धरान र विराटनगरको भ्रमण (भाग १: विराटनगर)

२०८१ साल मार्ग १९ गते तदअनुसार २०२४ डिसेम्बर ४ तारिख बुधबार। बिहान सबेरै उठेर यात्राको निम्ति सामान मिलाउन थालेँ। सकेसम्म थोरै सामान लिएर जाने भन्दा भन्दै लुगा नै धेरै हुन थाले।
धरानमा एउटा बिहेमा पनि सरिक हुनुपर्ने तथा पिताजीको यात्रा संस्मरण बारेको नयाँ पुस्तकको विराटनगरमा सार्वजनिकीकरण पनि गर्नुपर्ने भएकोले सोही अनुरुपको कपडा र सामान साथमा लिएर जानुपर्ने। त्यस माथि पुस्तकहरू पनि प्रसस्त लग्नु पर्ने। हुन त केही दिन अघि हवाईजहाज र बसबाट विराटनगर र धरानमा गरी करीव दुई सय वटा पुस्तक पठाइसकेको थिएँ।
१० बजेको हवाइजहाजमा विराटनगर जानको निम्ति ९ बजे त्रिभुवन विमानस्थलमा पुगेँ। साथमा मित्र प्रकाश कुइँकेल पनि। छोरा सांगितिक कार्यक्रमको निम्ति विदेश गएकोले छिमेकको भतिजलाई विमानस्थलसम्म पुर्याइदिने आग्रह गरेँ। उसले पनि जिस्कँदै ‘अंकलले भन्नुभयो भने त धरान नै पुर्याउँछु नि’ भनेर आफ्नो सदाशयता दर्शायो। यही नै त हो नि एकापसको भाइचारा, माया, सद्भाव र सहयोग भनेको।
यसपालीको यात्रामा कुनै पनि प्रकारको तनाव नलिने प्रण नै गरेको थिएँ मैले मनमनै। त्यसैले विमानस्थलमा जति कुर्नु परे पनि वा विराटनगर पुगेपछि र धरान जान सहज यातायात मिलोस् या नमिलोसे, होटेल जस्तोसुकै मिलोस् कुनै चिजको पर्वाह नगरीकन यसपालीको यात्राको पुरापुर आनन्द लिन्छु भन्ने विचारले म घरबाट निस्केको थिएँ।
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलभित्र पसेर आफ्नो गन्तव्यमा जाने विमानसेवाको काउन्टरमा लाममा बस्यौँ। केही बेरमा नै बोर्डिङ पास हातमा पारेर सुरक्षा जाँच गराए पछि प्रतिक्षाकक्षमा गयौँ। खचाखच भरिएको।
तर हिजोआज त्यहाँ बस्ने सिट तथा सफा शौचालयको उपलब्धताका साथै वाइफाइको पनि व्यवस्था भएकोले सबै आआफ्ना फोनमा झुण्डिरहेका। चिया, कफी र अन्य छिटो खान मिल्ने खाना र स्न्याक्सको बन्दोवस्ती भए पनि त्यो आम नेपालीको पहुँच भन्दा टाढाको वस्तु भएको छ चर्को मूल्यले गर्दा।
तैपनि चिया र कफी अनि अन्य पेय पदार्थ र स्न्याक्सको आनन्द लिने पनि धेरै थिए। विदेशी पर्यटकको संख्या पनि निकै बढेको भान हुन्थ्यो त्यहाँ भएका विदेशी यात्रुहरूलाई हेर्दा। केही बेर त्यहाँ राखिएका दैनिक अखवार पढेँ।
आज विराटनगर विमानस्थल सफा मौसमको कारण छिटै खुलेछ, त्यसैले हाम्रो जहाज पनि ठीक समयमा नै प्रस्थान गर्ने सूचना पाएर हामी विमान तर्पm लाग्यौँ। तर विमानमा यात्रुहरू खचाखच भरिँदा पनि निकै बेर कुराइमा पर्यौँ। विमानकी परिचारिकाले अन्य विमानको उडान र अवतरणको कारण विमान केही समय ढिलो उड्ने कुरा बताइन्।
