राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद वैशाख २१ गतेसम्म थप

डिसी नेपाल
१० वैशाख २०८२ ९:१५

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले पहिलो चरणको निर्धारित समयमा ऋणपत्र बिक्री नभएपछि वैशाख २१ गतेसम्म म्याद थप गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसअवधिमा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि जुनसुकै दिन पनि सूचना निकालेर आवेदन दिने म्याद सकिएको जानकारी गराउने बैंकले जनाएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमध्ये १५ लाख इकाई बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्नेछ । बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । ९ लाख ५० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंकले ७ वर्ष अवधि भएको ‘७५ आरबीबीएल डिबेन्चर २०८८’ बिक्रीमा ल्याएको हो । उक्त डिबेन्चरको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ । यसमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम निष्काशित सबै इकाईका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । केयर रेटिङ्स नेपालले बैंकलाई केयर एनपी ए प्लस इस्यूअर रेटङ प्रदान गरेको छ । यसले बैंकको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता तुलनात्मकरुपमा पर्याप्त रहेको र न्यूनतम कर्जा जोखिम भएको संकेत गर्दछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *