शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा राजीनामा: झलनाथ खनाल

डिसी नेपाल
९ वैशाख २०८२ १८:३९

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले शिक्षकहरुको माग पुरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको बताएका हुन्। समाजवादी शिक्षा स्थापित गर्छु भन्ने पार्टीका नेता अहिले प्रधानमन्त्री भएपछि लाखौं शिक्षकहरुको मागलाई कुल्चिएर हिडेको उनले बताए।

त्यस्तै उनले कम्युनिष्ट पार्टीले घोषणापत्रमा उल्लेख गरेका विषयलाइ सत्तामा पुगेपछि वेवास्ता गरेका कारण जनताले नपत्याउने अवस्था सिर्जना भएको धारणा राखे। खनालले कांग्रेसको पिठ्युँमा बसेर एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने घमण्ड गरेको तर्क गरे।

कांग्रेसको पिठ्युँमा बसेर केहिदिन अघिसम्म कराइरहेका प्रचण्ड बाहिर आएपछि क्रान्तिकारी जस्तो कुरा गर्न लागेको उनले बताए। उनले कांग्रेस दलाल पूँजीपति वर्गको पार्टी भएको धारणा राखे। खनालले कम्युनिष्ट पार्टीबाट विगतमा भएका गल्ती कमजोरीलाई सुधार गर्दै अघि बढाउने दिशामा आफू बढेको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *