सपनाः आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता

आन्दोलनरत शिक्षकका माग विभागीय मन्त्रीले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री स्वंमले नै अग्रसरता लिई आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने तय भएको थियो। प्रधानमन्त्रीलाई राति र अध्याँरो औधी मन पर्ने हुनाले रातको ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता गर्ने समय तय भएको हुन्छ।
शिक्षकहरुका नेता पनि एक एक वटा राजनीतिक फेरो समातेकै हुनाले बालुवाटारको मेलोमेसो बुझेकै थिए। एक हुल शिक्षकका नेता भागवन्डा मिलाएर समय अगावै राति ६ः३० बजे नै बालुवाटार पुगे।
तर प्रधानमन्त्रीज्यूको पुरानै बानी कुराउनै पर्ने। शिक्षकहरु पनि सोही मारमा परे। प्रधानमन्त्रीज्यूको अर्को विशेष बैठक रहेछ, राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा। यसमा आलाकाचा नेता केटाहरु योग्यलाई छनोट गर्नुपर्ने रटानमा रहेछन्।
यही सन्दर्भमा सत्ता साझेदारसँग हाम्रो केटोलाई गर्भनर बनाउने विषयमा रस्काकस्की चलेको थियो। अन्त्यमा मालदार सत्ता साझेदारकै केटोलाई गभर्नरमा नियुक्ति दिने निचोड निकालेर कुरा मिल्यो भन्ने गर्वका साथ बैठक टुंग्याएपछि करिब राति ८ बजे तिर शिक्षकहरुलाई दर्शन दिन सक्नुभयो प्रधानमन्त्रीज्यूले।
केही समय अघिसम्म विचौलिया र अनेक दोषारोपण गर्ने सत्ता साझेदारका नेताहरु अब आफ्नै मालदार केटोको पक्षपोषणमा लागेर पार्टी सभापतिको जयजयकार गाउन थालिसकेका थिए। योग्यताको कुरा भाड मे गया।
जब शिक्षकसँगको वार्ता सुरु भयो, प्रधानमन्त्रीले प्रश्न तेर्साए, तपाईंले पढाएको विद्यालयमा विद्यार्थीहरुको नतिजा कस्तो छ? कति प्रतिशत उत्तिर्ण हुन्छन्? तपाईंका छोराछोरी पढ्न लगाएको विद्यालय शिक्षा प्रदान गर्नुभएको छ? तपाईंका सन्तान त्यही विद्यालयमा पढ्छन्?
शिक्षकहरु नाजवाफ भएर एक अर्काको मुखामुख गर्न थाले। एकछिन हलमा सन्नाटा छायो। त्यसपछि विपक्षी दलका कार्यकर्ता शिक्षकले मुख खोले, तपाईं र तपाईंको मन्त्रिपरिषद्, जनप्रतिनिधिका परिवारका सदस्य, आफन्त तपाईंको शासन पद्धतिमा विश्वास गरेर यही देशमा रहेका कति प्रतिशत छन्? तपाईंले गरेको शासन पद्धतिमा तपाईंकै आफ्ना भनौदाले विश्वास गर्दैनन् यो देशमै बस्दैनन् भने कस्कालाई शासन गर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू?
पुनः सन्नाटा छायो। शिक्षकका प्रतिनिधिको मुखमा चमक आयो भने प्रधानमन्त्री र सरकारका तर्फबाट सहभागीहरुको मुख कालो भयो।
समयतिर ध्यान दिएर गिलासबाट तातो पानीसँगै औषधि खाँदै प्रधानमन्त्रीले सन्नाटा चिर्नु भयो। बाहिर भन्न मिल्दैन, तपाईंहरु पनि गद्दार, अनि हामी पनि। गद्दार-गद्दारको वार्ताबाट गद्दारीकै समाधान निकाल्ने कि साच्चिकै जनपक्षीय निर्णय गर्ने त गुरुवर्गहरु?
शिक्षक प्रतिनिधिहरुले तितो भएपनि जनपक्षीय निर्णय गरौं न त भन्न थाले। अब पालो प्रधानमन्त्रीको थियो। हामीले हरेक क्षेत्रमा राजनीति घुसाएर शक्ति आर्जन गरेको साँचो हो। विद्यालयमा पनि तपाई शिक्षकहरु एक एक राजनीतिक पार्टिको एजेण्डा बोकेर काम गर्नु भएकै छ। तपाईंहरुलाई जोगाउनु हाम्रो कर्तव्य रहन्छ। तर हामीले राम्रालाई छोडेर हाम्रा छान्दै गर्दा, कुलमानहरुलाई खेदो खनेर लखेट्दै गर्दा कार्यकर्ताहरुबाट ताली थापिरहँदै गर्दा, आम नागरिकको माझमा जान सक्ने अवस्था छैन। आफ्ना नेता, कार्यकर्ता, समर्थक नभएको ठाउँमा मलाई नै धेरै चोटी लखेटेका दृष्टान्त छन्। अहिले भर्खरै पनि योग्यलाई भन्दा मालदार मान्छेलाई कानुनी छिद्रा प्रयोग गरेरै भए पनि गभर्नर बनाउने सहमति गरियो। तर यो सब गर्दा भित्र भित्र आत्मग्यानी भने अवश्य हुन्छ। तैपनि मेरा केटा, कार्यकर्ताहरुको अगाडि फूर्ती त लगाउनै पर्छ, हौसला बढाउनै पर्छ नि।
अब यसो गरौं, म अहिलेसम्म गरेका नकारात्मक कामबाट मुक्त हुन चाहन्छु। तपाईं शिक्षकहरुका सबै माग पुरा गर्दछु। तर एउटा सर्त छ। शिक्षक प्रतिनिधिले भने के सर्त होला प्रधानमन्त्रीज्यू?