तर केही छिनको पर्खाइ पछि एक जना यात्रु विमानको पछिल्लो सिटमा बस्ने वित्तिकै विमानको ढोका बन्द गरियो र इन्जिन चल्न शुरु भयोे। वास्तवमा कुनै तथाकथित महत्वपूर्ण व्यक्तिको कारण हाम्रो विमान उनलाई कुरेर बसिरहेको रहेछ। तर पनि कुनै तनाव नलिने वाचालाई सम्झेर मनमा सकारात्मक सोचको प्रवाह गरेर यात्राको आनन्द लिन थालेँ।
धावनमार्गमा विमान गुड्न थाले पछि त्यहाँ भइरहेको ट्याक्सी वे तथा अन्य निर्माण कार्यको जायजा विमानको झ्यालबाट लिएँ। जहाज गुडिरहँदा नेपालमा हुने विमान दुर्घटनाका घटनाहरू पनि आँखा अगाडि नआएका होइनन्।
आफू सवार एटीआर ७२ जस्तै राम्रोमा गनिएको एउटा विमान अनाहकमा परार साल माघे संक्रान्तिको दिनमा पोखराको सेती नदीको खोँचमा खसेको कुरा सम्झेर आङ सिरिङ भयो।
हेलिकप्टर दुर्घटनामा परेर निधन भएका आङछिरिङ कै हो क्यार सो विमान कम्पनी। तर पनि जन्मे पछि जसरी मर्न लेखेको भए पनि त्यो स्विकार्य छ भन्ने सकारात्मक सोचको प्रवाह फेरी गरेँ मनमा।
आखिर जहाज उड्यो, मैले पनि अन्य यात्रुले जस्तै ईश्वर सम्झेँ र उड्ने बेलामा दह्रो गरेर विमानको सिटमा समाएँ, मानौँ कि मैले त्यसरी सिट समाए पछि जहाजमा हुने गडबडीलाई पनि नियन्त्रणमा लिन सक्छु कि जस्तो। मनले यस्तो कृया आफैं गरेको पनि मनभित्र लुकेको चरम भयले गर्दा त होला नि।
जहाजले आकाशमा यता उता गर्दै नाचेर आफ्नो गन्तव्यतिर जाँदै गर्दा मैले यो सब प्रकृयालाई सहज रूपमा स्विकारेर आकाश, बादल, हिमाल, पहाड र नदीनालाका दृश्य हेरेर मनलाई प्रफुल्लित बनाइ रहेँ।
डाँडाकाँडा र विशाल कोशी नदी पार गरेर उडेको ३५ मिनेटमा नै जहाजले विराटनगर विमानस्थलको धावनमार्गमा अवतरण ग¥यो। काठमाडौँ भन्दा थोरै मात्र बढी तापक्रम। उहिले उहिले काठमाडौंमा यो याममा निकै जाडो हुन्थ्यो तर हाल विभिन्न कारणले गर्दा जाडो भाग्दै गएको छ।
गर्मीयाममा पहिले पहिले विराटनगर र तराईका अन्य विमानस्थलबाट विमानमा बसेर काठमाडौँमा अवतरण गरे पछि विमानको ढोकाबाट बाहिर निस्कँदा रेफ्रिजिरेटरभित्र पसे जस्तो चिसो अनुभव हुन्थ्यो र घरमा आएर खाना खान सिङ्कमा हात धुँदा आनन्दको चिसो महसुस हुन्थ्यो। तर अब काठमाडौँ पनि गरम स्थानमा गनिन थालिसक्यो। धुलो र भिडभाड त्यत्तिकै।
विराटनगर विमानस्थललाई पनि भैरहवा जस्तै अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न बनाउने योजनामा कटौती हुँदै हाल टर्मिनल भवन मात्र सो स्तरको हुने गरी निर्माण हुँदै रहेछ।
नेपालमा आन्तरिक हवाई सेवाको उपभोग गर्ने मानिसहरूको संख्या नै पनि ह्वात्तै बढिसकेको आजको अवस्थामा विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई ठूला विमान सञ्चालन गर्न लायकको बनाउनु अति जरुरी छ।
अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नती गरिएको भैरहवा र पोखरा विमानस्थल नचल्नुमा सरकारको वाहेक कसैको पनि दोष छैन। चीनको ल्हासा तथा अन्य विकट स्थानमा निर्माण गरिएका विमानस्थलहरू विदेशी विमानसेवाले उडान सञ्चालन गरेर चल्छन् भनेर बनाइएका होइनन्।
जति नै महँगो सेवा हुन गए पनि चीनले आफ्नै वायुसेवा मार्फत त्यस्ता विमानस्थलमा उडान गरिरहेको छ। नेपालको सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स तथा पछि खुल्ने अन्य अन्तर्राष्ट्रिय विमानसेवालाई अनिवार्य रूपले यस्ता नयाँ विमानस्थलबाट सेवा प्रदान गर्न औपचारिक उर्दी नै जारी गर्नुपर्दछ।
बरु सो वापत केही आर्थिक र अन्य कुराको छुट दिने काम आफ्नो ठाउँमा छ। तर हामी कहाँ सरकारले मौसम तथा अन्य कारणले त्रिभुवन विमानस्थलमा उत्रन नसकेका विमानलाई भैरहवामा उत्रनु पर्ने प्राभदान समेत राख्न नसकेकोले सबै त्यस्ता विमान भारतका विमानस्थलतिर सोझिन्छन्।
यस्तो अव्यवस्था र गैरजिम्मेवारीको पराकाष्ठा भएको मुलुकले निजगढमा खर्बौं रुपैयाँको लागतमा ३० लाख रुख काटेर पर्यावरणलाई तहस नहस पारेर ट्रान्जिट विमानस्थल निर्माण गर्ने बहुलट्टीपूर्ण योजना बनाएर बसेको छ।
पुरानो जंगलका महँगा काठ तस्करी गर्ने, काट्ने बेलामा अर्बौंका कटानी गर्ने मेसिन भित्राउने र पछि विमानस्थल बन्ने भनेका ठाउँमा सुकुम्बासीको नाममा दलका झोले घुसाएर जग्गा कब्जा गर्ने बाहेका अन्य उद्देश्य केही देखिँदैन।
दक्षिण एसियाका सबै राष्ट्रिय ध्वजावाहक विमानसेवा कम्पनीहरू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेका छन्, किनकी यी सबै ठाउँका सरकार र नेतृत्व तहमा भ्रष्टाचार हावी छ भने नैतिकतामा खडेरी लागेको छ।
तर पनि ती मुलुकहरूमा राष्ट्रिय ध्वजावाहक विमानसेवालाई बलियो र विशाल बनाउन तथा बढी भन्दा बढी जनतालाई कम शुल्कमा सेवा प्रदान गर्न त्यहाँको सरकारले हर प्रयत्न गरेको हुन्छ र तिनको सञ्जाललाई वृहत् रूप दिइएको हुन्छ।
तर यहाँ भने नेपाल वायुसेवा निगमलाई बल्ल तल्ल ठूलो अनियमितताका साथ चार वटा जेट विमान खरिद गरेर चल्नेसम्म बनाइयो तर यसको समयसापेक्ष सेवा विस्तारको निम्ति चाहिने दर्जनौँ जेट र टर्वोप्रप विमान खरिदमा वास्ता नै गरिएन।
त्यस्तै विमानसेवाको व्यवस्थापनको लागि गर्नु पर्ने सुधार र यसलाई फाइदामा चलाउन गर्नु पर्ने विभिन्न उपायको त कुरै नगरौँ। बरु यसलाई बन्द नै गरेर वा विक्री गरेर अन्य बाहिरी विमानसेवालाई यसको ठाउँमा उडान अनुमति दिने र भित्री रूपमा द्रव्य कमाउने खेलामा सम्बन्धित निकाय लागेको कुरा बेला बेलामा सुन्न र पढ्नमा आइरहन्छन्।
विराटनगर विमानस्थलमा आफ्नो सामानको प्रतिक्षामा बस्दा बस्दै झसङ भएर वास्तविकतामा फर्केछु। यस्ता विभिन्न प्रकारका राष्ट्र विकास र निर्माणका मामलामा हामी जस्ता थोरै भए पनि पढेलेखेका भनिने तोरीलाहुरेका सिल्ली कुराले केही पनि नाप्दैन रहेछ।
