नेपाललाई बलियो बनाउने शक्ति र जुक्ति

पर धाएर, परको गीत गाएर, परको दाना पानी खाएर, परको मन्त्र बोकेर नेपाल बलियो हुँदैन। प्रतिगमन भन्दा परगमन खतरा हो। अग्रगमन भनेको परगमन होइन। प्रतिगामी नेपालका समस्या होइनन् परगामी नै नेपालका समस्या हुन्। प्रतिगमन नेपालको विचारको बाटो हुन सक्छ।
अग्रगमनको दिशा परगमन हुन सक्तैन। नेपालका नेता परका केटा हुन सक्तैनन्। ए केटा हो यता आओ भन्दा खुर्र कुदेर जाने यस्तो बोल त्यस्तो गर भन्दा हवस हजुर भन्दै त्यसै गर्ने आज्ञाकारी अह्रौटे भह्रौटे जस्ता। स्थापना, इतिहास, स्वतन्त्रता, निरन्तरता र सीमानाको हिसावले नेपाल संसारका पुराना मुलुक मध्येको पुरानो मुलुका हो।
नेपाललाई नयाँ नेपाल नभनौं। यो नेपालको अपमान हो। नेपालको परिचय पुरानो सिक्किम र नयाँ सिक्कमको जस्तो होइन। नयाँ सिक्किमको अभ्यास नेपालको कल्पना पनि हुन सक्तैन। संविधान नयाँ हुन सक्छ व्यवस्था नयाँ हुनसक्छ, सडक, शहर आदि नयाँ हुन सक्छ तर नेपाल नयाँ हुन सक्तैन।
हाम्रो चन्द्रसूर्य अंकित पुरानो झण्डा नयाँ हुन सक्तैन। पुरानो स्वाधीन नेपाललाई नयाँ नेपालको आवरणमा परहरुको इसारामा नाच्ने कमजोर नेपाल नबनाऔं। सबै जातको फूलबारीलाई परहरुको डिजाइनमा सबैजातको गमलाबारी बनाएर एक अर्कालाई जुधाएर सबैलाई चकानाचुर बनाउने खेलमा नफसौं।
यस्तो खेलले हाम्रो राम्रो फूलबारी परहरुको काठेबारी वा फड्केबारी हुनेछ। अनि हाम्रो लागि यो काँडाघारी मात्र हुने छ। आँखाको सामुन्ने छ परहरुसँग झुक्ने र विक्ने चरित्रका भारतका राजाहरुको कारणले गर्दा भारत कति लामो समयसम्म अंग्रेजको पराधीनता सहन वाध्य भयो।
हामीसँग नझुक्ने र नबिक्ने पृथ्वीनारायण शाह उनका देशभक्त बहादुर योद्धा थिए र नै अंग्रेजलाई पराजित गररे विशाल नेपाल बनाएर गौरव गर्न लायक पुरानो नेपाल हमीलाई दिए। हो हामीसँग पुरानो नेपाल छ। पुरानो नेपाललाई बलियो नेपालमा रुपान्तरण गर्न हामीसँग बलियो पुरानो पृथ्वीविचार पनि छ।
यही पुरानो बलियो स्वदेशवादी विचारले मात्रै नेपाल जोगाउन सक्छ नेपाल जगाउन सक्छ र सबै परगामीहरुलाई भगाउन वा तहलगाउन सक्छ। यही हो नेपाल बदल्ने जुक्ति र शक्ति।
राष्ट्रनिर्मात पृथ्वीनारायण शाहले नेपाली संस्कृतिको प्रतिनिधि संस्कृतिनेता नेवारी संस्कृतिलाई त्यसै भनेका होइनन्। नेवारी संस्कृतिलाई प्रतिनिधि नेपाली संस्कृतिमा खडा गरेर उनले उद्घोष गरे स्वदेशी संस्कृतिमा रमाऔं। उनले बुझेका थिए विदेशी संस्कृतिले हामीलाई डुवाउछ भनेर।
त्यसैले सचेत दूरदर्शी पृथ्वीनारयणले फिरंगीहरुलाई पाइला टेक्न दिएनन् नेपालमा। नेपाली संस्कृति तहस नहस पार्लान् भनेर उपनिवेशका सांस्कृतिक हतियार वाइवल बोकेका पादरी र विकाउ नेपालीलाई समेत निकाला गरेर नेपाली संस्कृतिको रक्षा गरेका थिए। नत्र त दक्षिण अफ्रिकाका नेता बिस्मन टुुटुले भने जस्तै कुनै नेपालीले भन्नु पर्ने दिन धेरै पहिले नै आउने थियो।