प्रधानमन्त्रीले जवाफ फर्काउनु भयो, पहिलो कुरा अबको कानुनमा सरकारी (सामुदायिक) शिक्षकले अनिवार्य आफ्ना परिवारका सदस्यलाई सरकारी (सामुदायिक) विद्यालयमा नै पढाउनु पर्ने। यदि सो नगरेको खण्डमा शिक्षक पदबाट स्वत निस्कासन हुने।
दोस्रो, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्री, न्यायाधीश, विभिन्न आयोगका आयुक्त, सरकारी कर्मचारी, जनप्रतिनिधि बन्न आफ्ना परिवारका सदस्य यही देशमा अनिवार्य हुनु पर्ने।
यदि सो नभएको खण्डमा उक्त व्यक्तिले धारण गरेको जनप्रतिनिधि, सरकारी सेवा सुविधा वा सरकारी कर्मचारीका पद स्वतः खारेज हुने। अब उप्रान्त सरकारबाट सेवा सुविधा प्राप्त गर्ने कुनै पनि निकाय वा जनप्रतिनिधिका व्यक्ति र परिवारका सदस्यले आफूले गर्ने शासन व्यवस्थामा विश्वास गर्नेछन् र ढुक्कले आफूले यही देशमा पसिना बहाउनेछन्। म र मेरो टिम आफ्नो शासन व्यवस्थामा पूर्ण विश्वस्त छौं र हाम्रा परिवारका सदस्य यही देशमा रहनेछन् भन्ने प्रतिवद्धता व्यक्त गर्दछु।
शिक्षक गुरु वर्गहरु तपाईहरु तपाईंका लाइनमा क्लीयर भएर आफ्नो अध्यापनमा विश्वस्त भएर आफ्ना सन्तान र परिवारका सदस्यहरुलाई सरकारी (सामुदायिक) विद्यालयमा पढाउन तयार हुनुहुन्छ नि?
फेरि सन्नाटा छायो। यस पटक त सरकारी टोली र शिक्षक टोली दुबैको मुहारको मुस्कान खोसिएको थियो।
प्रधानमन्त्री थप्छन्, यदि तपाईंहरु आफ्नो अध्यापनमा विश्वस्त हुनुहुन्न भने तपाईंहरुको माग जायज हो त?
शिक्षक प्रतिनिधिहरुलाई प्रधानमन्त्रीसँग सवाल जवाफ गर्ने कुनै शब्द रहेन। निशब्द अनि निरीह शिक्षक देखेर प्रधानमन्त्री आफैंले मुख खोले।
हो, हुनु पर्ने, गर्नु पर्ने यही थियो। न तपाईं यो गर्न सक्नु हुन्छ न म नै। भिड जम्मा गरेर शक्ति प्रदर्शन गर्नुलाई गर्व गर्दै आएको मलाई तपाईंहरुको आन्दोलन कुनै नैलो लागेको छैन र छुँदा पनि छुँदैन। मेरै केटाहरुको निजी विद्यालय छन्, तपाईंहरुकै पनि छन् भन्ने सुनेको छु, ती सुकाउन म दिउँला त? सरकारी (सामुदायिक) विद्यालय राम्रो बनाएर?
ढुक्क हुनुहोस् म त्यसो गर्न कदापि दिने छैन। यदि मेरो पार्टी संगठनका मात्र आन्दोलन थियो भने माग पूरा गरिसक्ने थिएँ तर अरु पार्टीकाले पनि फाइदा लिने देखिदा मलाई यो आन्दोलनले नछोएको हो क्या।
तपाईंहरु सडकमा आन्दोलन गर्दै गर्नु निजी विद्यालयको सिट पूरा भएपछि केही मागमा सहमति गरेर आन्दोलन सकाउँदा कसो होला त गुरुवर्गह ?
शिक्षक प्रतिनिधिहरु पनि अक्क न बक्क भएर मौन समर्थन जनाएर पछि कुरा गरौंला भनेर निस्किए। निस्किदा ट्रान्समिटर पट्किएको आवाजले मेरो निद्रा खुल्यो।
यो सपना सपना मै सीमित होस् ।
Facebook Comment