सत्ता संकटको संघारमा प्रधानमन्त्री केपी ओली

पूर्ण ओली
१२ वैशाख २०८२ १०:१६

कुनै समय देशको लागि केही गर्न खोज्ने लोकप्रिय नेता केपी ओली अहिले अत्यन्त अलोकप्रिय हुँदै गएका देखिन्छन्। त्यसमा प्रमुख रुपमा आफ्नै कमजोरी छन् भने केही बिरोधीका कारण पनि उनलाई अलोकप्रिय बनाउने कार्य भएका छन्।

एमालेको पहिलो सरकारका गृहमन्त्री जसको कार्यकालमा प्रहरीले १ गोली पनि चलाएन। नेकपाको झण्डै दुई तिहाइ भएको बेलामा ठूला र देशका हितमा कृषि मल कारखाना बनाउने उद्घोष गरेका र त्यही बेलामा सुनकोशी मरिन डाइभर्सनको अत्यन्त उपयोगी सिचाइँ आयोजना सुरु गरेका थिए।

त्यस्तै गरेर भारतले नाकाबन्दी लगाएर दुःख दिएपछि चीनसँग ब्यापार तथा पारवहन सन्धी गरेर नेपालको हितमा महत्वपूर्ण कार्य गरेका थिए। भलै यसलाई कार्यन्वयनमा पुर्‍याउन ढिला गरिएको छ। चीनसँग अत्यन्त महत्वपूर्ण सम्झौता बीआरआईमा हस्ताक्षार गरेर पनि कार्यन्वयन नगर्नुृ भारतलाई खुसी पार्ने दाउ हो।

अहिले उनको चौथो पटक संबिधान संशोधन गर्ने भनिएपनि त्यसतर्फ सुरुवात नै गरिएन। यसपालि प्रधानमन्त्री भएपछि उनीबाट धेरै ठूला गल्ती हुँदै गए। सरकारबाट बाहिर जानु परेको कारण माओवादी अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको धुवाँधार बिरोधमा उत्रिएका छन्।

अर्कोतर्फ भारतले पनि ओलीलाई नेपालको सम्पूर्ण भाग समेटेर बनाइएको चुच्चे नक्सा जारी गरेपछि सदनबाट दुई तिहाइले पास गरेपछि मोदी सरकार निकै चिढिएको छ। तर यो नेपालको लागि अत्यन्त सरहानीय कार्य थियो।

त्यही भएर उनको चौथो कार्यकालमा भारत भ्रमणको निम्तो पाएका छैनन्। त्यसका लागि प्रधानमन्त्री केपी ओलीले हतार गर्न आवश्यक थिएन। उनले लगातार नेपाली जनताको हितमा ठोस कदम चालेर नेपालीको मन जित्नु पर्ने थियो।

तर प्रधानमन्त्री ओलीले त्यसतर्फ ध्यान दिएको देखिएन। सायद उनका सल्लाहकार पनि उनको स्वार्थमा लागेर देश र जनताको हितमा भन्दा आफ्नो जागिर जोगाउन प्रधानन्त्रीको चाकडीमा मात्र लागेको देखिन्छ।

अहिले काँग्रेस र एमालेको सरकारमा काँग्रेसका मन्त्रीको कारण पनि सरकारको निकै बिरोध भएको छ। अहिलेसम्म कर्मचारीमा निकै लोकप्रिय भएका कुलमान घिसिङ हटाउने काम भयो। जसले गर्दा ओली सरकारले चर्को आलोचना खेप्नुपर्‍यो। कुलमानले नेपालको लोडसेडिङ हटाएर नेपालमा उज्यालो पार्न प्रमुख भूमिका निभाए।

घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामा मात्र पु¥याएनन् गाउँ गाउँसम्म विद्युतीकरण गरे तर बिचौलियाको कुरा सुनेर उनलाई हटाइयो। ब्यापारीबाट उठ्नु पर्ने अरबौ रकम दाखिला गर्ने प्रयासरत भएका कुलमानको बिरुद्ध केही उद्योगपतिको हितमा आएर उक्त रकम उठाउन बाधा पुर्‍याइयो।

