शैक्षिक रूपान्तरण र पूर्वाधार विकासका लागि पाँचथरको अमरपुर माविमा महायज्ञ सुरु

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–१ मा अवस्थित श्री अमरपुर माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षाको विस्तार र पूर्वाधार विकासका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ-२०८२ सुरु गरेको छ। विद्यालय प्राङ्गणमा वैशाख ६ गतेदेखि सुरु भएको महायज्ञ वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ।
पूर्व मन्त्री प्रेमराज आङदेम्बेको पहलमा वि.सं. २०१६ सालमा ‘आदर्श प्रेम मिडिल स्कुल’को रुपमा स्थापना भएको विद्यालयले हाल कक्षा १२ सम्म पठनपाठन गराउँदै आएको छ।
विद्यालयले अंग्रेजी माध्यमका आवासीय कक्षाहरू सञ्चालन गर्दै व्यवस्थापन विषयसहितको कक्षा १२ सम्मको अध्यापन सुनिश्चित गर्न र विद्यार्थीहरूलाई अन्यत्र जान नपर्ने वातावरण तयार पार्न दिगो कोष स्थापना गर्नका लागि महायज्ञको आयोजना गरेको हो।
विद्यालयका प्रधानाध्यापक डम्मरबहादुर कार्की र व्यवस्थापन समिति अध्यक्ष भवानीप्रसाद लिङ्देनले महायज्ञमार्फत संकलित आर्थिक तथा सामाजिक सहयोगले विद्यालयको भौतिक पूर्वाधार, प्रविधि शिक्षाको विस्तार, अंग्रेजी माध्यम कक्षाहरूको स्थायी सञ्चालन तथा गुणस्तरीय शिक्षाको पहुँच अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
विद्यालयमा हाल कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाइ भइरहेको छ भने कक्षा ११/१२ मा मानविकी, शिक्षा र व्यवस्थापन विषयहरू सञ्चालनमा छन्।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न वर्गका रहेका छन्। ग्रामीण क्षेत्रबाट शिक्षा प्राप्तिका लागि शहर जान नसक्ने अवस्था भएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले गुणस्तरीय शिक्षाको दिगो स्रोत सुनिश्चित गर्न महायज्ञ आयोजना गरेको हो।
महायज्ञको पहिलो दिन वैशाख ६ गते बिहान ९ बजे कलश शोभायात्रा तथा दिउँसो १ बजे उद्घाटन, मण्डप पूजन र पूर्वाङ्ग कार्यक्रम सम्पन्न भएको छ। वैशाख ७ गतेदेखि १३ गतेसम्म दैनिक पूजा, पाठपारायण, कथा वाचन, भजनकीर्तन, झाँकी प्रदर्शन र ज्ञानमञ्च कार्यक्रम सञ्चालन भइरहेका छन्।
भागवत कथा वाचन प्रसिद्ध पण्डितहरू राजेन्द्र ढकाल, मेघराज भण्डारी र डम्बर भण्डारीले गरिरहेका छन्। साथै, रुद्राभिषेक तथा हवन कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेको छ।
महायज्ञमा दिवंगत संस्थापक, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको आत्माको शान्तिको कामनार्थ दीप प्रज्वलन गरिएको छ। साथै, समापन समारोहसम्म प्रत्येक दिन दाताहरूको सम्मान, पूर्व शिक्षक तथा विद्यार्थीहरूको अभिनन्दन कार्यक्रम पनि सञ्चालन हुने आयोजक समितिले जनाएको छ।
विद्यालयबाट हजारौं विद्यार्थीहरू दीक्षित भई राज्यका विभिन्न तह र क्षेत्रहरूमा पुगी नेतृत्व गरिसकेका छन्। उक्त विद्यालयका पूर्व विद्यार्थीहरू हाल देश–विदेशका विभिन्न स्थानहरूमा विविध जिम्मेवारी सम्हाल्दै आएका छन्।
यही पृष्ठभूमिमा, विद्यालय परिवारले देश–विदेशमा रहेका सम्पूर्ण पूर्व विद्यार्थीहरू तथा अभिभावकहरूलाई अभियान सफल पार्न सहयोग गर्न अपिल गरेको छ।
आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरूले हिमालयन बैंक लिमिटेड, हिलिहाङ शाखामा Shree Amarpur Ma. Vi. – Puran Akshay Ko को नाममा रहेको खाता नं. 26351311420025 मा रकम जम्मा गरी सहयोग गर्न सक्नेछन्।
विद्यालय परिवारले आसपासका पालिका र जिल्लाहरूबाट समाजसेवी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, धर्मानुरागी तथा सम्पूर्ण शुभेच्छुकहरूलाई परिवार सहित महायज्ञमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।
महायज्ञको समापन वैशाख १३ गते विशेष समारोहका साथ गरिनेछ।
Facebook Comment