‘एचपिभी खोपका लागि अभिभावकमा सचेतना आवश्यक’

डिसी नेपाल
९ वैशाख २०८२ २२:५६

मोरङ। ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोपका लागि अभिभावकमा सचेतना आवश्यक रहेकाे सरोकारवालाहरूले जोड दिएका छन्।

प्रदेश खोप समन्वय समितिले आज विराटनगरमा आयोजना गरेको हालै सम्पन्न एचपिभी खोप कार्यक्रमको समीक्षा कार्यक्रममा उनीहरूले अभिभावक सचेत नभएसम्म खोप कार्यक्रम प्रभावकारी नहुने बताए।

सहभागीहरूले एचपिभी खोप कार्यक्रम विद्यालयस्तरमा सञ्चालन गरिने हुँदा अभिभावकले बालबालिकाको सहभागिताका लागि अनुमति नदिँदा समस्या हुने गरेको धारणा राखे। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव राधिका थपलियाले खोपमा समन्वय आवश्यक रहेको बताए। गत फागुन २२ देखि प्रदेशमा सुरु भएको एचपिभी खोप अभियानमा ८७ प्रतिशतमा खोप पहुँच रहेको उनले जानकारी दिए।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले खोप कार्यक्रम सफल भए पनि प्रभावकारी सञ्चालनका लागि स्थानीयस्तरमा सचेतना आवश्यक देखिएको बताए। निर्देशक बस्नेतले ‘खोज र खोप लगाउ’ मुख्य नारासहित वैशाख महिनालाई खोप महिनाका रूपमा मनाइने घोषणा गरिएको बताए।

निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले नेपालमा राष्ट्रिय खोप ऐन २०७२ अनुसार खोप कार्यक्रम व्यवस्थित गरिएको तर यसबारे स्थानीयस्तरसम्म सचेतना बढाउनुपर्ने महसुस भएको धारणा राखे। विश्व स्वास्थ्य संगठनका डा पवन उपाध्यायले संक्रमणकालीन पोलियो योजना २०७९–२०८६ कार्यान्वयनमा रहेको उल्लेख गरे।

एचपिभी खोप अभियानका क्रममा मोरङ र सुनसरीजस्ता सहरी क्षेत्रमा बढी समस्या देखिएको तर पहाडी र हिमाली जिल्लामा खोप कार्यक्रम सञ्चालनमा कुनै समस्या नभएको कार्यक्रममा जानकारी दिइयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *