प्रचण्डले मागे ओलीको राजीनामा

डिसी नेपाल
९ वैशाख २०८२ १५:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य प्रधानमन्त्री केपी ओलीले गुमाइसकेको बताएका छन्।

कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले लामो समयदेखि आन्दोलनरत शिक्षकसँग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरेकाले प्रधानमन्त्रीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको बताएका हुन्।

देशभरका शिक्षकहरू सडक आन्दोलनमा आउँदा पनि सरकारले कुनै तत्परता नदेखाउनु लाजमर्दो भएको उनले बताए।

प्रचण्डले शिक्षकलाई अपमानीत गर्ने काम बन्द गरेर शिक्षकहरूको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गरे। उनले आफ्नो माग पुरा नभएसम्म धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरे।

एमालेबाटै शिक्षामन्त्री भएका विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरकार गैरजिम्मेवार रहेको अर्को प्रमाण भएको उनले बताए। उनले सहकारी, डाक्टर लगाएत सवै क्षेत्रका व्यक्तिहरु आन्दोलनका लागि सडकमा आउनुपर्ने अवस्थाले सरकार पूर्णत असफल भइसकेको दाबी गरे।

प्रचण्डले केपी ओली नेतृत्वको सरकारको जन्म नै अलोकतान्त्रिक र असंवैधानिक भएकाले आफ्नै बोझका सकिने तर्क गरे। त्यस्तै प्रचण्डले सच्चा कम्युनिस्टलाई एक बनाउने जिम्मेवारी आफूहरूकै काँधमा रहेको उल्लेख गरे।

उनले कम्युनिष्ट एकता बलियो बनाउन एकैठाँउमा आउन अपिल गर्दै समाजवादी मोर्चामा अरुलाई पनि समेट्ने प्रयासमा रहेको बताए। प्रतिक्रियावादी र अवसरवादीहरूले माओवादीलाई अपमानित गर्ने काम गरेको उल्लेख गर्दै प्रचण्डले प्रत्येक पटक माओवादी नयाँ ढंगले उठेर अघि बढिरहेको धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *