संवाद कविता श्रृङ्खला-९

१.
“श्रम मन्त्री ज्यू, नमस्कार
म बद्रिप्रसाद
तपाईंको गोठाले साथी
मास्टर्स गरेर
नाति बेरोजगार छ
लौन एउटा रोजगार देउन यार”
“नमस्कार बद्रिप्रसादजी
धेरै पछि भेट भो
खुशी लागेको छ
नेपालमा के रोजगार खोज्नु हुन्छ ?
बेरोजगार उत्पादन गर्ने देश
नातिलाई विदेश नपठाएर गल्ति गर्नु भो यार।”
२.
“ हेल्लो राकेशजी
युवा पलायन भै सके
पार्टी नीति के छ?
देश विकास कसरी हुन्छ?
श्रमशक्ति नै नभए पछि
जन्ती, मलामी पाइनै छोडे युवा जति हिडे पछि”
“ अरे विभक्तजी
युवा पलायन कसरी रोक्ने?
समीक्षा बैठक बस्दै छ त
यो ढंगले देश विकास असंभवै छ
श्रमशक्ति रोक्नलाई
पर्टीले युवा स्वरोजगार कार्यक्रम ल्याएको छ त।”
३.
“ओ, सुप्रियाजी
तपाईं युवा संघको इन्चार्ज अरे
युवा संघ कसरी चल्दै छ त?
एउटा विधान दिनोस मलाई
सांगठनिक ढाँचा के छ ?
सदस्यता ग्रहण गर्न के के आवश्यक रे छ?”
“अरे, मञ्जिलाजी
संगठन चलाउन निकै गाह्रो
इन्चार्ज उस्तै साह्रो
युवा पलायन रोक्नु छ के
विधान छैन आज
सदस्यता लिनोस ढुक्कसँग होस्टे हैँसे गरौ अब।”
४.
“शिव दाइ नमस्कार
सञ्चै हुनुहुन्छ नि
पसल कस्तो चल्दै छ त?
बालसखा हैनौ हामी?
स्कुल जाँदा आउँदा
समयले विरानो बनायो आउन जान टुटे पछि”
“ए प्रकाश भाइ
कताबाट आज?
सञ्चै छु हौ म त
येनकेन पसल चलेकै छ
वर्षौ पछि भेट भो आज
खाना नखाई जानै दिन्न कहाँ जान्छौ अब?”
५.
“मेयर साप, नमस्कार
एउटा योजना मागौँ भनेको
बजेट बाँडफाँड के छ कुन्नि?
तपाई त लँगौटीया साथी
चुनाव जिताउन पनि
रात दिन खटेकै हुँ त’’
“हरि सर नमस्कार
के योजना माग्ने हो त?
बजेट बाँडफाँड हुने काम बाँकी नै छ
योजना कतिलाई पुर्याउन सकिन्छ र?
लँगौटीया साथी धेरै नै छन्
भनि हाल्नु भो एउटा विद्यालय भवन लैजानोस न त।’’
६.
“वि.व्य.स. अध्यक्ष ज्यू
विद्यालय कस्तो चल्दै छ त?
भवन निर्माण कहाँ पुग्यो?
अनुगमनमा आउन पनि भ्याको छैन
राम्रो गर्नोस् है
फरफारकमा समस्या होला नत्र’’
“इन्जिनियर साप, नमस्कार
विद्यालय राम्रै सँग चली रा छ
भवन निर्माण अन्तिम चरण पुग्यो
केही प्राविधिक कुरा सोध्नु थियो
सकेसम्म राम्रै गर्छौ
फरफारकमा समस्या नहोला सर।’’
७.
“वकिल साप, नमस्कार
के मा व्यस्त हुनुहुन्छ कुन्नि?
एउटा मुद्दा हालौँ भनेको
बादी माथि प्रतिवादी खाप्नु पर्ने
तपाई नाम चलेको वकिल
तपाईलाई रिझाउन मैले के के गर्नु पर्ने?’’
“अरे, हर्षनारायणजी पो
म मिसिल लेख्न व्यस्त छु त
मुद्दा जित्न सहज छैन
प्रतिवादी खाप्नु झनै गाह्रो
नाम चलेर के हुन्छ र यार?
साक्षी प्रमाण नजुटाए मुद्दा जित्न गाह्रो हुन्छ हजुर।’’
८.
“डीएसपी साहेब
एउटा शिकायत गरौँ भनेको
हजुरको समय कस्तो छ कुन्नि?
एउटा भाइलाई छुटाउनै पर्ने
कस्तो काजग गर्नु पर्ला ?
उ त पार्टीको ठुलै नेता हो नि हजुर ’’
“ए पार्टी अध्यक्ष ज्यू पो
के शिकायत होला यहाँको
अलि व्यस्तै छु पो
ज्यानमारालाई छुटाउन आउनु भा हो?
कागज गरी ज्यानमारालाई छोड्न सकिँदैन
म पनि त जिल्ला इन्चार्ज सुरक्षा चुनौति व्यहोर्नु पर्दैन र?’’
९.
“ ओ सुलोचनाजी
तपाई अ.ने.म. संघको कार्यकर्ता हैन?
कुन चाहिँ पोष्टमा हुनुहु्न्छ?
पोष्ट ठुलो हैन होला
परिवर्तन ठुलो हुनु पर्ने
रक्सी खाई स्वास्नी भकुर्नेलाई किन कारवाही गर्नु हुन्न?’’
“ए रनमाया दिदी पो
अ.ने.म संघकै कार्यकर्ता त हुँ नी
सचिवको जिम्मेवारीमा म छु
पोष्ट ठुलो हुँदै हैन
परिवर्तन नै ठुलो हो त
बेथिति मौलाईरहेछ अपराधीलाई कारबाही गर्दै जानु पर्छ।’’
१०.
“हेल्लो एनपीए सर
राँचीबाट कैले आउनु भो हौ?
पत्ता खबर केही छैन
माया मारे जस्तै लाग्यो
डक्टर भेट्न राँची जानु पर्ने
औषधिको मात्रा घटाउनु छ के ’’
‘‘ओ, हेडसर
राँची बाट आको पन्ध्र दिन भो
खनार तिरै छु त
माया किन मार्थे र हौँ
औषधिको मात्रा मिलाउनलाई
डक्टर भेट्न राँची जाने हो त?’’
सुन्दहरैंचा-६, दुलारी, मोरङ
Facebook Comment