विभिन्न दलका आठ पास झोले र मन्त्री तथा तथाकथित योजनाविद्हरू छँदै छन् नि मुलुकको चिन्ता गर्ने। व्यर्थैको तनावमा किन पर्नु बिदा मनाउन हिँडेको मान्छेले भनेर मुस्कुराउने झिनो प्रयत्न गरेँ।
२०४० सालको दशकसम्म विराटनगरको महेन्द्रचोकदेखि बरगाछी हुँदै विमानस्थलसम्मको बाटोको दुवैतिर वास्तवमा वरका गाछी (रुख)हरूले शितलता प्रदान गर्दथे। त्यतिबेला नेपाल वायुसेवा निगमले दैनिक एक एभ्रो उडान गर्दथ्यो विराटनगर र काठमाडौँ बीच।
अधिकांश टिकट व्यापारी तथा उद्योगपति र राजनीतिज्ञ र प्रशासकले अग्रिम बुक गरिसक्ने भएकोले यदाकदा हामी जस्ताले टिकट पाउँथ्यौँ अनि रिक्सामा बसेर विमानस्थल जान्थ्यौँ। कति राम्रो र शान्त वातावरण थियो त्यतिबेलाको। विमानको टिकट नपाएको बेलामा मोरङ पशुपति र दन्तकाली एक्सप्रेस वा अन्य बस सेवाबाट खासगरी रात्रीकालीन यात्रा गरिन्थ्यो काठमाडौँको निम्ति।
त्यतिबेलाको विराटनगर निकै उजाड र पुरानो किसिमको शहर थियो। एकाध दिन बसे पछि घुम्ने वा हेर्ने केही ठाउँ वा दृश्य भेटिँदैनथ्यो। जोगवनीको कोलाहलमा गएर केही सामान किन्ने शनि र कालीको मन्दिर दर्शन गर्ने र विराटनगरमा नै इष्टमित्र भेट्ने तथा नजिकमा जग्गाजमीन भएकाले आयस्था उठाउन जाने वाहेक अन्य कुनै रमाइलो कुरा त्यहाँ थिएन।
मेरो मावलीका हजुरबुवा नेपालका अग्रणी इन्जिनियर काशीराज पाण्डे। उनले मोरङमा धेरै वर्ष बसेर लेटाङमा मोरङ हाइड्रो पावर प्लान्टको निर्माण गर्नुका साथै विराटनगर तथा आसपासका क्षेत्रमा विद्युतीकरण गर्न निकै काम गरेका थिए। पछि विराटनगरको तीनटोलियामा एउटा आधुनिक वङ्गला पनि बनाएका थिए। हामी केटाकेटी छँदा जाडोयाममा महिनौँसम्म सोही घरमा बस्ने गर्दथ्यो।
काशीराज पाण्डे गोरा, अग्ला तथा ठूलो शारीरिक वनोटका मानिस भएकाले बिहान बिहान विराटनगरको सडकमा करिव दुई घण्टा बिहानीको हिँडाईमा निस्कन्थे रे। घर आए पछि व्यायाम कै शिलशिलामा दुई तीन मन दाउरा चिर्थे रे। अनि डाइटको रूपमा बाल्टिन भरी आँप भिजाएर काट्दै मजाले खान्थे रे।
लिच्चीको मौसममा एक चोटीमै तीनचार दर्जन लिच्ची खान सक्थे रे। सानो छँदा हाम्रो खिचापोखरीको मामाघरको विशाल भान्सामा श्राद्धको बेला उनी र उनका खाइलाग्दा दाजुभाइहरू र हाम्रा मामाहरू ठूला ठूला थालमा खाना खाइरहेका र अन्तमा बडेमानका कचौरामा दुध पिएको देख्दा हामी निकै रोमाञ्चित हुने गर्दथ्यौँ।
हाम्रा तिनै हजुरबुवा तथा उनका दाजुभाइका बुवा पद्मराज पाण्डेले विराटनगर र यसको सेरोफेरोमा निकै जमिन जोडेका रहेछन्। उनी लगायत राजगुरुज्यु तथा पुरोहित र राणाशासन ताकाका भारदारहरूले बविया वीरता र अन्य स्थानका हजारौँ बिघाहा जमीन राजा र राणाशासकहरूबाट बक्सिस स्वरुप प्राप्त गरेका थिए।
केही वर्ष अघिसम्म पनि विराटनगरको मध्य शहरी भागमा हाम्रो वृहत् मामाघरको करिव दुई बिघाहा जमीनमा बनेको विशाल हवेली थियो। आज सो जमीनमा हाम्रा मामाहरूले आआफ्ना नयाँ घर बनाएर बसोबास गरिरहेका छन्। विराटनगर जाँदा मामाहरूसँग भेट्दा निकै गर्वको महसुस हुन्छ।
हाम्री आमाको बिहेमा उहाँलाई पनि उहाँका हजुरबुवाले केही विघाहा खेतीयोग्य जमिन दाइजोको रूपमा आजको दादरबेरिया गाविस क्षेत्रमा दिएका रहेछन्। म पनि २०४० सालतिर देखि सो जमिनको आम्दानी उठाउन र खेतीको समयमा केही दिन खेती गरेको हेर्न जाने गर्दर्थेँ।
त्यतिबेला देखिको विराटनगरको सम्झनाले आज पनि त्यो शहरको बिछट्टै माया लाग्दछ। आज आएर त विराटनगर एक अत्याधुनिक शहरमा परिणत हुँदै गएको छ भने त्यहाँ विशाल भवन तथा व्यापारिक घरानाहरूका कार्यालयहरू सजिएर रहेका छन्।
आधुनिक सिनेमा हल, सुपर मार्केट, जीम तथा जलक्रिडास्थल र होटेलहरू शहरभित्र धेरै खुलिसकेका छन्। विराटनगरको जनसंख्या र जीवनस्तरमा पनि ठूलो अभिवृद्धि हुँदै गएको छ। काठमाडौँ पछिको यो साँच्चैको दोस्रो शहरको रूपमा विकास भएको छ।
त्यो रात विराटनगरमा नै बास बस्यौँ। २०४० को दशकमा त्यहाँ जाँदा कि त तीनटोलियास्थित मामाघरमा बसिन्थ्यो या ट्राफिक कार्यालयनिरको पुष्पाञ्जली होटेलमा बसिन्थ्यो। डा. लोकविक्रम थापाले कुनै बेला नर्सिङ होम चलाएको सो घरमा त्यतिबेला खुलेको त्यो होटेल त्यहाँको सबैभन्दा राम्रो होटेलमा गनिएको थियो।
नेपाल वायुसेवा निगमका चालकदल पनि राती बस्नु पर्दा त्यही होटेलमा बस्दथे र भोलिपल्ट जहाज उडाउनु पर्ने चालकहरू रातभर मादक पदार्थको सेवनसहित हल्ला गुल्ला गरिरहेका हुन्थे।
पछि पछि विराटनगरमा जेनियल र रत्ना जस्ता अन्य राम्रा होटेल पनि खुल्न थाले र आज त त्यहाँ साना तर राम्रा लजदेखि उच्चकोटीका तारे होटेल र रिसोर्टहरूसमेत खुलेका छन्।
पहिले एकाध खाना खाने र सेकुवा आदि खाने साना भोजनालय मात्र भएकोमा आज विराटनगरमा निकै राम्रा रेष्टुरेन्टहरू खुलिसकेका छन् र बेलुकीको समयमा त सबै त्यस्ता रेष्टुरेन्टहरू खचाखच भरिएका हुन्छन्।
गर्मीको समयमा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने र वातानुकुलित वातावरणको फाइदा उठाएर सित्तल ताप्ने र गफ गर्नेको पनि ठूलै जमात भेटिन्छ। शहरभित्रको यातायातको रूपमा सिटी सफारी र अन्तर शहरी यातायातको निम्ति पुराना भिन्टेज बसको ठाउँमा आधुनिक बस सेवा उपलब्ध छ हिजोआज। रिक्सा पुरै विस्तापित भइसक्यो।
भोलिपल्ट हुने पिताजीको सन् १९५० र ६०को दशकको अष्ट्रेलिया तथा युरोपको भ्रमण बारेको रोचक यात्रा संस्मरणसहितको पुस्तकको लोकार्पण गर्ने कार्यक्रम रहेकोले होटेलमा नै हल्का खाना खाएर भोलिको कार्यक्रम बारे घोत्लिँदै छिटै आआफ्नामा पसिहाल्यौँ।
क्रमशः…
– लेखक विकास अर्थशास्त्री तथा एकल व्यक्तित्व समाज एवम् समसामयिक गायक समाजका अध्यक्ष हुन्।
Facebook Comment