टुटुले भनेका थिए जब गोराहरु हाम्रो मुलुकमा आए उनीहरुको हातमा वाइवल थियो। हामीलाई उनीहरुले हात थाप्न लगाए। हामीहरुले हात थाप्यौं। उनीहरुले हाम्रो हातमा वाइबल राखिदिए। हामीलाई आँखा चिम्लिन भने। बाइवल बोकेर हामीले आँखा चिम्लिरह्यौं। जव हामीले आँखा खोलेर हेर्याैं हाम्रो हातमा केवल बाइवल थियो उनीहरुको हातमा हाम्रो शासन, महँगा हाम्रा जग्गा र सबै सम्पति। नेपालीलाई पनि त्यही नियतिमा पुर्याउन पृथ्वीनारायणले लखेटेका पादरीहरु नेपालका तथाकथित नेताहरुलाई किनेर धर्मनिरपेक्ष मार्फत अवतारित भएका छन्। तथ्य यही हो धर्म निरपेक्ष हिन्दुको लागि होइन, बौद्धको लागि होइन, न हो किरात वा मुसलमानको लागि। धर्मनिरपेक्षताले नेपालमा इसाई धर्मावलम्वीको नाटकीय संख्यामा भएको वृद्घिले पनि यो कुराको पुष्टि हुँदैन र यो कसको लागि हो भनेर। भ्रम नहोस् नेपालको सन्दर्भमा धर्मनिरपेक्षता भनेको निकट भविश्यको केवल इसाई धर्म सापेक्ष राज्य तयारीको प्रवेश द्वार हो।
पृथ्वीविचारको सार परतन्त्र र भ्रष्टतन्त्र विरोधी स्वाधीन सम्पन्न स्वच्छ स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्र सामजिक न्यायमा आधारित राष्ट्रिय एकताको योग्यहरुको लोकतन्त्र हो। यो विचारले वर्तमान र भविश्यका समेत नेपालका सबै समस्यालाई सम्बोधन गर्ने र सम्भावनाका सबै ढोका उगार्दै अघि बढ्ने हैसियत राख्दछ।
आफ्नो मुलुकको विचारको कस्तुरीविणा थाहा नपाएर, बुझ पचाएर वा बाह्य घुस चपाएर नेपालका नेता एव नीति निर्माताहरु फगत दौडिरहेका छन विनासको बाटोमा। नेपालका दुई छिमेकी भारत तथा चीनसँग सन्तुलित र समुधर सम्बन्ध राख्नु पर्छ भन्ने पृथ्वीविचार भन्दा उत्तम विकल्प कसैले दिन सक्तैन।
भ्रष्टाचारीको सबै सम्पति जफत गर्नु र ज्यान सजायसम्म दिन सकिने कानून बनाउन निर्देशन दिने पृथ्वीविचारको भावना भन्दा बलियो कस्तो कानुन हुन सक्ला? स्वदेशी साधन, श्रम, लगानी, उत्पादन र स्वदेशी महाजन पृथ्वीनारायणका स्वदेशवादी अर्थतन्त्रका प्राथमिकता हुन्।
विदेशी महाजन र उत्पादनलाई उनले मनाही गर्न जोड गरे। यो विचारको शक्ति छिमेकी भारतको स्वतन्त्रता संग्राममा महात्मा गान्धीले कुशलतपूर्वक प्रयोग गरे अंग्रेज उत्पादको बहिष्कार गर्न स्वदेशी उत्पादनको लागि चर्खा आन्दोलन चलाएर। स्वदेशी महाजनलाई जोड दिने पृथ्वीविचार जस्तै चीनका नेता माआले राष्ट्रिय पूृँजीपतिको संरक्षण गरौं भन्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरे।
पृथ्वीनारायणले अंग्रेज विरुद्घ सफल प्रयोग गरेको छापामार आक्रमण माओले पनि प्रयोग गरेर चीन मुक्त गरे। यी दुबै नेता आ आफ्ना मुलुकमा महान भएका छन् मानिएका छन् र सम्मानकोसाथ नोटमा तस्विर राखिएका छन्।
हाम्रोमा पृथ्वीनारायणलाई निन्दा र आक्रमणको पात्र बनाइन्छन्, सालिक ढालिन्छन, सम्झनालायक पात्र नै होइन भनेर जन्म दिनको राष्ट्रिय दिवश समेत कटौति गरेका थिए कृतध्नहरुले । पृथ्वीनारायणसँग गान्धी र माओ जस्तै विदेशी शक्तिलाई लखेटेको इतिहास छ। त्यो भन्दा बढ्ता उनिहरुले नगरेको आफ्नो मुलुक एकीकरण गरेको र विदेशीबाट आफ्नो मुलुक पराधीन हुनबाट बचाएको समेत इतिहास छ। गान्धी र माओले समेत अनुशरण र प्रयोग गरेको विचारको शक्ति छ। अनि किन राखिन्न राष्ट्रनिर्माता र सर्वकालीन शास्वत सान्दर्भिक भइरहने विचारदाताको तस्विर सम्मानकोसाथ नेपाली नोटमा? राखिनु पर्छ र नोटको दुबै किनारमा लेखिनुपर्छ नेपाल सबै नेपालीको साझा फूलबारी हो र घुस लिने दिने राष्ट्रका शत्रु हुन भनेर।
पृथ्वीनारायण नेपालका गौरवपूर्ण अतीत हुन् भने पृथ्वीविचार नेपालको भरोषायोग्य भविश्य हो। यही विचारको शक्ति र भावना माथि उभिएर मात्र नयाँ संविधानको खाका कोर। नेपालमा घृणाको खेतीमा लागिरहेछन् परवादीहरु। एक नेपालीले अर्को नेपालीलाई घृणामात्र गरोस् भनेर मात्र जातीय र क्षेत्रीय घृणाका डम्फू बजाउँदै छन् परहरुको सेवामा।
कथित जातीय मुक्तिको आवरणमा, क्रान्ति र समानताको ढोलमा नेपाललाई चकानाचुर बनाउने षड्यन्त्र जगजगी छ जताततै। हेर्दै जाउ ठूला दलका सबै मैदानी क्षेत्रका नेताहरुलाई, सांसदरुलाई एकैठाउँ उभ्याइदिने छ। तिमीलाई, तिम्रो व्याक्तित्व र दलको शक्तिलाई सानो आकारको बनाइदिएको हुनेछ। उसले बनाइदिएका सम्झौतामा नाइ भन्न सक्ने हैसियत गुमाइसकेका हुने छौ शक्तिहीन तिमीले।
अहिलेको सबभन्दा ठूलो कान्ति पनि अग्रगमन पनि लोकतन्त्र पनि नेपाल जोगाउनु हो। नेपालको स्वाधीनता, अखडता र राष्ट्रिय एकता बचाउनु हो। परवादी र परहरुको षड्यन्त्रलाई पराजित गर्नु र भगाउनु हो। नेपालका सबै शक्तिलाई संगठित गर।
तिमी साझा हुन सक्तैनौ भने साझा संस्थालाई नर्स्थापना गर राष्ट्रको लागि। जसरी हिजो तिमीलाई त्यो संस्थाले पुनर्स्थापना गरिदिएको थियो तिम्रो मागनुसार। धोका दियौ र नै असफल भयौ। अझै सपनामै छौ कि क्याहो विश्वको भूरानजनीतिले दिएको सन्देश बुझेनौ? अयोग्य छौ कि बुझ पचाउँदै छौ?
कमजोर भएर पनि बलियोको अभिनय नगर। मुलुक थाम्दैनौ सत्य स्वीकार। धेरै अधिकार विकेन्द्रीकरण गर। नेपाललाई कमजोर बनाउने, नयाँ द्वन्दको खेतीमार्फत नेपालको पहिचान मेटाउने उद्देश्यका साथ आएका गणतन्त्र, सघीयता र धर्मनिरपेक्षता उनीहरुलाई नै फिर्ता देउ। नेपाललाई चक्रव्यूबाट निकाल्ने यो भन्दा कुनै बलियो उपाया नै छैन। सबैमा चेतना भया।
Facebook Comment