यसमा सरकारका उर्जामन्त्री दीपक खड्काको पनि प्रमुख हात छ। किनकि उनी आफै हाइड्रो पावर संचालक र बदनाम ब्यापारी हुन्। उनले स्काउटको जग्गाको भाडा नतिरेको पनि उनलाई मुद्दा परिरहेको छ। यसबाट पनि ओली सरकारको ठूलो बदनाम भयो।

अहिले कुलमानको राम्रो कार्यको समर्थन गर्ने उर्जा राज्यमन्त्रीलाई पनि बर्खास्त गरियो। अर्को प्रमुख बिषय काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग टक्कर लिन थाले। जो आफैं काम गरेर निकै लोकप्रिय भएका छन्। उनले न्युरोडमा फुटपाथ बनाउन सुरु गरेका थिए।

त्यही बेलामा वडा नम्बर २२ का एमाले वडा अध्यक्षले बाधा पु¥याए। जसलाई तात्कालीन एमालेका यातायातमन्त्री रघुबीर महासेठले भत्काइसकेको सडक पुर्न लगाए। यस्मा प्रधानमन्त्रीको प्रमुख हात रहेको पाइन्छ।

प्रधानमन्त्री बदनाम हुने अत्यन्त महत्वपूर्ण बिषय राजाबादीसँग अनावश्यक टक्कर लिनु हो। फागुन २५ गते राजा ज्ञानेन्द्र बिराटनगरबाट काठमाडौं आउँदा उनको स्वागतमा विमानस्थलदेखि निर्मल निवाससम्म लाखौं जनताको उपस्थिति रह्यो।

यसपछि गणतन्त्रबादीहरु निकै अत्तालिएका देखिए। त्यसपछि चैत १५ गते तीनकुनेमा राजावादीले कार्यक्रम स्थल बनाएर जुलुस र आमसभा गरे। उक्त आमसभामा चारैतिरबाट मानिसहरु भेला हुँदै थिए। आमसभा सुरु हुनको लागि राष्ट्रिय गान बज्दै थियो।

पहिलादेखि नजिकै घरको छतमा राखिएका प्रहरीले मन्चमा एक्कासी टियर ग्यासको बर्षा गरे। त्यसपछि आमसभा बिथोलियो। सबै जनताको भागाभाग भयो। कसैले प्रहरी माथि ढुंगामुढा बर्षाउन थाले। प्रहरीले गोली बर्सायो धेरै मानिस घाइते भए, केहीको निधन भयो।

त्यही बेलामा आन्दोलनका नेता दुर्गा प्रसाईंले प्रहरी भएतर्फ गाडी दौडाएर लगे। तर उनको गाडीमा लाठी बर्षाए पनि उनलाई पक्राउ गरिएन र भाग्नमा मद्दत पुर्‍याइयो। घरमा आगलागी भयो। एकजना पत्रकार ढोका बन्द गरिएको कोठामा मृत फेला परे। भाटभटेनीमा लुटपाट भयो। जडिबुटी उद्योगमा आगो लगाएर ध्वस्त पारियो।

यो सबै रहस्यमय छ। यति हुँदा पनि राजावादीका प्रमुख नेता सहित धेरै जनता पक्राउ गरी मुद्दा चलाइएको छ। यसमा प्रमुख रुपमा गृह प्रशासन दोषी छ। तर गृहमन्त्री, सचिव तथा आइजिपी तथा सिडिओलाई कुनै सोधपुछसम्म गरिएन।

सरकारले अहिलेसम्म निष्पक्ष छानबीन आयोग गठन गरेन। यस घटनामा अन्तर्राष्ट्रिय मानव अधिकारबादी संस्थाको पनि ध्यान आकर्षण भएर छानबीन भइरहेको बुझिएको छ। यसपछि यो सरकारले आफ्ना कमजोरी लुकाउने प्रयास गरेको बुझिन्छ। परिणामस्वरुप ओली सरकार अत्यन्त बदनाम भएको छ।

त्यहिबेलामा गणतन्त्रबादीले भृकुटीमण्डपमा गरिएको आमसभामा सुरक्षा निकाय खासै खटाएको देखिएन। त्यसकारण सरकार जसरी भएपनि राजावादीलाई जतिसक्तो बढी उत्तेजित पारेर बदनाम गर्न खोजेको बुझिन्छ।

अहिले ओली एक्लै आफ्ना बिरोधीलगायत राजा समर्थकसँग भिडिरहेका छन्। यसमा जनताको आशय बुझेर सरकारले भने अनुसार संविधानमा केही संशोधन गरि राजसंस्थासहित देशमा हिन्दुराष्ट्र कायम गर्नेतर्फ वार्ता मात्र सुरु भएपनि देशमा शान्ति सुब्यबस्था कायम गरि देश बिकास गर्न सकिन्थ्यो। तर त्यसतर्फ सरकार नलागी सबैसँग टकराव मात्र चाहेको हो वा अहंकार हो?

सरकार कृषकको उत्पादनमा सघाउ पुर्‍याउन, बिदेश जाने युवा रोक्नेतर्फ कुनै योजना र कार्यन्वयन गरेको देखिँदैन। स्वदेशको शिक्षाको स्तर बढाउन शिक्षामा राजनीति बन्द गराउन लागेको देखिँदैन। शिक्षक पनि आन्दोलनमा लागेर बिद्यार्थीको भविष्य झनै बिगारिरहेका छन्।

सरकारले शिक्षकका मागहरु प्हिलादेखिनै आश्वासन दिने तर पूरा नगर्ने भएकाले बिश्वास गर्न सकेका छैनन्। सरकार बिचौलिया र आफ्ना कार्यकर्ताको हितमा मात्र कार्य गरिरहेको भान हुँदैछ। यी सबै कारणबाट प्रधानमन्त्री ओली कुनै जमानामा गिरिजाप्रसाद बदनाम भएका भन्दा पनि बढी बदनामी हुँदै गएका देखिन्छन्।

त्यही भएर प्रधानमन्त्रीको आक्रोश मात्र बढेको उनको बोली र ब्यबहारमा पाइन्छ। तर उनी सच्चिने र सही बाटोमा लाग्ने लक्षण देखिँदैन। देश खाद्यान्नमा आत्मनिर्भर बनाउने, कार्यकर्तालाई उत्पादनमा लगाएको कुनै योजना पाइँदैन जुन अत्यन्त आबश्यक छ। प्रधानमन्त्रीका सबै कार्य गलत हुँदै गएका छन्।

२२ दिनदेखि आफ्नै दलका भातृ संगठन जस्ता शिक्षकहरु सडकमा छन्। शिक्षामन्त्रीले राजीनामा दिएकी छन्। सरकारले यसलाई हलुका रुपमा लिएर अर्को शिक्षामन्त्री नियुक्ति गरिसक्यो। अब केही दिनपछि निजामती कर्मचारी आन्दोलनमा आउने कुरा छ। डाक्टर पनि आन्दोलित छन्।

यसरी कसरी चल्छ देश प्रधानमन्त्रीज्यू? अब देशमा भाँडमैलो बनाएर कसरी सत्तामा टाँसिन मिल्छ? पहिला पहिला केपी ओलीको बोलीको महत्व हुन्थ्यो। अहिले जनताहरु प्रधानमन्त्रीको आवाज सुन्न चाहँदैनन्। कार्यकर्ताको तालीले मात्र पुग्छ प्रधानमन्त्रीज्यू? अब राजीनामा दिएपनि देश सम्भाल्न सक्ने स्थिति देखिँदैन।

तत्काल सर्वदलीय सरकार बनाएर संविधानमा आवश्यक संशोधन गरिहाल्नुहोस्। नभए सेनाले केही समय सत्ता लिनै पर्ने देखिन्छ। छिमेकी देश भारत र पाकिस्तानबीच युद्धको भुमरी मडारिन थालेको छ। नेपालले पनि आफ्नो खुला सिमानालगायतका सुरक्षालाई मजबुत बनाउन र सेना, शसस्त्र प्रहरी अरु बढी सतर्क बनाउन आबश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *