प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ : पूर्णबहादुर खड्का

डिसी नेपाल
१० वैशाख २०८२ १४:०६

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमालेसँग भएको सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिला भएको स्वीकार गरेका छन्।

पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै संविधान संशोधन गर्नु नै दुई ठूला पार्टीको मुख्य उद्देश्य भएको बताए।

उनले भने, ‘संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ। संयन्त्रमा म छु। पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन। अब चाँडै नै भएको सहमतिको आधारमा कांग्रेस र एमालेको बीचमा कार्यदल बनाएर, कार्यदलले दुई दलको बीचमा आन्तरिक छलफल गरेर आधार तयार गर्ने, त्यो आधारको जगमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र संसद्मा रहेका अन्य दलहरूसँग संवाद गर्ने।’

उनले संसदमा सहमति भएपछि संसदबाट कुनै आवश्यकता अनुसारको संरचना तयार गरेर सहमति भएका विषयलाई समेटेर संशोधन गर्नुपर्ने बताए। उनले समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायत जनताले प्राप्त गरेको अधिकार नघट्ने गरी गर्ने बताए।

खड्काले सरकारको कमीकमजोरी सच्याउन आवश्यक भएपनि दुई दलबीचको सहमतिमा दायाँबायाँ नहुने बताए।

उनले भने, ‘सभापतिले पनि भन्दै आउनुभएको छ, सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यक छ। त्यसलाई सच्याउनुपर्छ। प्रधानमन्त्रीलाई हामीले भनेका छौँ, नागरिकको भावनालाई बुझेर बाहिर देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ।’ उनले प्रधानमन्त्रीले पनि जनतामा भएको असन्तुष्टिलाई घटाउँदै जानुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *