चलचित्र ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश

काठमाडाैं। अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश भएको छ। निर्देशक अशोक र धिरजले ‘जलाकी’को लागि दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनीहरुले गतवर्षको हिट सिनेमा ‘खुस्मा’मा सहकार्य गरेका थिए।
बागलुङको कालिका मन्दिरबाट छायांकन सुरु गरिएको सिनेमाको केही दिन अगाडि पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । धिरजले दोस्रो चरणको छायांकन सुरु भएपछि सेट जोइन गर्ने निर्देशक अशोक थापा मगरले बताए ।
त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमामा धिरजसहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेको छ । मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेव्यु सिनेमा हो ।
कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । यो सिनेमाको छायांकन तिन चरणमा गरिनेछ । रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको संस्कृतीलाई झल्काउने छ ।
एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको सिनेमाका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । सिनेमामा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
सिनेमाको शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ । निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकिय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो ।
Facebook Comment