाजिक सुधार गर्नका लागि स्थीरता आवश्यक भएको धारणा राखे।
Facebook Comment